मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा ११ हजार भूमिहिन सुकुम्बासी तथा अब्याबस्थित बसोबासीहरुको तथ्याङ्क संकलन भएको छ ।
नगरपालिकाको सुक्रबार भएको आठौ नगरसभाले पास गरेको निर्णयहरु सार्वजनिक गर्ने क्रममा नगरपालिका भित्र ११ हजार सुकुम्बासी तथा अब्यबस्थित बसोबासीको तथ्याङक संकलन भएको जानकारी दिइएको हो ।
नगर सभाको निर्णयहरु सार्वजनिक गर्न आज (शनिबार) पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
नगरसभाले स्वास्थ्य, कृषि ब्याबसाय प्रवद्र्धन संस्था दर्ता विधेयक २०७७ पारित गर्नुको साथै सहकारी ऐन २०७६ प्रथम संशोधन भएको थियो । नगरसभाले चालु आर्थिक बर्षमा ठेक्काबाट बचेको र जगेडा हुन पुगेको एक करोड ९६ लाख ७१ हजार ५४८ रुपैया २२ वटा योजनामा खर्च गर्ने निर्णय भएको वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय तहको सरकार गठन भएको चार बर्षमा नगरमा ३० किलो मिटर सडक कालोपत्रे भएको वडा वडामा आधारभूत स्वास्थ्य भवन, विद्यालय र कलेजको भवनहरु निर्माण भएको उल्लेख गर्दै स्वास्थ्य र शिक्षाको साथै कृषि क्षेत्रसमेत उल्लेख्य बिकास गर्न सकिएको वितरित विज्ञप्तिमा उल्लेख छ ।
चालु आर्थिक बर्षको ६० प्रतिशत योजना सम्पन्न भएको, संघीय सरकारको योजनामा खरको छानो रहित नगरपालिका बनाउन ४७१ घरमा दुई करोड ३५ लाखको लागतमा जस्ताको छानो लगाउने योजना शुरुहुने चरणमा पुगेको उल्लेख छ ।
पत्रकार सम्मेलनमा नगरका प्रवक्ता यामप्रसाद गुरागाई, वडा अध्यक्षहरु ३ का डम्बर चेम्जोङ, ४ का गोविन्द भण्डारी, ७ का कपिलमणी ढकालको उपस्थिति रहेको थियो ।