उर्लाबारी । उर्लाबारी नगरपालिकालाई समृद्ध र उज्यालो नगर बनाउने अभियानमा जनप्रतिनिधिहरु लागि परेको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बताउनुभयो ।
आज उर्लाबारी नगरपालिका वडा नं. १ को भवन शिलान्यास गर्दै मेयर फागोले सो कुरा बताउनु भएको हो । जनतालाई आभाष हुने गरी काम गरिरहेको उल्लेख गर्दै उहाँले सबैको साथ र सहयोगको अपेक्षा लिएको बताउनुभयो । उहाँले बक्राहा घाट निर्माण, वडा कार्यालय, आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण, सडक कालोपत्रे, ग्राभेललगायतका काम तीब्र गतिमा अघि बढेको बताउनुभयो । बजेटमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिएको उहाँको भनाई छ । ‘सुन्दर उर्लाबारी, समृद्ध उर्लाबारी ः खुशी उर्लाबारीवासी नारालाई आत्मसात गर्दै अघि बढेको उहाँको भनाई छ । यसैबीच स्थानीय तहमा जनप्रतिनिधि आएको ४ बर्षपछि मोरङको उर्लाबारीमा वडा कार्यालयका भवन निर्माण कार्य सुरु भएको छ ।
आज उर्लाबारी नगरपालिका वडा नं. १ को भवन निर्माणका लागि शिलान्यास गरिएको हो । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, उपमेयर लक्ष्मी देवी भण्डारी, वडाध्यक्ष मचिन्द्र कार्कीलगायतको उपस्थितिमा भवनको शिलान्यास गरिएको छ । २०७८ साल मंसिर मसान्तभित्र भवन निर्माण सम्पन्न गर्ने गरी इटहरीको पाथीभरा कन्स्ट्रम्सनले ठेक्का पाएको छ । ९६ लाख ९४ हजार ३ सय ४४ रुपैयाँ ८५ पैसामा ठेक्का लागेको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो । स्थानीय नरबहादुर चौहान र इन्द्रबहादुर चौहानले करिब ५० लाख रुपैयाँ बराबरको अढाई कट्ठा जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । मेयर फागोले तोकिएको मापदण्डअनुसार सममै भवन निर्माण सम्पन्न गर्न ठेकेदार पक्षलाई निर्देशन दिनुभयो । यसअघि उर्लाबारी नगरपालिका वडा नं. १ र २ को भवन पनि शिलान्यास गरी निर्माण कार्य थालिएको छ ।