• काठमाडौं, ६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब दुई वटामात्र अस्त्र बाँकी छ । एउटा अर्ली इलेक्शन र अर्को संकटकाल । अर्ली इलेक्शन गर्न राजनीतिक सहमति चाहिन्छ–जुन नपाउने निश्चित भइसकेको छ ।

    अब फेरि प्रतिनिधिसभा विघटनको घोषणा गर्ने अवस्था ओलीसँग छैन । संकटकाल लगाउन सेनाको साथ चाहिन्छ–जुन पाउने सम्भावना पनि कम छ । सेनाले संविधानको पालनामा जोड दिने गरेको छ ।

    ओली एउटा व्यक्तिको लागि सेनाले संकटकाललाई साथ दिने सम्भावना देखिँदैन । त्यसैले अब ओली सरकारको दिनगन्ती सुरु भइसकेको छ । ओली राजनीतिक जीवनको सबैभन्दा ठूलो घेराबन्दीमा पर्नुभएको छ ।

    दुई पटक आफूविरुद्धको घेराबन्दी तोड्दै सत्ता संकट टर्नु भएका ओलीलाई यस पटक भने निकै ठूलो चुनौती छ । ओली यस्तो घेराबन्दीमा हुनुहुन्छ–कुनै पनि बेला उहाँको सत्तामाथि छापामार शैलीले प्रहार हुन सक्छ ।

    एमालेभित्र ओली घेराबन्दीमा हुनुहुन्छ । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबाट पनि ओली घेराबन्दीमा परिसक्नु भएको छ ।

    एमालेभित्र माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले ओलीलाई घेराबन्दीमा पार्नु भएको छ । यी नेता मिल्दा ओली दलभित्रै अप्ठ्रायोमा पर्न सक्ने निश्चित छ ।

    उहाँहरु मिलेर ओलीलाई हटाउन लागिसक्नु भएको छ । कांग्रेस, जसपा र नेकपा माकेको ओलीविरुद्ध समीकरण बन्ने सम्भावना बढ्दै गएको छ । तीन वटै दल मिलेर ओलीलाई घेराबन्दीमा पार्ने माहोल सृर्जना गर्दैछन् ।

    ओलीसँग तीन दल एक ढिक्का भएर लागेमा कठिन परिस्थिति आउन सक्छ । उहाँको सत्ता ढल्न सक्छ । ओलीसँग अब घेराबन्दी तोड्न केही विकल्पमात्र बाँकी छन् ।

    एमाले एकजुट बनाउने र नेकपा माकेसँग सहकार्य वा एकता गर्ने विकल्प हुन सक्छ । त्यसका लागि उहाँले प्रम पद त्याग्नुपर्छ– जसमा उहाँ सहमत हुनुहुन्न ।

    प्रममा कायमै रहेर माधव नेपाल र प्रचण्डलाई साथ लिने सम्भावना असम्भवप्रायः देखिन्छ । नेपाली कांग्रेसको साथ लिने आशा पनि ओलीलाई छ ।

    निर्वाचनमा जाने शर्तमा त्यो केही सम्भव हुन सक्छ । तर, कांग्रेसभित्र ओलीलाई समर्थन गर्ने माहोलल विपक्षमा छ । कांग्रेसलाई सरकारको नेतृत्व दिएर ओली अघि बढ्ने अन्तिम अस्त्र पनि हुन सक्छ ।

    त्यस्तो समीकरणको विपक्षमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल देखिनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) को साथ लिने ओलीको रणनीति देखिन्छ ।

    तर, जसपा ओलीसँग मिलेर जान तयार छैन । जसपालाई सरकारको नेतृत्व दिएर ओली अघि बढ्ने विकल्प पनि छ ।

    घराबन्दी तोड्ने अर्को विकल्पमा जसपा विभाजन गराएर अघि बढ्ने पनि हुन सक्छ । तर, जसपा विभाजन हुने सम्भावना कमजोर छ । यसरी ओली चौतर्फी घेराबन्दीमा हुनुहुन्छ–जसलाई तोड्न सजिलो छैन । 

    कम्युनिस्टहरु यसरी छिन्न भिन्न हुँदै !
    पुच्छर नभएको कम्युनिस्ट पार्टी बनाउने सपना देख्नु भएका प्रचण्ड पुच्छर भएकै कम्युनिस्ट पार्टीको नेता बन्न बाध्य हुनुभएको छ । नेकपा माके ब्युँतदै गर्दा प्रचण्डले आफू निकटस्थ हस्तीसमेत गुमाउनु भयो ।

    प्रत्यक्ष निर्वाचित सांसद्हरु टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरी पनि मन्त्री खान प्रधानमन्त्री केपी ओलीतिर जानुभयो ।

    नेकपा माकेले नराम्रो हार व्यहोरेको संविधानसभाको दोस्रो निर्वाचनमा पनि टोपबहादुर र प्रभु जितेर आउनेमा पर्नुहुनछ ।

    प्रचण्डले निकै साथ दिनुभएका रामबहादुर थापा पनि गृहमन्त्री त्याग्न नसक्ने देखिनुभयो । उल्टै प्रचण्डलाई जावलाखेलको ‘जु’ मा थुन्छु भन्नुभयो ।

    थापालाई प्रचण्डले लालगद्दारको उपमा दिनुभएको छ । त्यसो त माओवादी जनयुद्धबाट आएका नेताबाट थुप्रै कम्युनिस्ट घटक बनिसकेका छन् ।

    नेत्रविक्रम चन्द र मोहन वैद्यको आफ्नै दल छ । गोपाल किराँती पनि दल खोलेर बस्नुभएको छ । नेकपा बनाउनुभएका प्रचण्ड पनि पुरानै अवस्थामा फर्कनुभएको छ ।

    अब एमाले पनि तीन भागमा विभाजन हुने अवस्थामा छ । ओली कुनै हालतमा टसमस नहुने हुनुभएको छ । उहाँले एमाले बनाएर ठूलो खुसीयाली मनाइसक्नु भएको छ ।

    अब प्रधानमन्त्री ओलीले २८ फागुनको निर्णय नसच्याए ठूलो दुर्घटना हुने देखिएको छ । ओलीले उक्त दिन बालुवाटारमा आफूनिकट केन्द्रीय सदस्य डाकेर अध्यक्ष नर महासचिवबाहेकका निर्वाचित पदाधिकारी नै खारेज गरेका थिए ।

    यही कारणले एमाले विवाद उत्कर्षमा पुगेको छ । माधव–खनाल समूहले राष्ट्रिय भेला डाकेर ओलीको राजीनामा र विकल्पमा कार्यकारी नेतृत्वको प्रस्ताव राखेका छन् ।

    राजनीतिक प्रस्तावमै २८ फागुनको निर्णय सच्याउनेदेखि ओलीको बर्हिगमनको विषय राखेपछि झन द्वन्द्व बढ्ने देखिएको छ । ओलीले भने केन्द्रीय कमिटी बैठकमा सहभागी नभए कारबाहीको चेतावनी दिनुभएको छ ।

    उहाँले फेरि कठोर निर्णय गर्न सक्ने देखिँदैछ । एमाले विभाजनको संघारमा पुग्नुमा ओलीले एकपछि अर्को कठोर निर्णय गर्नु पनि कारण हो । उहाँले कहिले प्रतिनिधिसभा विघटन गर्ने त कहिले दलका प्रतिद्वन्द्वीलाई कारबाही गर्नेसम्मको कदम चाल्नुभयो ।

    सहमतिको अन्तिम प्रयाससमेत सफल हुन सकेको छैन । ओली, प्रभावशाली नेताद्वय झलनाथ खनाल र माधव नेपाल अलग अलग ढंगले सक्रिय हुन थाल्नु भएको छ । एकता अभियान चलाउनु भएका वामदेव गौतमको पनि आफ्नै रणनीति छ ।

    नेपाल खनाल समूहको हिजो सम्पन्न राष्ट्रिय कार्यकर्ता भेला ओलीका लागि चुनौती बनेको छ । हिजो संसदीय दलको बैठकमा माधव खनाल समूहका सांसद पनि सहभागी भए । तर, माधव र खनाल पुगेनन् ।

    ६ फागुनमा डाकिएको केन्द्रीय कमिटी बैठक नेपाल खनाल समूहमात्र नभई गौतम समूहले समेत बहिष्कार गर्न सक्छ । योसँगै एक अर्कोमाथि कारबाहीको कदम चाल्न थालिने देखिएको छ ।

    ओलीबाट नेपाल खनाल समूह विभाजन भएमा प्रभावशाली नेता वामदेव गौतमले पनि छुट्टै दल खोल्ने रणनीति बनाउनु भएको छ । उहाँ कुनै पनि समूहमा नलागी तटस्थ भूमिकामा हुनुहुन्छ ।

    अब उहाँले एकता अभियानका नाममा दलको जसरी नै कदम चाल्ने तयारी गरेको बुझिएको छ । गौतम समूहभित्र माधव नेपालसँग मिलेर जानुपर्ने मत पनि छ ।

    तर, ओलीसँग मिल्न हुन्न भन्ने मत बलियो छ । यसैगरी, ओलीले नेपाल र खनाल समूहका नेतामाथि कारबाहीको चेतावनी दिनु भएको छ ।

    नेपाल समूहका नेता योगेश भट्टराईले कारबाही भोग्न तयार रहेको बताइसक्नु भएको छ । कारबाहीको कदम चालिएपछि एमाले फुट्ने निश्चितजस्तै हुने देखिन्छ ।

    एमालेलाई फुटबाट जोगाउन वामदेव गौतमले अन्तिम प्रयास जारी राख्नु भएको छ । उहाँले २८ फागुनदेखि ओलीले चालेको कदम फिर्ता लिन लगाउने प्रयास गरिरहनु भएको छ ।

    तर, ओली त्यसमा पनि नहट्ने अडानमा छन् । ओलीको हठका कारण एमाले पनि छिन्न भिन्न हुने अवस्थामा छ,  विमर्शमा उल्लेख छ ।

    नेकपा माकेबाट फुटेर विभिन्न दल बनेजस्तै एमालेबाट फुटेर कम्तीमा तीनवटा दल बन्ने सम्भावना देखिएको छ ।

     

सम्वन्धित समाचार

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…

किरात राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खा संस्थागत रुपमै इलाम उपनिर्वाचनमा साझा स्वतन्त्र …