• नवराज भट्टराई

    उर्लाबारी – मोरङको उर्लाबारीमा निर्माणाधीन बसपार्क अलपत्र परेको छ । बजेट नहुँदा वहुवर्षीय योजनाको बसपार्क निर्माणको काम ठप्प भएको छ ।उर्लाबारी–६ मा २०७१ सालदेखि बसपार्क निर्माणको काम सुरु भएपनि अहिलेसम्म एक तिहाइ काम पनि सम्पन्न भएको छैन ।

    सहरी विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन डिभिजन विभागले सुरु गरेको बसपार्क निर्माणका लागि पर्याप्त बजेट विनियोजन नहुँदा ६ वर्षमा ३ करोड ५५ लाख रुपैयाँ बराबरको काम मात्र भएको छ । बसपार्क निर्माणका लागि दाताले १ विघा १३ कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका थिए । सुरुमा विनियोजन भएको ४० लाख रुपैयाँ अम्बिका बोहोरा अध्यक्ष रहेको जग्गा खोजविन समितिले खर्च गरेको थियो ।

    त्यसपछि २०७४/०७५ मा २ करोड ६५ लाख रुपैयाँले जमिन पुराई, ढुंगाको वाल, शौचालय निर्माण, लोकमार्गदेखि जाने ४ सय मिटर बाटो कालोपत्रे लगायतका कार्य भएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा छुट्याइएको ५० लाख रुपैयाँले कम्पाउण्ड घेराबारा, यात्रु प्रतिक्षालय निर्माणलगायत बनाइएको थियो । वहुवर्षीय योजना अन्तर्गत अगाडि बढेको बसपार्क निर्माणमा यस वर्ष कुनै बजेट विनियोजन गरिएको छैन । बसपार्क निर्माणका विषयमा बुझ्न बुधबार मोरङ क्षेत्र नं. १ का सांसद घनश्याम खतिवडा, उर्लाबारी–६ का वडाध्यक्ष चिन्तामणि पौडेल, एमाले नेता भूपालसिं जिमीलगायत मन्त्रालयमा पुग्दा यस वर्ष बजेट नभएको जवाफ पाएका छन्

    उर्लाबारी बसपार्क निर्माण सम्पन्न गर्न अझै १० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । बसपार्कको रनवे कालोपत्रे, सपोर्ट वाल, ड्रेन निर्माण, लोकमार्गबाट
    बसपार्कसम्म जाने बाटो कालोपत्रेलगायत काम बाँकी रहेको वडाध्यक्ष पौडेलले बताए । बसपार्क निर्माणका लागि पहल गरिरहेको बताउँदै उनले बसपार्क वहुवर्षीय आयोजना भएकोले निर्माण कार्य कहिले सम्पन्न हुने भन्ने अन्योल भएको बताए ।

    उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले बसपार्क निर्माणको काम चित्तबुझ्दो नभएको बताए । “बसपार्क निर्माण सम्पन्न गर्न अझै १० करोड लाग्ने अनुमान छ” उनले भने, “मन्त्रालयले वर्षको ४०/५० लाख मात्र छुट्याउने हो भने निर्माण सम्पन्न हुन अझै २० वर्ष लाग्न सक्छ ।” मन्त्रालयले बसपार्क होइन, रिक्सा पार्क जस्तो गरी बजेट छुट्याएको भन्दै मेयर फागोले असन्तुष्टि जनाए ।

    बसपार्क बनाउँछु भनेर जनताको आँखा छल्ने काम भएको बताउँदै उनले चाँडै निर्माण सम्पन्न गर्न सम्बन्धित निकायमा पहल गर्ने बताए । पहल गर्दा पनि मन्त्रालयले चाँडो सम्पन्न गर्न चासो नदेखाए नगरपालिकाले विकल्प खोजेर अघि बढ्ने उनको भनाई छ । उर्लाबारीको भविष्यसँग जोडिएको विषय भएकोले अब नगरपालिकाले जसरी पनि काम पूरा गर्ने मेयर फागोले बताए ।

    निर्माणमा लापरबाही 

    बसपार्क निर्माणमा लापरबाही भएको पाइएको छ । स्थानीय गजेन्द्र दंगालले भने, “बसपार्क जाने बाटोमा गरिएको कालोपत्रे कमसल भएको भन्दै स्थानीयले बिरोध
    गरेपछि ठेकेदारले दोहोर्याएर कालोपत्रे गरे ।” काम छारो हालेको जस्तो मात्र भएको उनले बताए । बसपार्कमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको बस्ने काठ समेत मक्किएका छन् । बसपार्क निर्माणको आधा काम नहुँदै लथालिङ्ग भएपछि स्थानीयमा चाँडै बसपार्क निर्माण सम्पन्न हुने आश मर्न थालेको उनले बताए ।

    दुव्र्यसनीको अखडा :

    स्थानीयका अनुसार अलपत्र बनेको उर्लाबारी बसपार्क अहिले दुव्र्यसनीको अखडा बनेको छ । दैनिकजसो दुव्र्यसनमा लागेका युवाहरु भेला हुने भएकोले कुनै दिन अप्रिय घटना घट्न सक्ने उनीहरु बताउँछन् । “इलाका प्रहरी कार्यालय नजिकै भएपनि कहिल्यै सो क्षेत्रमा प्रहरीको गस्ती देखिँदैन” एक स्थानीयले भने, “दुव्र्यसनीको अखडा बनेको छ, कति बेला के हुन्छ भन्न सकिने अवस्था छैन ।”

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …