• खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने तनहुँको व्यास नगरपालिका–२ मालेबगरमा सञ्चालित एक उद्योग बन्द गराइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार गरेको अनुगमनका क्रममा अनुज्ञापत्र नलिई विभिन्न सामग्री उत्पादन गर्ने न्यु झलक दालमोठ उद्योग बन्द गराइएको हो । 

    उद्योगले दालमोठ, सिन्थेटिक ड्रिङ्क र अन्य उत्पादकको मिठाई आफैँले प्याक गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । बरालका अनुसार अनुज्ञापत्र लिएर कानूनी प्रक्रिया पूरा गरेर मात्रै उद्योग खोल्न व्यवसायीलाई निर्देशन दिइएको छ । 

    “बजारमा जनगुनासो आएपछि प्रशासन कार्यालयले आकस्मिक अनुगमन गरेका हो”, सहायक प्रजिअ बरालले भन्नुभयो, “उक्त उद्योगले उद्देश्य विपरीतका काम गरेको अनुगमनबाट देखिएको छ ।” उक्त उद्योगमा सामान खरिदको बिलसमेत नभेटिएको बरालले बताउनुभयो । अनुगमनका क्रममा बरामद भएका तेल, घ्यू, मिठाई लगायतका अखाद्य वस्तु नष्ट गरिएको छ । 

    अनुगमनका क्रममा उद्योगले साइनबोर्ड नराखेको, उत्पादनमा लेबल विवरण पूर्ण नराखेको र भण्डारण स्थलमा रहेका कच्चा खाद्य पदार्थमा लेबल नभएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीका खाद्य निरीक्षक प्रशान्त पोखरेलले जानकारी दिनुभयो । “उद्योगमा सामग्री उत्पादन गर्ने प्राविधिक सीप लिएका व्यक्तिसमेत नभएको स्वयं सञ्चालकले स्वीकार्नुभएको छ”, उहाँले भन्नुभयो । 

    अनुगमनपश्चात् उद्योगका सञ्चालक वीरेन्द्रकुमार श्रेष्ठको समेत सहमतिमा हाल उत्पादन बन्द गरिएको छ भने उत्पादन भइसकेका वस्तुहरुको उत्पादक स्वयंले गुणस्तर परीक्षण गराउने सहमति भएको छ । “उद्योगलाई १५ दिनभित्र सम्पूर्ण कानुनी प्रक्रिया पूरा गराउन निर्देशन दिइएको छ,” पोखरेलले भन्नुभयो, “साथै बिलबिजक सात दिनभित्र जिल्ला प्रशासन कार्यालयमा पेश गर्न निर्देशन दिएका छौँ ।”

    अनुगमनमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिना, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नारायणप्रसाद ढकाल, तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष वैकुण्ठनाथ मिश्र, दमौली बजार एकाइ सभापति राजकुमार श्रेष्ठ (राकु) लगायतको सहभागिता थियो । 

    सेती नदिएमा भेटिएको शवको पहिचान हुन सकेन 

    तनहुँको शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडास्थित सेती नदीमा आइतबार भेटिएको शव पहिचान गर्न कठिन भएको छ । अन्दाजी ४०/५० वर्ष देखिने पुरुषको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । 

    स्थानीयवासीले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सातदेखि १० दिन पुरानो शव भएकाले अनुहार चिनिन नसक्ने अवस्था रहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो । “अनुहार चिन्न सक्ने अवस्था छैन, ती पुरुषले टिसर्ट र ट्र्याक लगाएका छन्,” उहाँले भन्नुभयो, “पाँच फिट जति उचाइ छ ।”

सम्वन्धित समाचार

 नवलपुर, १४ मङ्सिर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी प…

तनहुँ, १२ असार  तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले…

 कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तल…

 रामपुर (पाल्पा), १३ पुस  ‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार …