• काठमाडौं, ९ चैत । अहिले सत्तारुढ दल एमालेमा विवाद चरमोत्कर्षमा पुगेको छ ।  

    प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली समूहविरुद्ध नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले बुधबारबाट राजधानीमा राष्टिय कार्यकर्ता भेला सुरु गरेको छ ।

    अध्यक्ष ओलीले त्यो भेलालाई रोक्न मंगलबार बालुवाटारमा चियापान समारोह आयोजना गरे । सोमबार आश्चर्यजनक रूपमा ओलीले पार्टीकै विरोधी खेमासँग वार्ता गरे ।

    विरोधी र असहमत पक्षको अस्तित्व नामेट गर्न कुनै कसर बाँकी नराख्ने ओलीले अल्पमतमा परेसँगै माधवकुमार नेपाल समूहसँग चार महिनापछि पहिलोपटक ‘वार्ता’ गरेपछि त्यो वार्ता सार्थक भएन ।

    विरोधी खेमाले आफू पक्षको राष्ट्रिय भेला आयोजना गरेरै छाड्यो । आफ्नै समकक्षी, पूर्वप्रधानमन्त्री भइसकेका र पार्टीको महासचिव लगायतका जिम्मेवारी निर्वाह गरिसकेका नेताहरूको मानमर्दन गर्ने ओलीको रणनीतिलाई विरोधी खेमाले चिर्न खोजिरहेको छ । 

    अशिष्ट–भद्दा शैली भाषण र दम्भ–घमण्ड गर्ने ओली नेतृत्वको सरकारको आयु अनिश्चित हुँदै गएको छ ।

    तर, उनका अभिव्यक्ति र व्यवहार भने परिवर्तन भएको छैन ।

    एमाले पूर्णरूपमा विभाजित नभए पनि ओलीलाई यतिखेर सरकार टिकाउन कठिन देखिएको छ ।

    ओली सरकारलाई नेपाली नागरिकले पाँच वर्षको कार्यादेश (म्यान्डेट) दिएका थिए ।

    कार्यादेशलाई ओलीले पूर्णतः अपमान गरे । पार्टीको घोषणापत्र, पार्टी पदाधिकारीको आग्रह, अनुरोध र निर्देशलाई पनि टेरपुच्छर लगाएनन् ।

    ओलीले आफ्नै समकक्षीहरूलाई पनि ‘मान्छे गन्न’ छाडे र रचनात्मक आलोचनालाई पनि उनले सहेनन् ।

    विरोध गर्नेहरूलाई सिध्याउन संस्थागत रूपमा ‘साइबर सेना’को सिर्जना गरे ।

    ओली स्वेच्छाचारी कृत्यमा रमाउँदै कोभिड–१९ ले थला परेका नागरिकको हितमा फिटिक्कै लागेनन् ।

    केवल काण्ड र उपद्रव मात्र मच्चाउने गर्न थालेपछि स्वाभाविक रूपमा पार्टी पदाधिकारीहरूले सच्याउन दबाब दिए । यो दबाबलाई ओलीले ‘पद चाहिएकाले सरकारलाई असहयोग गरे’ सम्म भने ।

    एमाले विभाजनको संघारमा पुगेको छ । एमालेको पुनः विभाजनले नेपाली कम्युनिस्ट आन्दोलनलाई मात्र होइन, नेपाली जनताको आकांक्षामाथि पनि चिसो पानी खन्याउनु हो ।

    किनभने जनताले कम्युनिस्ट सरकारका लागि भनेर आफ्नो मत दिएका थिए । त्यो मतको अपमान गर्दै ओलीले यति जग्गा काण्ड, वाइड बडी, ३३ किलो सुन, निर्मला पन्त हत्या, ओम्नी, बूढीगण्डकी बेचबिखन लगायत अनगन्ती त्यस्ता भ्रष्टाचारजन्य कृत्य गरिदिए ।

    ओली नेपाली नागरिकको प्रत्यक्ष मतमा प्रधानमन्त्री भएका होइनन् । उनका दलका सांसदहरूले संसदीय दलको नेता बनाउँदै प्रधानमन्त्री बनाएका हुन् ।

    त्यसकारण संसदीय दलप्रति जवाफदेही हुनु उनको नैतिक दायित्व मात्र थिएन, धर्म पनि थियो । त्यो धर्म र दायित्वबाट ओली च्युत हुँदा आज यति धेरै मत पाएको पार्टीको सरकार पतनको संघारमा उभिएको छ ।

    यो तरल राजनीतिक स्थिति ओलीकै दम्भ, तुजुक र स्वेच्छाचारी प्रवृत्तिले निम्त्याएको हो । दम्भ, घमण्ड र अभिमानले सबैको नाश मात्र गर्छ ।

    फलेको वृक्ष निहुरिन्छ भनेझैं ओलीले आफूइतरका अन्य नेताहरूलाई ‘मान्छे नै नगन्ने’ जुन प्रवृत्ति देखाएका थिए, आज मुलुकको यावत् राजनीतिक घटनाक्रमको जिम्मेवार त्यही प्रवृत्ति छ । अभियान टाइम्सका साथमा । 

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…