दुर्गाप्रसाद खतिवडा
उर्लाबारी नगरपालिका वडा नम्बर ६ नगरकै सबै भन्दा सानो र बिकसित वडा मानिन्छ । उक्त वडामा ६ हजार ७ सय जनसंख्या रहेको र १ हजार १ सय १५ घर
धुरी रहेका छन् । राजनैतिक रुपमा कांग्रेसहरुको अधिक बसोबास
रहेको उक्त वडामा २०७३ सालमा भएको स्थानीय निर्वाचनमा वडा नं. ६ का पाँचै जना जनप्रतिनिधिहरु कांग्रेसको तर्फबाट अत्याधिक बहुमतले बिजयी भएका थिए । सो वडा धार्मिक रुपले पनि महत्वपूणर् मानिन्छ । सनातनीय धर्मका दृष्टिकोणले यसै वडामा ८ वटा भन्दा बढी मठ मन्दिर रहेका
छन् भने गुरुङहरुको तमु बौद्ध गुम्बा एक र कृस्चियनहरुको एउटा चर्च पनि रहेको छ ।
अघिल्लो आर्थिक बर्षबाट संस्कृत शिक्षाको पठन पाठन भएको सो वडामा उर्लाबरीकै प्रतिष्ठित
सरकारी शिक्षालय राधिका माध्यमिक बिद्यालय पनि यसै वडा रहेको छ । त्यसैगरी स्नातक तहसम्मको पठन पाठन गराउँदै आएको मोरङ मोडल क्याम्पस पनि यसै वडामा विद्यमान छ । निजी क्षेत्रको प्रतिष्ठित मानिएको मोरङ मोडलमा बाल कक्षादेखि स्नातक तहसम्म पाढाई हुनेगरेको छ । त्यसैगरी होलिचायल्ड बोर्डिङ, कुडोस् विद्यासदन, मोडल पब्लिक बोर्डिङ, सृजना लालिगुँरास बोर्डिङ पनि यसै वडामा रहेका विद्यालयहरु हुन् । सबै भन्दा महत्वपूणर् मानिएको उर्लाबारी सामुदायिक खानेपानी सरसफाई संस्था पनि यसै वडाबाट सुरु भई उर्लाबारीमा सेवा पुर्याइरहेको
छ । उर्लाबारीको वडा नंं. १ को केही भाग, वडा नंं. ४, ५,६,७ र ८ को केही भागका ४ हजार ५ सय घरपरिवारलाई सो खानेपानीले धारा वितरण गरी सुद्ध खानेपानीको व्यवस्था मिलाएको छ । विगत ५७ सालबाट निर्माण सुरु भएको खानेपानी योजना उर्लाबारीले २०६२ सालबाट धारा वितरण गर्न सुरु गरेको र वडा नं. ६ कै माथिल्लो भेगमा अघिल्लो आर्थिक बर्षमा सम्पन्न भएको खानेपानी ट्याङ्कीमा पानी सन्चय गरेर
वितरण गरिरहेको छ ।
पुरानो खानेपानी ट्याङ्की
करीब ७ करोड रुपैयाँको लागतमा सम्पन्न भएको थियो भने सोही वडामा बनेको अर्को नयाँ खानेपानी ट्याङ्कीको लागत १९ करोड रुपैयाँ रहेको खानेपानी उपभोक्ता सरसफाई संस्थाका सचिव एवम् वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलले बताएका छन् । अध्यक्ष पौडेलका अनुसार ७० प्रतिशत अनुदान नेपाल सरकारबाट प्राप्त भएको र ३० प्रतिशत रकम उपभोक्ताबाट असुलिने गरी नगर बिकास कोषबाट खर्च गरिएको छ । त्यसैगरी वडा नंं. ६ मा रहेको दुवैवटा ट्याङ्कीको क्षमता बराबर रहेको पनि पौडेलले बताएका छन् । उनका अनुसार एउटा ट्याङ्कीको क्षमता ४ लाख ५० हजार लिटर रहेको छ । उक्त समितिकै सञ्चालनमा वडा नं. १
र ८ मा पनि २ लाख ५० हजार लिटर क्षमता बराबरका २ वटा खानेपानी ट्याङ्की निर्माण भई रहेका छन् । उक्त ट्याङ्कीहरुको निर्माण लागत सम्पन्न गर्न १३/१३ करोडको योजना रहेको संस्थाका अध्यक्ष भुपाल जिमीले बताएका छन् । करीब ७० प्रतिशत काम सम्पन्न भईसकेकाले आगामी आर्थिक बर्षबाट उक्त वडाहरुमा
धारा वितरण गर्न हाल पाइप विच्छाउने काम भई रहेको बताइएको छ ।
यस हिसाबले वडा नं. ६ लाई सम्पन्न वडाको रुपमा लिन सकिन्छ । अर्कोतर्फ पूर्व-पश्चिम लोकमार्गबाट मावा पुलको ४ सय मिटर उत्तर तर्फ नमूना नयाँ बस पार्क निर्माण कार्य भईरहेको छ । २०७३ सालमा स्थानीय जग्गा दाताहरुले मिलेर सडक बाहेक बस पार्क निर्माणका लागि १ विगाहा १३ कट्ठा जग्गा उपलब्ध गराएपछि निर्माण कार्य सुरु भएको नयाँ बस पार्कको काम भने ज्यादै सुस्ता गतिमा भईरहेको छ । शहरी बिकास डिभिजन कार्यालय बिराटनगरले नयाँ बसपार्कको लागि बहुबर्षीय योजना अन्तरगत ११ करोड रुपैयाँ खर्च हुने अनुमानित योजना बनाई निर्माण कार्य सुरु गरेको भए पनि आघिल्लो आर्थिक बर्षसम्म ३
करोड ५५ लाख रुपैयाँ खर्चगरी माटो पुराइ र केही भाग सडकमा कालोपत्रे, यात्रु प्रतिक्षालय, शौचालय, सडक किनारमा एक तर्फी गारो समेत लगाई सके पनि माटो पुराइएको आधा क्षेत्रफल अझै बाँकी नै रहेको र पूर्व तर्फबाट बस पार्कमा प्रवेश गर्ने सडक निर्माण हुन नसक्दा बस पार्क छिट्टै सञ्चालनमा आउन नसक्ने देखिन्छ ।
अति आवश्यक मानिएको उर्लाबारी मिक्लाजुङ यातायात अव्यवस्थित भई उर्लाबारी चोकको उत्तर तर्फ मधुमल्ला सडकलाई नै बस पार्कको रुपमा प्रयोग भईरहेकोले त्यहाँ आवत जावत गर्ने यात्रीहरुलाई ज्यादै जोखिम रहेको यात्रुहरुको भनाई छ । यस बिषयलाई लिएर अध्यक्ष पौडेलसँग प्रश्न गर्दा उनले भने,‘शहरी बिकास आयोजनाले गर्नुपर्ने काम भएकाले छिटो गर्न अनुरोध गरे पनि काम नभएकोमा आफू असन्तुष्टि रहेको छु ।’ सहरी बिकासले बेवास्ता गरे पनि नगरपालिकाले बस पार्कको काम तीब्र गतिमा अगाडि बढाउने नगरपालिकाका नगर प्रमुख खड्गबहादुर फागोले बताएका
छन् । यस क्षेत्रबाट प्रदेश र केन्द्रमा प्रतिनिधित्व गर्ने कुशल साम्बा र धनश्याम खतिवडाले चाहने हो भने बस पार्क निर्माण कार्य छिट्टै सम्पन्न हुने थियो । तर, उनीहरु त्यो चाहँदैनन् । उर्लाबारी नगरपालिकाका नगर प्रमुख फागो नेपाली कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि
हुन् । यसै बिषयलाई लिएर शहरी बिकासका इन्जिनियरलाई राजु शर्मासँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । उर्लाबारीमा अति आवश्यक मानिएको नयाँ बस पार्कको लागि चालु आर्थिक बर्षमा खर्च गर्ने बजेट नै नछुट्टिएको वडा अध्यक्ष पौडेलले जानकारी दिएका छन् ।
नगर परिसरको बैठकमा आगामी आर्थिक बर्षका लागि नयाँ बस पार्कको निर्माणको योजना प्रस्ताबको रुपमा लैजाने तयारी भई रहेको पनि अध्यक्ष पौडेलले जानकारी दिएका छन् । त्यसैगरी वडा नं. ६ हुँदै बग्ने मावा खोलाबाट त्रास व्यहोर्दै आएका स्थानीय बासिन्दाहरु बर्षाद याममा भोग्नुपर्ने जोखिम नजिकिंदै गरे पनि यस पटक मावा खोलामा तटबाँधको कुनै तयारी देखिंदैन । अध्यक्ष पौडेलका अनुसार जनताको तटबाँध गैडेले उर्लाबारी १ र ६ को सिमानामा
करीब ७० लाख रुपैयाँ बराबरको लागतमा तारजालि सहितको तटबाँध गर्ने तयारी भइरहेको छ । त्यस्तै वडा नं. ६ मा समस्याको रुपमा देखा परेको ढल निकासको भने अहिलेसम्म कुनै पनि योजना बनेको छैन । यसै बिषयलाई लिएर वडा अध्यक्ष पौडेलसँग प्रश्न गर्दा पुरानो खानेपानी ट्याङ्कीदेखि दक्षिण तर्फ अघिल्लो आर्थिक बर्षमा निर्माण भएको छोटो दुरीको ढल निकासले विगत बर्षहरुमा
राजमार्गको उत्तर तर्फ बर्षायाममा हुने डुबान रोकिएको छ भने उत्तर तर्फको डुवानलाई नियन्त्रण गर्न तरुण चौकबाट मावा खोलासम्मको ढल निकास निर्माणका लागि प्रयास
भईरहे पनि सफल हुन नसकेको बताएका छन् । उक्त योजना सफल भएमा पुरानो खानेपानी ट्याङ्की उत्तर तर्फ हुने डुबान पूणर् रुपले नियन्त्रण हुने र वडा नं. ६ मा बर्षायाममा हुने डुवानहरुको
निराकरण गर्न सकिने स्थानीयले बताएका छन् । त्यसका लागि आगामी स्थानीय निर्वाचन अगाडि नै उक्त कार्य सम्पन्न गर्न आफू लागि पर्ने अध्यक्ष पौडेलको भनाई छ ।
वडा नं. ६ को सडकको अवस्थामा अध्यक्ष पौडेलले भने,‘हाम्रो वडामा ५ किलोमिटर कालोपत्रे, ७ किलोमिटर ड्रेन र १० किलोमिटर ग्राभेल भएको छ ।’ आफू जनप्रतिनिधि भएर आएपछि वडाको बिकासको लागि
लागिपरेको उल्लेख गर्दै कृषि क्षेत्रमा पनि उल्लेख्य लगानी भएको उनले बताएका छन् । ४ थान कुटि काट्ने मेशिन र यसै आर्थिक बर्षबाट अनुदानमा बिउ बिजनहरु पनि
वितरण गर्ने उनले जनाएका छन् । वडाको अधिकांस भाग शहरी क्षेत्र रहेकाले कृषि योग्य जमिन कम हुँदै गएको छ । खेती योग्य जमिनमा प्लटिङ गरेर बस्ति बसाउँदा कृषि योग्य जमिन न्युनिकरण हुँदै गएर कृषि उत्पादनमा समस्या हुने गरेको कृषकहरुले गुनासो गरेका छन् । वडाको पूर्व तर्फ बग्ने मावा खोलाको बालुवा उत्खनन् तीब्र रुपमा भएका कारण स्थानीयहरु त्रसित भएका छन् । यसलाई
रोकथाम गर्नका लागि स्थानीय र वडा कार्यालय लागि परेता पनि
रोकिन सकेको छैन । प्रत्येक दिन १ सय भन्दा बढी ट्याक्टरहरुले बालुवा ओसार्दा खोलाको सतह गहिरिन गई तटबाँधहरु सबै भत्किन पुगेको स्थानीय सुरेस राउतले बताएका छन् । उनका अनुसार जनताको तटबाँध गैडेद्वारा गत बर्ष लगाएको तारजाली ढुंगा खोला गहिरिएकै कारण भासिन गई बाँध पल्टिने अवस्थामा पुगेको छ । उक्त बाँध राउतको जग्गाको पूर्व तर्फ
रहेको छ ।
खोलाबाट बालुवा उत्खनन् गर्ने क्रम नरोक्ने हो भने अहिलेसम्म भएका तटबाँधहरु सबै पल्टिएर खोला उर्लाबारी बजार तर्फ छिर्न सक्ने खतरा रहेको उनको भनाई
छ । अर्का पीडित जीवन आचार्यले भने,‘मेरो खेतको अगाडिबाट अघिल्लो आर्थिक बर्षमा राष्ट्रपति चुरे संरक्षण कोषबाट १ करोड
रकमबाट ३ सय ३३ मिटरमा लगाइएको तारजाली समेत बग्न लागेको छ ।’ उनले आफ्नो जग्गाबाट बालुवा ओसार पसार गर्ने ट्याक्टर रोक्न खोज्दा ट्याक्टर व्यवसायीहरुले उल्टै धम्क्याउने
गरेको बताएका छन् । खोला सानो हुँदै जाँदा झापा-मोरङ दुवै तर्फ तटबाँध रहेकाले खोलाबाट बालुवा निकाल्ने अवस्था नरहेको स्थानीय गजेन्द्र दंगालले बताएका छन् । नगरपालिकाले खोला ठेक्का लगाउने क्रमलाई रोक्नु पर्ने र खोला नियन्त्रणलाई तीब्रता दिनुपर्ने स्थानीय राजनीति कार्यकर्ता जंगबहादुर कार्कीको भनाई छ । उर्लाबारी वडा नं. ६ र दमक
नगरपालिकाको वडा नं. ३ को बीचमा रहेको मावा खोलामा झोलुङ्गे पुलको आवश्यकता
रहेको स्थानीय समाजसेवी गणेश दाहालले बताएका छन् । दाहालका अनुसार करीब ३०/३५ लाखको लागतमा झोलुङ्गे पुल
निर्माण गर्न दुवै तर्फका स्थानीय जनप्रतिनिधिहरुले पहल गर्नुपर्ने भएको छ । यस वडालाई समृद्ध तुल्याउनका लागि स्थानीय
स्तरमा उद्योग धन्दाहरु खोलेर स्थानीयलाई रोजगार दिनुपर्ने स्थानीय शिक्षक श्याम बस्नेतले बताएका छन् ।(उर्लाबारी नगरपालिकाको सहयोगमा सञ्चार क्लब नेपालले प्रदान गरिएको लेखनबृत्ति)