• पछिल्लो समय नेकपा एमाले पार्टीभित्रको विवाद तल्लो तहसम्म पुगेको छ । यसको असर प्रदेश, जिल्ला, नगर, गाउँ हुँदै वडा तहसम्म देखिन थालेको छ । सर्वोच्च अदालतले नेकपा एमाले व्युँताइदिएपछि मोरङको उर्लाबारी नगर कमिटीले पार्टीको बोर्ड राख्ने कार्यक्रममा माधव नेपाल पक्षलाई नबोलाएको भन्दै असन्तुष्टि देखियो । अहिले केपी ओली र माधव नेपाल पक्षबीच मन मिल्न सकिरहेको छैन । यसै सेरोफेरोमा रहेर तत्कालीन नेकपा (हाल नेकपा एमाले) उर्लाबारीका नगर अध्यक्ष उमाकान्त गौतमसँग पत्रकार नवराज भट्टराईले गरेको संक्षिप्त कुराकानी :

    तपाईँको राजनीतिक पृष्ठभूमि बताइदिनुहोस् न ?

    म २०३६ सालदेखि बामपन्थी राजनीतिमा लागेको हुँ । २०४७ सालमा एमालेको संगठित सदस्य, तत्कालीन राजघाट गाउँ कमिटी सदस्य, सहसचिव, सचिव, इलाका सहसचिव, क्षेत्रीय सचिव हुँदै पार्टी एकीकरणपछि नेकपा उर्लाबारीको अध्यक्षको जिम्मेवारीमा थिएँ । अहिले नेकपा एमाले पहिलेकै अवस्थामा फर्किएपछि एमाले उर्लाबारी नगर कमिटीको अध्यक्ष छु ।

    एमाले उर्लाबारीको अध्यक्ष अग्नि भट्टराई कि तपाईँ ? एमाले र माओवादी एकीकरणअघि एमाले उर्लाबारीको अध्यक्ष त भट्टराई हुनुहुन्थ्यो । सर्वोच्चले एमाले व्युँताइदिएपछि एमालेको अध्यक्ष उहाँ नै होइन र ?

    यो विषयको डिसिजन गर्ने कुरा जिल्ला कमिटीको हो । अहिलेको हकमा म नै अध्यक्षको काम गरिरहेको छु । भोलि जिल्ला कमिटीले निर्णय गरेर पठायो भने जिल्लाको निर्देशन अनुसार नै चल्ने हो ।

    एमाले व्युँतिएपछि उर्लाबारीमा पार्टी कार्यालयको बोर्ड राख्ने कार्यक्रममा माधव नेपाल पक्षलाई बोलाइएन भन्ने गुनासो छ नि ?

    केही साथीहरु आउनुभएन । कार्यालयका कर्मचारीलाई कमिटी र जनप्रतिनिधिलाई फोन गर्न भनेको हुँ । तर, पार्टी पहिलेकै अवस्थामा आएको, यो अवस्थामा कमिटीगत रुपमा मात्र बोर्ड राख्नेभन्दा पनि आम संगठित सदस्यले यसको जानकारी पाउनु पर्छ भन्ने लागेपछि उर्लाबारीका सबै संगठित सदस्यलाई जानकारी गराउन फोनबाट सम्भव भएन । त्यसैले फोन गर्न छोडेर पार्टीको फेसबुक पेजबाट सबैलाई निमन्त्रणा गरिएको हो । धेरै साथीहरुले त्यसलाई शेयर गर्नुभएको छ । कार्यक्रममा अनुपस्थित हुने साथीहरुले पनि लाइक गर्नुभएको छ । नियतवश कसैलाई बोलाउने कसैलाई नबोलाउने गर्न खोजिएको होइन ।

    भनेपछि नेकपा एमालेको विवाद उर्लाबारीमा पनि देखिएर समानान्तर कमिटी बन्ने अवस्था सिर्जना भएको हो ?

    समानान्तर कमिटी नबन्नु पर्ने हो । किनभने एमालेलाई अदालतले व्युँताइसकेपछि कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन हामीले एक भएर अघि बढ्नुको विकल्प छैन । व्यालेटको राजनीति गर्ने पार्टीले समानान्तर कमिटी गठन गर्दा भोलिको नतिजा के आउला भन्ने कुरालाई ध्यान दिनुपर्छ । आफ्ना असहमति छन् भने छलफल र समिक्षा गरेर अघि बढ्न सकिन्छ । म सबै साथीहरुलाई के अनुरोध गर्छु भने समानान्तर कमिटी बनाएर होइन, नेकपा एमालेलाई बलियो बनाएर अघि बढ्नु पर्छ ।

    उर्लाबारीमै कतिपय भातृ संगठनहरुमा एकपक्षीय संगठन विस्तार भइरहेको छ नि ?

    त्यस्तो छैन । यो बिचमा भातृ संगठन धेरै गठन भएका पनि छैनन् । राष्ट्रिय युवा संघ र अनेरास्ववियुको कमिटी चाहिँ बनेको छ । यी कमिटी पहिले नै निर्वाचित भएका कमिटी हुन् । तर, एकलौटी ढंगले बनेको भन्ने साँचो होइन । पार्टीका सबैलाई समेटेर बनाइएको छ ।

    पार्टीको केन्द्रमा देखिएको विवादले कस्तो रुप लिन्छ होला ?

    रुप कस्तो लिन्छ भन्ने हेर्दै जानु पर्छ । तर, मेरो विचारमा नेकपा एमालेलाई व्युँताइसकेपछि नवौं महाधिवेशनले निर्वाचित गरेको अध्यक्ष नै आधिकारिक हो । अहिलेसम्मको अभ्यास भनेको जुन बेला माधव नेपाल, झलनाथ खनाल अध्यक्ष हुनुभयो हामी उहाँहरुकै निर्देशन अनुसार चल्यौं । अहिलेको आधिकारिक अध्यक्ष भनेको महाधिवेशनले निर्वाचित गरेको केपी ओली नै हो । यहाँभित्र असहमति भए आन्तरिक रुपले छलफल गर्नुपर्यो, आत्मालोचना गर्ने ठाउँ भए त्यो पनि गर्नु पर्यो । कमी कमजोरी भए सच्याएर अघि बढ्नु पर्यो । तर, आधिकारिक अध्यक्षलाई चुनौती दिन समानान्तर कमिटी बनाउनुको अर्थ पार्टीलाई समस्यामा जकड्नु हो । केन्द्रीय कमिटीले जे निर्णय गर्छ त्यो नै आधिकारिक हो, चाहे त्यहाँ केपी ओलीले नेतृत्व गर्नुभएको होस् चाहे त्यहाँ अध्यक्ष निर्वाचित भएर माधव नेपालले नेतृत्व गर्नुभएको होस् । नवौं महाधिवेशलने निर्वाचित गरेको अध्यक्ष, महासचिव नै आधिकारिक हो भन्ने ढंगले हामीले मान्नु पर्छ ।

    विभाजन उन्मुख पार्टीलाई एक ढिक्का बनाउने उपाय के होला ?

    विभाजन तल्लो तहबाट हुने होइन । सम्पूर्ण कमिटी विभाजन भए भने माथिल्लो तहबाट हुनेहुन् । माथिल्लो कमिटीमा अहिले माधव समूहले राष्ट्रिय भेला गरेको छ यो पार्टीको अनुशासन विपरीत हो । किनभने त्यहाँभित्र रहेका विषयवस्तुलाई आन्तरिक सहमतिबाट टुंगोमा पुग्न सकिन्छ, गल्ती कमजोरी भए सच्याएर अघि बढ्न सकिन्छ । नेकपा हुँदा पनि केपी ओलीलाई कारबाही गरेर साइड लगाउने प्रयत्न भयो । अहिले फेरि एमाले व्युँतिसकेपछि पनि फेरि त्यही गतिविधिमा उहाँहरु हुनुहुन्छ । यस्तो गतिविधि नहुनुपर्ने हो । मलाई लाग्छ माधव नेपाल, झलनाथ खनालजस्ता हिजो लामो समयसम्म पार्टी हाँकेका नेताहरु हुनुहुन्छ । निश्चित समयावधिभित्र पार्टीका लाइनमा आएर पार्टीलाई एक ढिक्का बनाएर जानुहुन्छ भन्नेमा विश्वस्त छु । जतिसुकै वेमेल भएपनि उहाँहरुले पार्टी फुटाउनेभन्दा एक बनाउने कुरामा भूमिका निर्वाह गर्नुहुन्छ भन्ने कुरामा म विश्वस्त छु । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…