• ज्योति चौहान
    १ नम्बर प्रदेशका स्थानीय तह मध्ये थोरै समयमै विकसित भएको नगरमा पर्छ मोरङको उर्लाबारी नगरपालिका । उर्लाबारी नगरपालिका ९ वडामा विभाजित 
    छ । स्थानीय सरकार गठन भएपछि काँचुली फेरेर पूर्वाधारयुक्त वडाको रुपमा ४ नम्बरलाई चिनिन्छ । यस वडालाई विविधायुक्त ऐतिहासिक वडाको रुपमा पनि चिन्ने गरिएको छ । 
    परापूर्वकालदेखि नै आदिबासी जनजातिको बाहुल्यता सहितको बसोबास रहेको यस वडाका बासिन्दाहरु जीबीकोपार्जनका लागि पराम्परागत पेसा नै अंगाल्दै आईरहेका छन् । यो भनेको कृषि औजार प्रयोग गरेर खेतीपाती गर्नु हो । यो वडाको अर्को विशेषता भनेको उर्लाबारी 
    नगरपालिका वडा नम्बर १,२,३,५,७ र ८ ले छोएको छ । वडा नम्बर ४ अन्य वडाकोबीचमा छ । नगरको वडा नम्बर ६ र ९ले मात्र वडा नम्बर ४ लाई छुँदैन । उर्लाबारी नगरपालिका वडा नम्बर ४ को क्षेत्रफल ८.६८ बर्ग किलोमिटर रहेको वडा कार्यालयले जनाएको छ । २०७६ को सर्बेक्षण अनुसार वडा नक्बर ४ मा  १ हजार ८ सय ६८ घर धुरी रहेका छन् भने ती घरमा ७ हजार ६ सय ६९ जनसंख्या रहेको छ ।
    वडामा पुरुषको संख्या ३ हजार २ सय ७८ र महिलाको संख्या ४ हजार ३ सय ८९ रहेको छ । वडा कार्यालयले दिएको तथ्याँक अनुसार तेस्रो लिङ्गीको संख्या पनि वडा नम्बर ४ मा २ रहेको छ । वडामा क्षेत्री, बाहुन, राई, लिम्बु, नेवार मगर, 
    झागर, धिमाल, सन्थाल, चौधरी, कामी, दमाई, सतार, सार्की लगायतका जातजातिको मिश्रित बसोबास रहेको छ । यस वडामा रहेका धेरै जसो मानिसले कृषि, ब्यापारलाई आम्दानीको मुख्य श्रोतको रुपमा मानेका छन् । केहीले व्यापार व्यवसाय गरेर जीवीकोपार्जन गर्छन् भने कति पय बैदेशिक रोजगारलाई पनि जीवीकोपार्जनको भरपर्दो माध्यमका रुपमा लिएका छन् । २०७१ बैशाख २५ गतेबाट साबिक उर्लाबारी गाविसका वडा नम्बर १ र ५ समायोजनपछि बनेको उर्लाबारी ४ नम्बर वडालाई उर्लाबारीको मुटुको रुपमा हेरिने गरिएको स्थानीयले बताएका छन् । पूर्व मेचीदेखि महाकाली वडा नम्बर ४ भएरै आम नेपाली ओहोर दोहोर गर्ने गरेका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गको करिब अढाई किलोमिटर उतर दक्षिणमा ४ नम्बर वडा फैलिएको छ । उर्लाबारी नगरपालिका आफैंमा भाग्य चम्किएको वडा हो । यो वडामा उर्लाबारी 
    नगरपालिका, इलाका हुलाक, पशु सेवा कार्यालय, रेडक्रस, ब्लड बैंक, सशस्त्र प्रहरी बेस क्याम्प, क्षयरोग कार्यालय, नारी बिकास संघ शाखा, बिधुत प्राधिकरण उर्लाबारी साखा कार्यालय लगायतका कार्यालय संचालनमा आएका छन् । त्यसैगरी 
    रामेश्वर शिबालय लगायतका 
    मन्दिरहरु र चर्चहरु पनि यस वडामा रहेका छन् । यस वडामा धर्मप्रति आस्था राख्ने मानिसहरुको बसोबास रहेको छ । त्यस्तै यहाँ गैह्र सरकारी कार्यालयको संख्या पनि सरकारी कार्यालयको तुलनामा कम छैन । गैह्र सरकारी संघ संस्थाले पनि वडाको विकासे काममा वडालाई सघाएकै छन् । कतिपय गैह्र सरकारी संघ संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत वडाकै सल्लाह अनुसार काम गर्ने गरेको वडा अध्यक्ष 
    लक्ष्मीनारायण धिमालले बताएका 
    छन् । वडा नम्बर ४ मा रहेको अर्को उर्लाबारी बहुमुखी क्याम्पसले पनि वडाको पहिचान फरक ढँगले दिएको छ । उर्लाबारी, रतुवामाई, मिक्लाजुङको सिकाई अध्ययनको केन्द्रको रुपमा 
    रहेको उक्त क्याम्पसले ती बाहेक झापा, ईलाम, पाँचथर, धनकुटा, तेह्रथुम लगायतका जिल्लाका विद्यार्थीलाई स्नातोकोत्तरसम्म अध्ययन अध्यापन गराई रहेको छ । सो क्याम्पसमा अध्ययन अध्यापन गने विद्यार्थी मुलुक संचालन गर्ने 
    जिम्मेबारी पदमा समेत पुगेका छन् । कति पय विद्यार्थी मन्त्री भए भने कतिपय सचिव पदसम्म पुगेका छन् । ४ नम्बर वडामा सृजना आधारभूत बिध्यालय र भानु आधारभूत बिध्यालय गरी २ सामुदायिक बिध्यालय रहेका छन् । ४ वटा निजी बिध्यालय र २ वटा मन्टेश्वरी रहेका छन् । सामुदायिक बिध्यालयमा अध्ययन गर्ने १३० जना बिपन्न बर्गका बालबालिकाका लागि वडाले यसपटक जाडोमा लगाउने स्वीटर प्रदान गरेको वडा समितिले जनाएको छ ।
    वडाका सामुदायिक विद्यालयलाई तीन तीन थानका दरले कम्प्युटर बितरण गरेको वडा कार्यालयले जनाएको छ । ‘हामीसँगको सिमित बजेटले मात्र वडाको सबै क्षेत्रमा बिकासका काम गर्न गाह्रो हुने भएकाले वडा कार्यालयको पहलमा संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी वडाको शिक्षाको अवस्था सुधारका लागि बजेट ल्याईदै गरिएको वडा अध्यक्ष धिमालले बताएका छन् । आर्थिक बर्ष ०७६/०७७ मा प्रदेश सरकारबाट ५० लाख र नगरबाट ५ लाख रुपैयाँ उर्लाबारी बहुमुखी क्याम्पसको इ-लाइबेरी भवन निर्माणका लागि बजेट आएको उनले बताएका छन् । चालु आ.बमा संघीय सरकारबाट उर्लाबारी क्याम्पसको लागि १५ लाख रुपैयाँ विनियोजन भएको छ । त्यसैगरी यस  वडामा खोलाले बर्षेनी सताउने गरेको छ । बक्राहा खोला बाँधमा १० बर्ष अघिदेखि बस्दै आएकी माया धिमाल जेठ लाग्न सुरु भएदेखि बर्खा नसकिउन्जेल रातमा पुरा समय सुत्न नसकेको बताउँछिन् । उनी भन्छिन्,‘दिनभरी ज्याला मजदुरी गरेर आयो बेलुका घरै अघिबाट बग्ने खोलाको आवाजले निन्द्रा भगाउँ
    छ ।’ ‘निन्द्रा मै कहिले खोला आउने पो हो कि भन्ने डरले रात भरि सुत्दैनौ, यसपाली त बाढी पश्चिम हानियो । यस बर्ष बाँध बाँधिदै छ । अब हाम्रा ३ महिनासम्म अनिदो बस्ने रात गएका छन् । बल्ल हामीले जनताको पक्षमा काम गर्ने जनप्रतिनिधि पाएको महशुस गरेका छौं,’ उनले भनिन् ।
    आ.ब.०७७/०७८ मा नेपाल सरकारले राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम अन्तर्गत २ सय ३० मिटर पक्की बाँध निर्माण हुने भएपछि स्थानीय खुसी भएका छन् । यो कार्यक्रमका लागि सरकारले ५५ लाख रुपैयाँ खर्च गरेको छ । स्थानीय भन्छन्‘बक्राहा खोलाको कटान, डुवान र धनजनको क्षति रोक्न यतिमात्र बाँध निर्माणले पुग्दैन । यसलाई क्रमागत रुपमा अघि बढाउनु पर्छ ।’ वडा नम्बर ४ को प्रमुख समस्या भनेकै नदि कटान हो । बाढीले कटान गर्ने, डुवाउने र बगाएर लैजाने समस्या बर्षेनी देखिको छ । यो समस्याबाट मुक्त भएको दिन स्थानीय ढुक्कले सुत्ने थिए । संघीय सरकार, प्रदेश सरकार र स्थानीय उर्लाबारी 
    नगरपालिकासँग समन्वय गरेर जनताले अपेक्षा गरेभन्दा धेरै, वडाले बजेट र बिकासे काम त ल्याएकै छ । तर, नदि कटानको समस्या किनारा लगाउन भने वडाको एक्लो बलले मात्र थेग्न नसक्ने वडा अध्यक्ष धिमालको भनाई छ । सो वडालाई वर्षेनी पिरोल्ने नदि भनेको बक्राहा नै हो । सकारले पनि यसको दिर्घकालीन समाधान गर्न सकेको छैन । अर्को सोल्टी खोलाले पनि बक्राहा कै तुलनामा बर्षेनी धन जनको क्षति 
    गरिरहेको छ । यी दुई खोला व्यवस्थापन गर्ने हो भने वडाका बासिन्दाले नयाँ जीवनको अनुभव गर्ने वडा सदस्य एवम् कार्यपालिका सदस्य कृष्णमाया कडरिया कार्कीले बताएकी छन् । उनी भन्छिन्, ‘वडा अध्यक्ष धिमालको अगुवाईमा बक्राहा कोशी जल सिचाई आयोजनाको सहयोगमा अहिले बक्राहा पुल दक्षिण ३०० मिटर, उत्तरमा ४०० मिटर बाँध लगाउने कार्य भइरहेको छ । अब पूर्व भागको १२५मिटर बाँध बाँध्न बाँकी रहेको 
    छ ।’ ‘बक्राहा पश्चिम करिब २ किलोमिटर बाँध बाँध्न बाँकी रहन्छ । यसलाई पनि चाडै तटबन्धन गर्न पाए वडामा बाढीबाट हुने क्षति रोक्न सकिने थियो,’ वडा अध्यक्ष धिमालले भने ।
    ४ नम्बर वडामा उर्लाबारी नगरपालिकाले आ.ब.०७७/०७८ मा नगरको गौरबको योजना अन्तर्गत बक्राहा आर्यघाटको डीपीआर तयार गर्न ५० लाख बिनियोजन गरेको छ । अब चाँडै नै उर्लाबारीको बक्राहा पुल उत्तर करिब ५०० मिटर माथि बिद्युतीय दाहसंस्कार सहितको ब्यवस्थित आर्यघाट निर्माण हुने वडा अध्यक्ष धिमालले बताएका छन् । सो क्षेत्रमा पार्किङ, सुबिधा सम्पन्न शौचालय,  कृयापुत्री बस्ने घर समेत भएको आर्यघाट निर्माण हुने उनले जानकारी दिएका छन् । दिनहुँ कम्तीमा ३ वटासम्म शवको दाहसंस्कार हुने सो क्षेत्रको ठूलो समस्याको रुपमा यतिबेला फाहोरमैला ब्यवस्थापन गर्न नसक्नु देखिएको छ । फोहोर मैला ब्यवस्थापनका लागि वडाले 
    कर्मचारी ब्यवस्थापन गरेको थियो । वातावरणलाई नै धमिल्याउन त्यहाँको फोहोरले सुरु गरेपछि नगरपालिकाले नै फोहोर व्यवस्थापन गर्न थालेको 
    छ । नगरले कर्मचारीको व्यवस्था 
    गरेपछि त्यहाँको फोहोरको व्यवस्थापन हुन थालेको वडा सदस्य अमृता दासले बताएकी छन् । उनले भनिन् ‘ नगरकै समस्या देखिन थालेपछि 
    नगरकार्यपालिकाले कर्मचारीको व्यवस्था गरेको हो । यस अघि वडाले नै कर्मचारीको व्ययभार व्यहोर्दे आएको थियो ।’ वडामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि बिकासका कामले ठूलो फड्को मारेको जनप्रतिनिधिहरुले दाबी गरेका छन् । ‘निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धता हामी 
    पुरा गर्दै जाँदैछौं । ४ नम्बर वडा कार्यालयले अहिलेसम्म खोर्सानी मार्ग, नगरपालिका मार्ग, हुलाक मार्ग, आदर्श मार्गको कालोपत्रे निर्माण सम्पन्न गरिसकेको छ,’ वडा अध्यक्ष धिमालले भने । पूर्व पश्चिम 
    राजमार्गसँग जोडिएका भित्री सडक धमाधम कालोपत्रे भइरहेका छन् । वडा अध्यक्ष धिमालले भने, ‘सडक नभएका ठाउँमा कच्चि सडक, कच्चि सडक भएका ठाउँमा ग्राभेल र ग्राभेल सडक भएका ठाउँमा कालोपत्रे गरिरहेका छौं । अन्य कतिपय भित्री सडक पनि कालोपत्रे भएका छन् कतिपय हुँदैछन् ।’
    चालु आ.व.मा संघीय 
    सरकारको १५ लाखमा उपेन्द्र मार्गको कालोपत्रे सडक निर्माण भईरहेको 
    छ । २५ लाखमा नगर स्तरीय बजेटबाट शिवालय मार्ग, शिब दुर्गा मार्ग कालोपत्रेको काम सञ्चालन 
    भइरहेको छ । अहिलेसम्म वडाले 
    करिब ४ किलो मिटर सडक कालोपत्रे गरिसकेको छ । वडाका सबै टोलमा सडक संजाल पुगिसकेको छ भने 
    करिब आधा भन्दा बढी बाटोमा ड्रेन सहितको ग्राबेल निर्माण भइसकेको वडा सदस्य कल्याणकुमार राईले बताएका छन् । ‘वडाका सबै ठाउँमा खानेपानीको पाइप बिस्तार, बिजुलीको पोल बिस्तार भइसकेकोे छ,’ वडा सदस्य राईले भने ‘वडालाई सफा बनाउनका लागि उपभोक्ताको मागको आधारमा सार्वजानिक स्थल, चोक र पसलहरुमा डस्बिन राखिएको छ ।’ वडाले युवा लक्षीत मात्र नभएर जेष्ठ नागरिकलाई यस आर्थिक बर्षदेखि दिवा खाजा कार्याक्रम सुरु गरेको छ । उर्लाबारी ४ बिशाल टोलमा रहेको जेष्ठ नागरिक कार्यालयमा कार्यक्रम, मिटिङमा र समकालीनसँग गफ गरेर समय कटाउन आउने जेष्ठ नागरिकका लागि वडाले दिवा खाजा कार्यक्रम ल्याएको वडा सदस्य डोमनाथ खतिवडाले जानकारी दिएका छन् । वडाले बिभिन्न समूहलाई लक्षीत 
    गरी घरमै बसेर अन्य काम गर्न सकिने बेमौसमी सब्जी खेती, कौसी खेती, अचार बनाउने तालिम, सिलाइबुनाई तालिम, योग शिबिर लगायतका तालिम सञ्चालन गर्दै आइरहेको वडाकी सदस्य कडरियाले बताईन् । वडामा रहेका एकल, विपन्न तथा असहाय महिलालाई वडा कार्यपालिकाले बाख्रा उपहार कार्यक्रम पनि संचालन गरेको थियो । वडाका २८ महिलाले बाख्रा, बोका, पाठा पाठी आय आर्जनमा टेवा पुर्याउन लगेका थिए । बाख्राले पाठापाठी जन्माउन थालेपछि ति महिलाले उपहार स्वरुप लगेको बाख्रा वडा कार्यालयलाई फिर्ता दिएका छन् । वडाले पनि दोश्रो चरण अन्तर्गतका अन्य विपन्न महिलालाई ति बाख्रा उपहार स्वरुप पुन प्रदान गरेको वडा समितिकी सदस्य कडरियाको भनाई छ । उनले भनिन् ‘पहिलो चरणका १८ महिलाले ईमान्दार पूर्वक वडाबाट लगेर उत्पादन बढाएका बाख्रा 
    ल्याए ।’ २०७४ सालदेखि वडाका अति बिपन्न परिवारका महिलाका लागि पोषण युक्त खाद्यान सामग्री सहितको सुत्केरी पोषण  कार्यक्रम सञ्चालनमा ल्याएको छ । ‘हामीले सुत्केरी महिलालाई दाल, चामल, फलफुल, अण्डा, गेडागुडी, ध्यू सबै मिलाएर आफै किनेर दिने गरेको छौं । कतिपयले पैसा पाएपछि लोभले नखाने वा अन्यत्रै काममा खर्च गर्ने गरेको भेटिएकाले वडाले नै आफै 
    खरिद गरेर बितरण गरेको छ ।’ वडा सदस्य अमृताले बताउँछिन् । वडाको सुत्केरी पोषण कार्यक्रमले नगरमै चर्चा पाएको छ ।
    निर्वाचित भएको पहिलो पाँच वर्ष जनप्रतिनिधिले अनुभव संकलन गर्ने अवसरका रुपमा लिएर पछिल्ला वर्षमा निर्धक्क भएर काम गर्न सकिने 
    उर्लाबारी ४ नम्बर वडाकी महिला सदस्य तथा कार्यपालिका सदस्य कडरिया कार्कीको भनाई छ । उनले भनिन् ‘यतिबेला फ्याट्टै हतार 
    हतारमा काम गर्न पनि कानुनी कुरा नजानेकोले बेला बेलामा समस्या आउने गरेको छ । हतारमा वडाबासीको काम गरिरहँदा पनि वडाका नागरिकको स्याबासी हामीले पाएकै छौं ।’ वडाले बिकासका कामसँगसँगै वडामा हुने सबै किसिमका समस्याहरुको वडा न्यायीक समितिले नै समाधान गर्ने गरेको छ । वडामा दिनमा ३ वटासम्म उजुरी आउने गरका छन् । अहिलेसम्म सबैलाई चित्त बुझाएरै पठाउने गरेको अध्यक्ष धिमाल बताउँछन् । निर्वाचित भएदेखि अहिलेसम्म वडाले न्याय सम्पादन गरेको मुद्धामा ७० प्रतिशत सफलता मिलेको छ । वडाले नसक्ने प्रकृतिका मुद्धा नगर स्तरीय न्यायीक समिति र जिल्ला अदालतसम्म पुग्ने गरेका छन् । श्रीमान् श्रीमतीका झगडा, घर झगडा, जग्गाको बिबाद, साँध सँधियारको झगडा वडामा दैनिक आउने गरेका छन् । वडा अध्यक्ष धिमालका अनुसार ४ वटा झैझगडाको घटना नगर न्यायीक समितिमा समेत मिल्न नसके पछि पुन वडामै ल्याएर मिलाएर पठाउँदा आनन्द महसुस भएको थियो । वडाले 
    बेरोजगार रहेका युवालाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडाका अति बिपन्न समुदायका २० जना महिला तथा पुरुषलाई १ सय दिन 
    बराबरको रोजगार दिइरहेको छ । वडा कार्यालयमा सेवा लिन आएकी बिमला श्रेष्ठले वडा अध्यक्ष धिमालको प्रसंसा गर्दै भनिन् ‘हामीले असल अभिभावक पाएका छौं, जस्तो सुकै समस्यामा पनि उहाँ अघि बढ्नु हुन्छ । वडाको कुनै पनि काममा वडा बिवादमा परेको मलाई थाहा छैन ।’ नेकपा एमालेबाट निर्वाचित भएका धिमाल कुनै पनि विषयमा वडामा बिवाद अहिलेसम्म नआएको बताउँछन् । वडाको हरेक काम गर्दा सबै राजनीतिक दलका 
    साथीहरुसँग छलफल, परामर्श गरेर मात्र काम गर्ने भएकाले सबैले 
    वडाको हरेक योजनामा साथ दिदै आइहेको वडा अध्यक्ष धिमालको भनाई छ ।
    वडामा संचालन भएका कतिपय योजना राजनीतिक रुपमा फरक आस्थाका व्यक्तिले पनि संचालन गर्न पाएका छन् । वडामा कुनैपनि 
    नागरिक कुनै कारणले विभेदको 
    सिकार हुन नपरेको उनले बताएका 
    छन् । उनले भने ‘कतै जनप्रतिनिधिको विषयमा गुनासो छ भने सिधै मलाई भेटेर गुनासो राखिदिनुहोस् ।’ जनताको सेवक भएर काम गर्न पाएकोमा वडा अध्यक्ष धिमाललाई गर्व लागेको बताउँछन् । जनताले पहिचान 
    गरेर मत दिंदा वडाबासीकै भाग्य चम्किएको उनको भनाई छ । 
    ‘वडामा आएको परिवर्तन जनप्रतिनिधिले भन्दा पनि सचेत नागरिकका कारणले हो,’ उनी भन्छन् ‘म त माध्यम मात्रै हो ।’
    यस वडाको कार्यालय अहिले इलाका हुलाक कार्यालय आइतबारेको भवनमा सञ्चालित छ भने नयाँ भवन बनाउनका लागि जग्गा खोज्ने काम भई रहेको अध्यक्ष धिमालले बताएका छन् ।(उर्लाबारी नगरपालिकाको सहयोगमा सञ्चार क्लब नेपालले प्रदान गरिएको लेखनबृत्ति)

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …