झापा – गौरादहमा ग्रिल व्यवसाय गर्ने रबिन गिरी र उत्तम श्रेष्ठलाई प्रहरीले कुटपिट गरेको छ। आमनागरिकको शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरीको हातबाट नै बिना कसुर व्यवसायी कुटिएका छन।
पसलबाट काम सकेर घरतर्फ जाने क्रममा उनीहरुमाथि प्रहरीले कुटपिट गरेको हो।
गौरादह -१ चैतुचोकमा रहेको पसलबाट घर जाने क्रममा प्रहरीले अन्धाधुन्ध कुटपिट गरेको व्यवसायी गिरीले बताए।
मंगलबार अबेरसम्म काम गरेर घर जाने क्रममा प्रहरीले बिनाकारण आफूहरुमाथि कुटपिट गरेको उनिहरुले बताए । कुटपिट गर्ने प्रहरीले मादक पदार्थ सेवन गरेको उनीहरुले आरोप लगाए।
प्रहरीले लाठी र बुटले प्रहार गर्दा गिरीको खुट्टा, घुडा र ढाडमा चोट लागेको छ। उनको तिघ्रामा स्पष्ट निलडाम देखिन्छ। श्रेष्ठको भने बाहिरी चोट देखिएको छैन। तर, काम गर्नै नसक्ने गरि जिउ र टाउको दुखिरहेको उनले बताए।
यता ईलाका प्रहरी कार्यालय गौरादहका प्रमुख सई रमेशकुमार मेहेताले भने व्यवसायीलाई नकुटिएको दाबी गर्छन्। यसबारे जिज्ञासा राख्दा सई मेहेताले भने, ‘होईन, त्यो भाईको तारिख थियो, बोलाउदा आएको थिएन, सामान्य बल प्रयोगमात्र भएको हो।’
तर, व्यवसायी गिरीले आफुमाथि प्रहरी चौकी धाउनु पर्ने कुनै तारिख नभएको बताएका छन। उनले भने- ‘गल्ती ढाकछोप गर्न प्रहरीले मलाई आरोप मात्र लगाएको हो। मेरो कुनै तारिख छैन।’
घटनाका बिषयमा व्यवसायी गिरीले यसरी सुनाए
अहिले कामको चापले गर्दा अबेरसम्म काम गर्छौ। घटना सभा ९ को हो। पसल बन्द गरेर म र मसंगै काम गर्ने उत्तम श्रेष्ठ बाटो पारी पुगेका थियौं। मैले चिनेको एकजना साथि भेट हुन् मात्र पाएको थियो, बेलडाँगीतिरबाट प्रहरीको भ्यान आयो। हामी नजिकै रोकियो। त्यसपछि केहि सोध्दै नसोधी अन्धाधुन्ध बुट र लाठी प्रहार भयो। अन्धाधुन्ध छाती, टाउकोमा प्रहार भयो। हामीलाई त्यसरी कुट्ने प्रहरीको गाडी चालक खेम कटुवाल र असई श्रेष्ठ हो। उनीहरुले मादक पदार्थ सेवन गरेका थिए। मलाई बुटले हिर्काउदा चालक कटुवाल आफै लडे। ज्यान जोगाउन हामीलाई त्यहाँबाट भाग्नुको विकल्प थिएन। त्यसपछि हामी भाग्यौ। अर्का एकजना असई पनि थिए। तर, उहाँले चै केहि गर्नुभएन।
घटना मिलाउन प्रहरी चौकीमा छलफल
प्रहरीले बिनाकारण कुटपिट गरेको घटना मिलाउन चौकीमा बुधबार दिउसो छलफल चलाईएको बुझिएको छ।
कुटपिट गर्ने प्रहरी विरूद् उजुरी दिने तयारी गर्दा आफुहरुलाई मिल्न दबाब दिईएको गिरीले बताए।
‘हामीलाई कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्ने सहमति पनि भएन, हामीले उपचार खर्च पनि पाएनौ।’ उनले भने ‘हामी त् काम गर्ने मान्छे, प्रहरीसंग जुहारी खेल्दा आफैलाई हानी हुने पो होकी!’
डरकै कारण आफुहरुले अहिले कतै उजुरी नदिएको उनले बताए।