• दीपक भण्डारी 

    अपाङ्ग शब्दको परिभाषा यथार्थमा कसरी व्यक्त गर्न उपयुक्त (आवश्यक) हो । सत्य र यथार्थ नलुकाउने हो भने, साधारणतया मानिसमा हुने सामान्य अवस्थाभन्दा फरक किसिमले शरीरको कुनै पनि अंगमा जन्मजातै वा जीवन जिउँदा देखापर्ने दीर्घकालीन (मृत्यु नहुँदासम्म रहने) कमजोरीपनलाई वा असहज अवस्थालाई बुझ्नुपर्छ । यी क्षण सामान्यदेखि भयंकर जटिल अवस्थासम्मको हुनसक्छ । हरेक अशक्तपनको पीडा आफैमा साह्रै नै पीडादायी हुन्छ । यो अवस्था भोगेका पीडितको भोगाइबाट जटिलताको अवस्था, समस्याको जानकारी, अनुभवसाथै आवश्यकतालाई आधार मानेर अपाङ्गताको तह निर्धारणगरि सरकारीस्तरमै यो विषयको दीर्घकालीन कार्ययोजना बनाउन आवश्यक छ । यसलाई पहल गर्ने कसले ? कमजोरको आवाज सुन्ने को छ ? के अब हामी मानव समुदायभित्र देखिएला सकारात्मक पहलको जागरुकता ?


    अहिलेको अपाङ्गता नियमावलि पूरा पढेर सकियो । बहुराष्ट्रिय राज्य सिद्धान्तमा आधारित रहेछ, त्यसैले अबको अपाङ्गताको वर्गीकरण र नियमावलि पनि राज्यराष्ट्र सिद्धान्त र सहृदयता दर्शनमा आधारित हुनुपर्दछ । जात र धर्म भनेझैं कान, नाक, आँखा, मुख भनेर कित्ताकाट गरेको हुनुहँुदैन ।

    सबलले सरह जीवनयापन गर्न नसक्नु नै कमजोरीपना हो । कुनै एक क्षेत्रमा कमजोरी भएको व्यक्ति अर्को क्षेत्रमा बढी राम्रो हुनसक्छ । हरेक व्यक्तिलाई अवसर मिल्नुप¥यो, घृणाको नाउँ वा पद होइन ।

    पहिला भनिएको/लेखिएको अपाङ्गताको परिभाषा आधारहीन छ ।
    पीडितको भोगाइबाट जटिलताको अवस्था, समस्या, अनुभब र आवस्यकतालाई आधार मानी अपाङ्गताको तह निर्धारण गरि सरकारीस्तरमै यस विषयको दिर्घकालिन कार्ययोजना बनाउन आवस्यक छ । मानव शरीरको कमजोर क्षेत्र, भाग वा स्थान विशेषको संवोधन गर्नुपर्छ र कमजोरीपनको आधारमा शारीरिक अशक्त अवस्थाको तह छुट्याउनु पर्दछ ।

    आँखा कम देख्नु, कान कम सुन्नु, बोली भकभकाउनु घुँडा जोडिनु शरीरको अंग् बाङ्गो हुनु, ठूलो चोट या खत, मुटु–फोक्सो, मांसपेसीसम्बन्धी कमजोरी, मानसिक कमजोरी, आँखा नदेख्नु, कान नसुन्नु, मानसिक चेत नहुनु, शरीरको कुनै अङ्ग नचल्नु, बोल्न नसक्नु, मासुमा डिस्थ्रेपी हुनु, दिशापिसाब थाहा नहुनु, विभिन्न कारणबाट हुने पक्षघात, हड्डी भाँच्चिनु, कुनै अङ्ग नहुनु, टुटनु–फुट्नु आदि धेरै प्रकारका छन् ।

    श्रेणी छुट्याउदा
    आफूले गरिरहेको कार्यको चेतना हुने र चेतना नहुने कुरालाई ध्यानमा राख्नुपर्छ ।

    १. दुबै हात दुबै खुट्टा नचल्ने, कुनै चेतना नहुने र आफै खाना–पानी खान नसक्ने ! आफूले साधारण कार्य पनि गर्न नसक्ने, सुत्ने, ओल्टोकोल्टो पर्ने, कन्याउने आदि ।
    २. मानसिक वौद्धिक अर्धचेत भएका वा धेरै अंगमा पूर्ण क्षति भएका (कान पनि नसुन्ने आँखा पनि नदेख्ने, आँखा नदेख्ने, बोल्न नसक्नेजस्ता दोहोरो अंगमा क्षति भएका)
    ३. दुबै हात नचल्ने खुट्टाले काम गर्ने, दुबै खुट्टा नचल्ने हातले काम गर्ने, दुबै आँखा पुर्णरुपले नदेख्ने दिशा पिसाब थाहा नहुने ।
    ४. पुरै कान नसुन्ने, बोल्न नसक्ने, एक हात नहुने, एक खुट्टा नहुने !
    ५. अरु बाँकी रहेका सबै किसिमका अपाङ्गता भएका व्यक्ति !

    माथिको सामान्यतयाः यो मेरो एक्लो सोच र विवेकले छुट्याउदा ! यसलाई अझ ४–५ जनाको विवेकशील समूह बसी मूल्यांकन गर्नुपर्दछ ! अब अझ एउटा कुरामाथि मेरो विचारले कमजोर अवस्थालाई अपाङ्गता भने तर त्यसको बारेमा पनि प्रष्ट पार्नुपर्छ ।

    राष्ट्रमा नागरिकको हकको आधारमा सेवा, सुविधा, अधिकार र कर्तव्यको विषयलाई विवाद नहुने गरी प्रस्ट बनाउनुपर्छ । अपाङ्गता भएका व्यक्तिलाई श्रेणीको आधारमा भत्ताभन्दा पनि सुहाउँदो श्रमको व्यवस्था गर्नुपर्छ । यसो गरिए श्रेणीमा विवाद रहँदैन र विवाद । आफैले कामगरी खान पाउँदा आत्मवल पनि बढ्दछ ।

    अपाङ्गताको अवस्थालाई राज्यले सामाजिक बाधा अड्चन रूपमा नसम्झौं, राज्यले राज्यमार्फत् अपाङ्गता भएका व्यक्तिको लागि सेवा– सुविधासम्पन्न आवासको व्यवस्था मिलाउन पहल गरौं, सामूहिक आवासको व्यवस्था राज्यले आफैमा गौरव गर्ने स्थल पनि बन्नसक्छ । हामीले निर्माण गर्ने आवासको भौतिक योजना, आन्तरिक कार्य, प्राविधिक र स्थलगत कार्य व्यवस्थापन शैली र सोचमा आवासको प्रतिफल निर्भर गर्दछ ।

    अपाङ्गता भएका व्यक्तिको सोचमा आफ्नो घर परिवारभित्रको आन्तरिक कुरा बाहिर ल्याए कसैले केही गरिदिने होइन, बरू,उल्टो परिवार भित्रबाट अरु अपहेलित भइन्छ कि भन्ने डर हुन्छ । त्यसैले अपाङ्गता भएका व्यक्तिले आफूमाथि भएको दुःख, पीडा, शोषण, अफ्ठ्यारो, इच्छा, चाहना र आफ्ना आवश्यकताका सबै कुरा खुलेर कसैलाई पनि भनेको हुँदैन ।
    जन्मदिने बाबुआमालाई त बूढाबूढी भएपछि छोराबुहारीले आश्रममा राख्छन् भने दाजुभाइ, दिदीबहिनी, काकाकाकी, ठूलोबा, ठूलीआमा आदि नाता पर्नेको दिशा, पिसाब, स्याहारेर खुशीसाथ घरमा माया र स्नेहका साथ राख्लान ?

    त्यसैले अपाङ्गता भएका व्यक्तिको हेरचाह गर्ने जिम्मेवारी परिवारको हो तर परिवारको मात्र हो भन्नू हुँदैन,आफुलाई समस्या परेको सम्झेर सोच्नुहोस् जो कोहीलाई पनि प्रष्ट ज्ञान हुन्छ ।
    अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी सहज, सुरक्षित, सक्दासम्म आत्मनिर्भर, स्वाबलम्बी र मानसिक रूपमा खुसी राख्नको लागि सबल मानिससरह सुहाउँदो शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुद साथै विभिन्न मनोरञ्जनका अवसर प्रदान गर्नु राज्यको दायित्व हो ।

    अपाङ्गता भएका व्यक्तिले पनि आफुले सकेको जानेको बुझेको श्रम, सीप र बुद्धिको प्रयोग गरि राष्ट्र निर्माणमा टेवा पु¥याउनु आफ्नो कर्तव्य हो भन्ने सम्झनु पर्दछ । यी दुबै भूमिका निर्वाह गर्नका लागि सबैभन्दा सहज र सुहाउँदो वातावरण भनेको सामूहिक र व्यवस्थित आवास हो ।

    तर, अहिलेका मानिसको सोचमा आवास वा आश्रयस्थल भनेपछि एक्लो ठाउँमा हुनुपर्छ भन्ने छ । त्यो सोच गलत हो । आवास निर्माण गर्दा कहिल्यै पनि एकान्त वा एक्लो स्थानमा बनाउनु हँुदैन । मानवलाई जस्तोसुकै अवस्थामा भएतापनि मानवीय हेलमेल भैरहने ठाउँमा नै रहनेसक्ने गरि वातावरण मिलाउनुपर्छ ।

    सामुहिक आवासको ब्यवस्था भएमा अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सेवा उपलब्ध गराउन सम्बन्धित निकायलाई सहज हुन्छ ।सहयोगीबिना एक्लै छाड्नै नमिल्ने अवस्था भएकाहरूलाई फरक सेवा दिनुपर्छ, त्यसको उपलब्धता हुनुपर्छ । राज्यको अपाङ्गता नियमावलिमा लेखिएको व्यवस्था अनुसारको कुरा गर्ने हो भने अवस्था अनुसार सुसारे व्यवस्था गर्ने वा परिवारलाई खर्च उपलब्ध गराउने भन्ने छ तर यसोगर्दा राज्यलाई ठूलो भार पनि पर्ने र धेरैजसो अवस्थामा अशक्तले सुविधा नपाउने हुनसक्छ । अहिलेसम्म भएको पनि त्यही छ । राज्यबाट छुट्याइएको रकम विभिन्न संघसंस्थाले खर्च गरेको तर पीडितले सुविधा नपाएको अवस्था छ ।

    सामूहिक आवासको व्यवस्था भएमा त्यहाँको हरेक कर्मचारी, सुसारे, सहयोगी तलबमा राखिने हुनाले अशक्तले पाउनुपर्ने स्याहारसहित स्वास्थ्य शिक्षा रोजगारीको अवस्था सिर्जना गर्न पनि सजिलो हुन्छ ।

    यी कुराहरु कुराहरू व्यक्तिगत रूपमा उपलब्ध गराउँदा कतिपय असम्भव र झन्झटिलो हुन्छ ।


    अपाङ्ता भएका व्यक्तिहरू आफैमा आत्मनिर्भर रहनका लागि आवासभित्र कामको व्यवस्थापन गर्न सकिन्छ । जस्तैः हातले मात्र काम गर्न सक्नेका लागि आवास स्थलमै रहेर मैनबत्ती, अगरबत्ती, कपास वा उनका बत्ती बनाउने कामको तालिम प्रदान गर्ने, अनुकूलता अनुसार सिलाइ–बुनाइको तालिम दिने,सालको पातका दुनाटपरी बनाउने र तरकारी खेतीमा लगाउन सकिन्छ । उत्सुकता, आवश्यकता र सहजता अनुसार कार्य विभाजन गरि पारिश्रमिक निर्धारण गर्ने, यसरी व्यवस्थापन गरि धेरै काम गर्न सकिन्छ ।

    वौद्धिक क्षमता भएकाहरूलाई उनीहरूको क्षमता अनुसारको कुनै कार्यक्रमसम्बन्धी योजना निर्माण गर्न लगाउने, कथा कविता लेख रचना लेख्न लगाउने, विभिन्न कार्यक्रम र योजनाहरूको अभिलेख राख्ने कार्यहरू गर्ने अवसर प्रदान गर्न सकिन्छ ।

    इन्टरनेटको माध्यमबाट बत्ती, पानी, इन्टरनेट, टिभी, मोबाइल आदि कुराको बिल भुक्तानी गर्ने व्यवस्था मिलाउन सकिन्छ । एकै ठाउँमा खाद्यान्न, तरकारी, श्रृङ्गारका सामग्री लगायतका दैनिक उपभोग्य सामग्रीको एकीकृत बजार ब्यवस्थापन पनि गर्न सकिन्छ । अपाङ्गता भएका व्यक्तिलाई नै स्वास्थ्यसम्बन्धी तालिम प्रदान गर्ने र उनीहरुबाट नै आवासमा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाउन सकिन्छ । यसो गर्दा स्वास्थ सेवा अझ प्रभावकारी हुन्छ ।

    यी माथिका सबैकुरा सुरूवात गरेपछि व्यवस्थापन, बिस्तार र सुदृढ गराउदै लैजानु पर्छ । अपाङ्ता भएका व्यक्तिको लागि आवास निर्माण गर्ने र त्यहाँ राख्ने र बस्ने भनेपछि अलग्याउनु हो या अलग्गिनु हो भन्ने सोच्नु संकीर्ण मानसिकता हो । आवास हामी अपाङ्गता भएका व्यक्तिका लागि कर्मथलो बनोस्, साथै घरमा बस्दा नपाउने सेवा, सुविधा, शिक्षा, स्वास्थ्य आदिको अवसर प्राप्त गर्ने स्थान बनोस् र शीर ठाडो बनाएर भन्न–बोल्न सकियोस् कि म आवासभित्रै रहँदा ज्यादै नै खुशी छु । म आवास भित्रै रहेर आफुले सक्ने यस्तो काम गर्छु र महिनामा यतिसम्म आम्दानी गर्छु । आफ्ना हरेक आवश्यता पूरा गरी परिवारको लागि पनि केही जगेर्ना गर्छु र राष्ट्रको लागि पनि एक नागरिकको कर्तव्य पूरा गर्ने मौका पाएको छु ।

    कहिलेकाहीँ समय मिलाएर घरपरिवारलाई भेट्न जान्छु (गलत अर्थ नलागोस् शारीरिक अवस्थाले घर जाने आउने संभावना भएका साथीको हकमा) । ल कल्पना गर्नुहोस् त त्यो समयलाई ! यी सबै कुराको व्यवस्था भएमा कति उत्तम र व्यवस्थित होला हामी अपाङ्गता भएका व्यक्तिहरूको जिवनशैली ! त्यसैले सामूहि आवास अत्यावश्यक छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…