उर्लाबारी । नेपाल पत्रकार महासंघको आगामी चैत २५ गते हुन लागेको निर्वाचनमा प्रदेश १ समितीमा उर्लाबारीबाट दुई जना पत्रकारको उम्मेद्वारी परेको छ ।
बिहिवार विराटनगरमा भएको उम्मेद्वारी दर्ता गर्ने कार्यतालिका अनुसार प्रेस चौतारी, नेपालको गठबन्धनबाट उर्लाबारीका पत्रकार केदार चौहान र विजय धिमालले सदस्य पदमा उम्मेद्वारी दिनुभएको हो ।
चौहानले खुल्ला सदस्य पदमा र धिमालले अल्पसंख्यकबाट सदस्य पदमा उम्मेद्वारी दिनुभएको हो । चौहान प्रेस चौतारीको पूर्व जिल्ला उपाध्यक्ष तथा धिमाल मोरङ जिल्ला सदस्य हुनुहुन्छ । चौहान उर्लाबारी ४ र धिमाल उर्लाबारी ८ निवासी हुनुहुन्छ । पत्रकार महासंघ १ नम्बर प्रदेश अध्यक्षमा मोहनकाजी न्यौपाने, लिलाबल्लभ घिमिरे र सोमनाथ सुसेलीले मनोनयन दर्ता गरेको महासङ्घ प्रदेश निर्वाचन समितिका संयोजक यज्ञप्रसाद शर्माले जानकारी दिनु भएको छ ।