• उर्लाबारी,चैत २३ गते । मोरङको उर्लाबारी–८ स्थित मन्जिल एग्रीकल्चर कम्पनीले २०७४ को बैशाखमा सुरु गरेको मत्स्य पर्यटन सहितको वृहत् माछापालन अहिले पूर्वी मोरङको नयाँ पर्यटकीय गन्तब्य बनेको छ ।


    विभिन्न जातका माछा र स्थानीय जातका कुखुराको मासु खान एवं जल बिहार गर्न त्यहाँ पुग्ने पाहुनाको सङ्ख्या दैनिक बढिरहेको सञ्चालक डिल्लीराम न्यौपानेले बताउनुभयो । अहिले न्यौपाने र नीलप्रसाद गौतमले ११ विगाहा जग्गामा चार विगाहाको जलासय युक्त पोखरीमा माछापालन गरिरहनु भएको छ ।

    वार्षिक २६० मन धान ठेक्का बुझाउने सर्तमा १५ वर्षका लागि जग्गा लिजमा लिएर ब्यवसाय सुरु गरेको उहाँहरूको भनाई छ । चार विगाहाको एउटै जलासय क्षेत्रमा नौका बिहार गर्ने ब्यवस्था मिलाइए पछि त्यहाँ पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो ।

    उहाँहरूले माछाका भुरा समेत आफै उत्पादन गर्न चार वटा पोखरीमा भुराको नर्सरी राख्नु भएको छ । नर्सरी पोखरीमा रहु, नैनी, कमल,विगेट,सिल्भर, ग्रास र भ्याकुर जातका भुरा छन् । तिनै भुरालाई ठूला पोखरीमा सारेर पाल्ने गरेको न्यौपानेले बताउनुभयो । २५ लाख रुपियाँ लगानी गरी पोखरी खनेका न्यौपाने र गौतमले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमबाट दुई लाख २० हजार रुपियाँ अनुदान पाए यता कुनै पनि सरकारी सहयोग पाउनु भएको छैन् । उहाँहरूले पोखरी परिसरलाई सुरक्षित गर्न सात लाख रुपिया खर्चेर तार घेरा समेत गरिसक्नु भएको छ ।

    वार्षिक ५० लाख रुपियाँको माछा उत्पादन गर्ने र बिक्री गर्ने महत्वकांक्षी लक्ष्यका साथ माछापालन सुरु गरेका ब्यवसायीहरू हाल माछा उत्पादन र श्रमिकका लागि दैनिक आठ हजार रुपियाँ खर्च भइरहेको बताउनुहुन्छ । माछाको दानापानी ब्यवस्थापन,होटल सञ्चालन र रिसोर्ट सञ्चालनका लागि कम्पनीले १२ जनालाई रोजगार दिएको छ । ब्यवसायी न्यौपानेले भन्नुभयो– पहिलो वर्ष लक्ष्य अनुसार उत्पादन गर्न सकेनौं तर २० लाख रुपियाँको माछा बजार गयो । विषय वस्तुको तालिम र अध्ययन बिना नै ब्यवसायमा हात हालेकोले लक्ष्य अनुसार उत्पादन लिन नसकेको न्यौपाने र गौतमको भनाई छ ।तर, पछिल्ला वर्षहरूमा ब्यवसाय घाटामा नगएको उहाँले बताउनु भयो ।

    माछापालन र मत्स्य पर्यटनको पूर्वाधार निर्माणमा उहाँहरूले हाल सम्म चार करोड ५० लाख रुपियाँ खर्च गरिसक्नु भएको छ । ११ विगाहा जमीन भित्र बनभोज स्थल,बाल उद्यान,फेमिलि टावर, रोज एण्ड भ्यू टावर, होटल ,सेल्फी टावर र फुटेज गार्डेन निर्माणको निर्माण सम्पन्न छ । सम्पूर्ण पूर्वाधार तयार भइसक्दा कुल साढे ५ करोड रुपियाँ लगानी हुने ब्यवसायी न्यौपानेले बताउनु भयो । ठूलो माछापोखरी भएकोले पोखरीमा मोटरबोट समेत सञ्चालन गरिएको छ । बाल उद्यान र मोटरबोट नेचुरल फनपार्क एण्ड रिसोटको पहिलो रोजाई हुने गरेको छ । उहाँहरूले माछापोखरीको बरिपरि एक विगाहा ८ कट्ठा जग्गामा २० प्रजातिका सीमसार युक्त वनस्पति रोपिसक्नु भएको छ । त्यसैगरी मत्स्यपालन क्षेत्रमा ६० वटा हाँस, १५० वटा स्थानीय जातका कुखुरा समेत पाल्नु भएको छ ।

    कम्पनीले मत्स्यपालनको अवलोकन गर्न आउने पाहुनालाई ईच्छा अनुसार माछा झिकी ,पकाएर खान दिने,किन्न दिने र आवासका लागि होटलको समेत व्यवस्थापन गरिएको सञ्चालक गौतमले बताउनुभयो । हाल पाँच वटा सुविधा सम्पन्न वातानुकुलित कोठा तयार भइसकेका छन् भने सभा हल लगायतका केही पूर्वाधार धमाधम निर्माण भइरहेका छन् । नेचुरल फन पार्कका रुपमा विकसित भइरहेको मत्स्य पर्यटन क्षेत्रमा हाल दैनिक ५० देखि ७० जना सम्म स्थानीय पाहुना आइरहेका छन् । ग्राहकको रोजाईका माछा झिकेर ग्राहककै माग अनुसारको स्वादमा खान दिने ब्यवस्था मिलाइएको सञ्चालक गौतम र न्यौपानेले बताउनु भयो ।

    चालु वर्ष उहाँहरूले ६० लाख रुपियाँको माछा बिक्री गर्ने लक्ष्य राख्नु भएको छ । गत साउन यता उहाँहरूले ४३ लाख रुपियाँको माछा बिक्री गरिसक्नु भएको छ । बजारमा माछाको माग उच्च छ , तर माग अनुसार आपूर्ति गर्न सकेका छैनौं । उहाँहरूले भन्नुभयो – आफ्नो जग्गा छैन् । लिजमा पनि जग्गा पाइँदैन । जग्गा पाइए माछापालन अझ बिस्तार गर्ने योजना रहेको उहाँहरूको भनाई छ ।
    उर्लाबारी – ८ मा पूर्व सभासद पर्तमान धिमालदेखि वडाध्यक्ष कुलबहादुर कार्की सम्मले अहिले माछापालन सुरु गर्नु भएको छ ।

    बक्राहा खोला किनारको झण्डै २० बिगाहा जमीन अहिले माछापालन भइरहेको छ । माछापालनबाट राम्रो आम्दानी हुन थालेपछि त्यस क्षेत्रका किसानहरू धान खेत मास्दै पोखरी खन्न थालेको स्थानीयको भनाई छ । माछापालक डिल्लीराम न्यौपानेका अनुसार उर्लाबारी–८ का वडाध्यक्ष कुलबहादुर कार्कीले चार विगाहामा, संविधान सभा सदस्य पर्तमान धिमालले चार विगाहामा, नबीन खड्काले दुई विगाहामा, सोमबहादुर कार्कीले १५ कट्ठामा सन्तोष तामाङले छ कट्ठामा माछापालन गर्नु भएको छ ।

    भारतबाट आउने माछालाई पूर्ण रपमा विस्थापित गर्ने उदेश्यले माछापालन गरिरहनु भएका न्यौपानेले भन्नुभयो–अझै पनि भारतीय माछा भित्रिने क्रम रोकिएको छैन् । नेपाली उत्पादन भन्दा भारतीय उत्पादन सस्तो हुने गरेकोले ग्राहकहरू भारतीय उत्पादन प्रति आकर्षित भएको माछापालक किसानको भनाई छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…