• कोरोना संक्रमितको संख्या दिनदिनै बढीरहेको छ । अस्पताल जान जोखिम मान्ने र अस्पतालमा शय्या नपाउने सम्भावना पनि उत्तिकै छ।


    छरछिमेक घर परिवारको चासो राख्ने धेरै भएपनि संक्रमणको जोखिम लिएर काम गर्न निशेधाज्ञा र अन्य सिमितताका कारण कसैलाई पनि सहज छैन। यस परिस्थितिमा कतिपय मानिसले होम आइसोलेसनमा बस्न रुचाएको पनि देखिन्छ। धेरैले यसरी आफूलाई ठिक भएको अनुभव समेत सार्वजनिक गरेका छन् । तर सबैलाई त्यत्तिकै ठिक हुन्छ भन्न सकिदैन।
    होम आइसोलेसनमा बस्दा के गर्ने के नगर्ने भन्ने बारेमा जनस्वास्थ्यविद् डाक्टर रविन्द्र पाण्डेले अगाडि सार्नु भएका सोह्र उपाय-  


    १.​थर्मामिटरबाट शरीरको तापक्रम नापिरहनु होला। ९८-९९ डिग्री फरेनहाइटसम्म व्यक्तिअनुसार नर्मल तापक्रम हो। १०० डिग्री पुग्यो भने पारासिटामोल खानुहोला। शरीर दुखेमा / टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ।
    २. पल्सअक्सिमिटर (शरीरमा अक्सिजनको मात्रा नाप्ने मेशिन)  बाट अक्सिजनको स्तर नापिरहनु होला। यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला। यसलाई प्रोन पोजिसन भनिन्छ। पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठो नजिक एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला। यसले फोक्सोको क्षमता बढाउँछ। यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ।
    ३. भिटामिन 'सी' २ पटक, जिंक २ पटक, भिटामिन 'डी' हप्ताको १ पटक खानुहोला। आवश्यकता अनुसार पारासिटामोल, कफ सिरप / ट्याब्लेट खान सकिन्छ।
    ४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहे वा खोकी लागिरहे, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नु होला। यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ। तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसँग जाँच गराउनुहोला। छातीको एक्सरे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि ( एन्टिभाइरल/एन्टिबायोटिक ) खानुपर्ने हुन्छ। कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ।
    ५. जाँच नगरी घरमा अक्सिजन लिएर नबस्नु होला। अक्सिजनले रोग निको गर्दैन। चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ। अक्सिजन उपचार हैन। धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ।
    ६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ। तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला। अस्पताल प्याक भएपनि त्यहाँ तपाइँले कुनै न कुनै उपचार पाउनुहुन्छ।
    ७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एवम् स्वास्थ्य नष्ट नगर्नुहोला। प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन। यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ।
    ८. मरिच, बेसार,अदुवा, ज्वानो, दालचीनी, तुलसी, गुर्जो, जेठीमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला।
    ९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला। यसपटकको प्रजाति निकै संक्रामक छ।
    १०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला।
    ११. पानीको बाफ लिँदा आराम हुन्छ।
    १२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ /कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला।
    १३. हल्का व्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला।
    १४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एवम् सबल राख्नुहोला। नआत्तिनु होला।
    १५. दिनमा १ /२ पटक मात्र समाचार हेर्नुहोला। सामाजिक संजाल नहेर्नु होला। अनधिकृत समाचारले तनाव बढाउँछ।
    १६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला। त्यस्तै गाह्रो भएमा कोभिड हटलाइन ११३३,९८५१२५५४३८ र ९८५१२५५८३७ मा फोन गरेर उपचारको जानकारी लिनुहोला।
    (डा.पाण्डेको फेसबु्क पेजबाट साभार)

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …