झापा : भारतको दुईवटा राज्य पश्चिम बंगाल र बिहारसँग सीमा जोडिएको झापामा आइतबार राति १२ बजेदेखि निषेधाज्ञा लागु भएको छ।
दोस्रो लहरको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा समुदायमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले एक साता अर्थात् वैशाख २६ गते आइतबार राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो।
निषेधाज्ञा उल्लंघन र आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रमण रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानुनबमोजिम सजाय हुने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए।
निषेधाज्ञामा सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, सामाजिक दूरी, स्वास्थ्य मापदण्ड पालना गर्न, नियमित रुपमा साबुन पानीले हात धुन, अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न, कुनै पनि भेला, जुलुस, सभा सम्मेलन, छलफल गोष्ठी नगर्न, हाट बजार, मेला, जात्रा‚ महोत्सव‚ भोज लगायतको भिडभाड हुने कार्य नगर्न नगराउन, अत्यावश्यकबाहेक १० वर्षभन्दा मुनि तथा ६० वर्षभन्दा माथिको उमेरका व्यक्ति तथा दीर्घरोगीले कुनै पनि काममा घरबाहिर नजान प्रशासनले आह्वान गरेको छ।