• काठमाडौं।  युईएफए च्याम्पियन्स लिग अन्तर्गत गए राती भएको दोस्रो लेगको सेमी फाइनल खेलमा चेल्सीले रियल मड्रिडलाई घरेलु मैदान स्टामफर्ड ब्रिजमा २-० गोलले पराजित गरेको छ। चेल्सी -ले १३ पटक च्याम्पियन्स लिग विजेता रियललाई दुई लेगको खेल गरेर समग्रमा ३-१ गोलले पराजित गरेको हो।

    खेलको अधिकांश समय रियलले बल पोसेसनमा हैकम जमाए पनि गोल भने चेल्सीको नाममा गयो।

    पहिलो हाफको २६औं मिनेटमा रियलका स्ट्राइकर करिम बेन्जिमाको उत्कृष्ट प्रहारलाई चेल्सीका गोलरक्षक एडवर्ड मेण्डीले रोकिदिएका थिए। त्यसको दोस्रो मिनेटमै चेल्सीले अग्रता लियो।

    २८औं मिनेटमा चेल्सीका मिडफिल्डर कान्टे र फरवार्ड हाभर्जले सुन्दर ‘वान-टू’ खेल्दै रियलको रक्षापंक्तिलाई बिट गरे। हाभर्जले प्रहार गरेको शट रिबाउन्डमा आउँदा अर्का फरवार्ड टिमो वर्नरले चेल्सीको अग्रता सुनिश्चित गरे।

    पहिलो हाफ घरेलु टोलीको पक्षमा गएपछि दोस्रो हाफमा रियलले खेलमा फर्किन धेरै प्रयास गर्यो। पूर्व चेल्सी स्टार हजार्डले पनि बेन्जिमासँग मिलेर धेरै मौका सिर्जना गरे। तर कहानी पहिलो हाफकै दोहोरियो।

    खेलको ८५औं मिनेटमा चेल्सीले अग्रता दोब्बर बनायो। चेल्सीको गोलको फेरि मुख्य पात्र बने कान्टे। रियलका डिफेन्डर नाचोबाट बल खोसेर कान्टले पुलोसिचका लागि सुन्दर बल फीड गरे। चेल्सीका पहिलो लेगको गोलकर्ता पुलिसीचले उत्कृष्ट फुट्वर्क देखाउँदै बक्सभित्र प्रदान गरेका कट्ब्याकलाई मेसन माउन्टले स्लाइड गरेर गोल गर्दा चेल्सीको अग्रता दोब्बर भयो।

    खेलमा अरु कुनै गोल हुन सकेन र चेल्सीले च्याम्पियन्स लिगको फाइनलमा स्थान पक्का गर्यो। इस्तानबुलको ‘आतातुर्क’ स्टेडियममा ‘मे ३०’ तारीखमा खेलिने फाइनल खेलको लागि पहिलो सेमी फाइनलबाट म्यानचेष्टर सिटी पुगिसकेको छ।

    आफ्नो पहिलो च्याम्पियन्स लिग फाइनल खेल्न गइरहेको म्यानचेष्टर सिटीले सन् २०१२ को च्याम्पियन्स लिग विजेता चेल्सीसँग प्रतिस्पर्धा गर्ने भएको छ। सन् २०१९ को च्याम्पियन्स लिगमा पनि दुवै इंग्लिश क्लब फाइनल पुगेका थिए। सो फाइनल खेल लिभरपुलले जितेको थियो।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…