दोलखाको ऐतिहासिक भिमसेन मन्दिरको शिलामा शनिवार दिउँसो पसिना आएको छ । आज दिउँसो १२ बजेर १५ मिनेट जाँदा भिमसेनको शिलामा पसिना आएको पुजारी कोशीनारायण श्रेष्ठले जानकारी दिए ।
पुजारी श्रेष्ठका अनुसार सुरुमा शिलाको शिरको दाहिने भागबाट पसिना आएको र केहिबेरपछि शिलाको बीच भागबाट पसिना आएको हो । दाहिने भागबाट पसिना आउँदा प्रजा अर्थात जनतालाई र देब्रे भागबाट पसिना आउँदा राजा अर्थात राज्य संचालन गर्नेलाई अनिष्ट हुने किम्बदन्ती रहेको छ । शिलामा पसिना आएपछि अनिष्टको संकेत भन्दै पुजारी, मन्दिर व्यवस्थापन तथा गुठियारहरुले क्षमापूजा गरिरहेका छन् ।
यस अघि मंसिर १४ गते पनि भीमेश्वरको शिलामा पसिना आएको थियो । भीमेश्वर मन्दिरको शिलामा पसिना आएपछि राष्ट्रपति कार्यालयबाट कालो बोकाको बलि सहित क्षमा पूजा गर्ने प्रचलन छ । पुजाको प्रसाद राष्ट्रपति कार्यालय पुर्याईने गरेको छ ।
राजा वीरेन्द्रको वंशनाश हुनुअघि र २०६२÷०६३ को जनआन्दोलन सुरु हुनुभन्दा महिना दिनअघि पनि शिलामा पसिना आएको थियो । देशमा आईपर्ने हरेक विपत्तिपूर्व भिमसेनको शिलामा पसिना आउने विश्वास रही आएको छ ।