• काठमाडौं, २५ वैशाख । सत्ता राजनीति यस्तो मोडमा आइपुगेको छ कि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको भविष्य पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको हातमा पुगेको छ । नेपालले लिने कुनैपनि रणनीतिले ओलीको सत्ता मात्र नभई राजनीतिक भविष्य पनि निर्धारण गर्न सक्छ ।


    ओलीलाई विश्वासको मत लिन नदिन र लिन नदिएको अवस्थामा पनि सबैभन्दा ठूलो दलको नेताको हैसियतले प्रधानमन्त्री बन्न नदिन काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत भइसकेका छन् । जसपा नेता उपेन्द्र यादव पनि देउवा र प्रचण्डकै पक्षमा छन् । तर, जसपाको महन्थ ठाकुर पक्षधर ओलीसँग मिलेर जाने पक्षमा देखिएका छन् ।

    ओलीलाई सत्तामा रहनबाट विफल बनाउने बल अब माधवकुमार नेपालसँग मात्र देखिएको छ । त्यसका लागि उनले आफू पक्षधर प्रत्यक्ष निर्वाचित सांसदहरुलाई राजीनामा गर्न लगाउन सक्नुपर्छ । देउवाको चाहना पनि त्यही हो ।


    नेपाल समूहका १५ देखि २१ सांसदले राजीनामा दिएमा काँग्रेस, माओवादी केन्द्र र जसपाको एउटा पक्ष मिलेर प्रतिनिधि सभामा बहुमत संख्या पुर्याउन सक्छन् । त्यतिबेला संविधानको धारा ७६ २ बमोजिम काँग्रेस, माओवादी र जसपाको यादव समूह मिलेर बहुमतको सरकार बन्न सक्छ । त्योबाहेकमा बहुमत पुग्न जसपाका सबै ३२ सांसदको मत यतायता नभई काँग्रेस र माओवादीसहितको गठबन्धनमा पर्नुपर्छ ।

    ओलीले निर्णायक शक्ति माधव नेपाल भएको बुझेरै उनलाई फकाउन पहल गरिरहेका छन् । नेपाल समूहका प्रभावशाली नेताहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्ट र घनश्याम भुसाललाई बालुवाटारमा डाकेर छलफल गरेका छन् । नेपाल समूहलाई विद्रोहबाट रोक्न अनेकन उपाय अपनाइरहेका छन् ।

    २१ प्रत्यक्ष निर्वाचित एमाले सांसदको हस्ताक्षरसहित राजीनामाको पत्र तयार गरेर बसेका माधव नेपालले के गर्लान् ? यो चासोको विषय बनेको छ । नेपालले ओली २ जेठ २०७५ को अवस्थामा एमालेलाई ल्याउन तयार भएमा सहमति बन्ने अन्यथा नबन्ने अडान लिएका छन् । यही बटमलाइनमा कुरा चलिरहेको छ । यसमा कुरा नमिले माधव नेपाल ओली सरकार ढाल्ने गरी कठोर निर्णयमा पुग्नसक्छन् ।

सम्वन्धित समाचार

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर—१० मा स्थापित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १५ धौं वार्षिक स…