• सिरियामा देखिएको विविध पक्षको सैनिक शक्ति संघर्षले मानव जातिकै खराब मानवीय संकटलाई देखाएको छ । युद्धभन्दा अगाडिको जनसंख्यालाई हालको सँग तुलना गर्ने हो भने आधाभन्दा बढी सिरियन नागरिक या त मारिए या देश छाड्न बाध्य बनाइएका छन् ।

    युद्धबाट प्रभावित भएका परिवारहरूले नजिकको देशमा शरणार्थी बनेर बाँच्ने साहारा खोजिरहेका छन् । संयुक्त राष्ट्रसंघको पछिल्लो रिपोर्ट हेर्ने हो भने सिरियामा तत्काल राहतका लागि लगभग ५ बिलियन डलर आवश्यक पर्छ । तर राहत र उद्दारको कामलाई थाति राखेर अमेरिका र रसिया अनि सिरियाभित्रकै धेरै लडाकु समूहहरू एकआपसमा लडिरहेका छन् ।

    कहिलेबाट शुरु भयो संकट ?

    २०११ मार्चमा सरकारविरुद्ध अहिंसात्मक प्रदर्शन शुरु भएको थियो, तर सरकारी असहिष्णुताले त्यो प्रदर्शनलाई छिट्टै हिंसात्मक बनाइदियो । सरकारले गरेको सैन्य हस्तक्षेपले त्यतिबेलै धेरै जनता मारिएका थिए । त्यसपछि सिरियामा हतियारधारी समूहहरूले उक्त संकटको फाइदा उठाउँदै युद्ध शुरु गरे ।

    जुलाईसम्ममा सिरियाको राष्ट्रिय सेनाबाट विद्रोह गरेर गएकाहरूले ‘फ्री सिरियन आर्मी’ गठन गरेसंगै धेरै सिरियन जनताको हातहातमा हतियारहरू पुग्न थाले । उनीहरूले सरकारविरुद्ध हिंसात्मक गतिविधि शुरु गरेसंगै सिरियामा आमहत्याको श्रृंखला शुरु भएको थियो । उनीहरू बीचमा पनि धार्मिक समूह र गैरधार्मिक समूह छुट्टियो । त्यसपछि त्यहाँको संकटमा बाह्य शक्तिको आगमन भयो ।

    लडाकु समूहहरू यति धेरै भए कि कुन समूह कोसँग लड्दैछ भन्ने कुरा बुझ्न गाह्रो भइसकेको छ ।

    को-को सामेल छन् युद्धमा ?

    सिरिया सरकारको तर्फबाट सिरियामा ‘सिरियन आर्म्ड फोर्स’, ‘सिरियन अरब आर्मी’, र ‘रिपब्लिकन गार्ड’को सहभागिता छ । राष्ट्रपति बसर अल असादले आफ्नो सम्पूर्ण शक्ति विद्रोहीलाई ध्वंस पार्नमा लगाइरहेका छन् । उनलाई बाहिरबाट रसिया, इरान, चीन, इराक र उत्तर कोरियाले सहयोग गरिरहेका छन् । केही समय पहिला उनले रसायनिक हतियार प्रयोग गरेको भनेर अमेरिकाले दोष लगाएको थियो, तर त्यो पुष्टि हुन सकेको छैन ।

    विद्रोही पक्षबाट ‘सिरियन नेशनल आर्मी’, ‘सिरियन लिबरेसन फ्रन्ट’, ‘आर्मी अफ इस्लाम’, ‘इस्लामिक युनियन अफ द सोल्जर्स अफ लिभेन्ट’, ‘फ्री सिरियन पुलिस’ (जुन सरकारी पुलिस फोर्सबाट विद्रोह गरेर आएका थिए) जस्ता हतियारधारीहरूको समूह रहेको छ । यिनीहरूलाई प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्ने बाहिरी देशहरूमा अमेरिका, कतार, साउदी अरेबिया, टर्की, इजरायल, अमेरिकन खुफिया एजेन्सी ‘सीआईए’, फ्रान्स र लिबिया रहेका छन् ।

    सिरियन लोकतान्त्रिक शक्तिको तर्फबाट ‘पिपल्स प्रोटेक्सन युनिट’, ‘वाईपीजी इन्टरनेसनल बटालियन’, ‘एन्टी टेरर युनिट्स’, ‘कुर्दिश फ्रन्ट’, ‘सिभिलियन डिफेन्स युनिट’ जस्ता हतियारधारी समूहहरूको सहभागिता रहेको छ । यिनिहरूलाई हतियार र रासनपानी सहयोग गर्नेमा इराकी कुर्दिशहरू, फ्रान्स, अमेरिका, रसिया, सिरिया सरकार पनि र चेक गणतन्त्र रहेका छन् ।

    यीमध्ये रसियाले सरकारलाई समर्थन गर्दै आइएसआईएलको विरुद्धमा युद्ध जारी राखेको छ भने अमेरिकाले सरकार र आइएसआईएलको विरुद्धमा लडाइँ जारी राखेको छ । आइएसआईएल भनेको ‘इस्लामिक स्टेट अफ इराक एन्ड द लिभेन्ट’ भन्ने समूह हो, जुन प्रत्यक्ष रुपमा तालिवानसंग जोडिएको छ । संसारभरका इस्लामिक आतंकीहरूलाई आइएसआईएलले प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने गर्दछ ।

    स्वार्थको भारी बोकेका अन्तर्राष्ट्रिय शक्तिकेन्द्रका अगाडि सिरियन नागरिकहरू बुख्याँचाजस्तै बनेर एकले अर्कालाई तर्साइरहेका छन् र मारिरहेका छन् । त्यहाँ लडाकु समूहहरू यति धेरै भए कि कुन समूह कोसँग लड्दैछ भन्ने कुरा बुझ्न गाह्रो भइसकेको छ । इरान, रसिया, अमेरिका र अरब देशहरूको भूमिका मुख्यरूपमा सरकार पक्ष र विपक्षमा केन्द्रित छन्, तर आन्तरिक लडाकु समूहहरूले पनि छुट्टै सहयोग प्राप्त गर्दै आइरहेका छन् ।

    सामाजिक सञ्जालमा फैलिएको सिरियाको नरसंहार के हो ? 

    केहीदिन अघिमात्र बसर अल असाद पक्षीय सिरियाली सेना र त्यसका अन्तर्राष्ट्रिय सहयोगीहरूले विद्रोहीहरू बसिरहेको शंकास्पद ठाउँ भनेर पूर्वी गोउतामा हवाई आक्रमण गरे । तत्कालै मर्नेहरूको संख्या ६०० भन्दा बढी नाघ्यो । त्यसमा एक तिहाइभन्दा बढी बालबालिकाहरू थिए ।

    युएनले सरकारलाई युद्धविराम गर्न दबाब दिइरहेको अवस्थामा यसप्रकारको हमला सरकार पक्षबाट हुनुले सिधा-सिधा अन्तर्राष्ट्रिय ध्यान खिच्यो । सामाजिक सञ्जालमा उक्त बमबारीबाट सृजित अत्यन्तै गैरमानवीय र संवेदनाहीन समाचार र फोटाहरू सेयर हुन थाले ।

    के सिरियासंकट अन्त्य हुन सम्भव छ ? 

    संसारभरका विभिन्न विश्लेषकहरूले सिरियाको संकट अन्त्य गर्न आफ्ना आफ्ना धारणाहरू सार्वजनिक गर्ने गरेका छन् । संकटका लागि दोषीहरूले आफ्नो आफ्नो स्वार्थलाई बिर्सेर मानवीय नाताले आमनरसंहारका कामहरू गर्न छोड्ने हो भने र रसिया र अमेरिकाको बीचमा सिरियामा हतियार आपूर्ति नगर्ने सहमति हुने हो भने सिरियाको संकट समाधान गर्न सम्भव छ ।

    त्यसो त बसर अल असादले सत्ता छाड्नेवित्तीकै पनि उक्त संकटको समाधान हुनसक्छ, तर त्यहाँको सरकारभन्दा पनि विभिन्न हतियारधारी समूहहरूले आफ्ना अनुकूलका स्थानहरूलाई कब्जा गर्न सक्ने भएकाले र नयाँ आतंकी समूहहरू स्थापना गर्नसक्ने भएकोले अन्तर्राष्ट्रिय सहमति र आन्तरिक सहमतितर्फ युएनले जोडबल गर्नुपर्छ ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…