• सुदूरपश्चिम प्रदेशसभा, नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतकमा लालबहादुर खड्कालाई नियुक्त गर्नुभएको छ ।

    पार्टीमा उत्पन्न आन्तरिक किचलोका बीच संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शाहले संसदीय दलको विधान, २०७७ बमोजिम आज प्रमुख सचेतक र सचेतक नियुक्त गर्नुभएको हो ।

    संसदीय दलको सचेतकमा दुर्गाकुमारी कामीलाई नियुक्त गरिएको छ । यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा तारा लामा तामाङ हुनुहुन्थ्यो ।

    साबिकमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) हुँदा उक्त दलको सचेतकमा तत्कालीन नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावल हुनुहुन्थ्यो ।

    प्रमुख सचेतकको जिम्मेवारीबाट बाहिरिनुभएका तामाङ मन्त्री बन्न लाग्नुभएको एमाले संसदीय दलको स्रोतले बताएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले आजभोलि नै मन्त्रिमण्डल पुनर्गठन गर्न लाग्नुभएको बताइएको छ ।

    नेकपा एमालेको केही दिनअघि बसेको स्थायी समिति बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

    स्थायी कमिटीको निर्देशन विपरीत सुदूरपश्चिम प्रदेश, एमाले संसदीय दलको बैठकले अहिले कोरोना महामारीको विषम परिस्थिति रहेको र छिट्टै बजेट नीति कार्यक्रम ल्याउनु पर्ने भएको अवस्थामा हाललाई गठबन्धनको सरकारलाईनै यथावत् राखेर समर्थन फिर्ता नलिने निर्णय गरेको थियो । सो पार्टीको संसदीय दलमा नेता माधवकुमार नेपाल पक्षको बहुमत रहेको छ ।

    मन्त्रीद्वारा स्पष्टीकरण प्रदेश सरकारका सामाजिक विकासमन्त्री एवं नेकपा एमालेका स्थानीय नेता कृष्णराज सुवेदीले पार्टीको प्रदेश कमिटीबाट सोधिएको स्पष्टीकरणको जवाफ दिनुभएको छ ।

    जवाफमा मन्त्री सुवेदीले विसं २०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट पुनरजीवित नेकपा एमालेको तत्कालीन पदीय हैसियतभन्दा भिन्न सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष र

    सचिवका रूपमा हस्ताक्षरित पत्र आफूलाई प्राप्त भएकामा अन्योल सिर्जना भएको बताउनुभएको छ । उहाँले स्पष्टीकरण तथ्यहीन कुरामा आधारित रहेको जिकिर गर्नुभएको छ ।

    प्रदेश सभामा नेकपा एमालेका सभामुखसहित २५, नेकपा माओवादी केन्द्रका उपसभामुखसहित १३, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई जना सदस्यको प्रतिनिधित्व रहेको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…