• हरियाली सामुदायिक वनमा निर्माणाधिन पर्यटकीय क्षेत्रको नक्सा

    शिरबन्दी सिउरिएर, सद्भावमा निहुरिएर
    सुन्दरतामा चम्किएर, प्रगतिमा लम्किएर
    सवको माया प्रेमको मन्दिर, यो हाम्रो पथरीशनिश्चरे
    हाम्रो प्यारो पथरीशनिश्चरे.....

    नगरपालिकाको यो नगर गीतले भने जस्तै संघीय गणतन्त्त स्थापनापछि पथरी शनिश्चरे एकपछि अर्को प्रगतिको पथमा लम्किरहेको छ । 

    हुन त नेपाल जस्तो विकासोन्मुख देशहरुमा जती नै भौतिक संरचनाको निर्माण भएपनि कमै हुन्छ । अभावसँग जुधिरहेको १ नम्बर प्रदेशको मोरङ पथरीशनिश्चरे छोटो अवधिमा भरिपूर्ण हुने कुरै भएन । 

    शिक्षा, स्वास्थ्य, बेरोजगार, सुकुम्बासी, खोला बाढीको कटान, आर्थिक अभाव र पीडाको बीचमा पनि समग्र विकासले रफ्तार अगाडि बढाइरहेको छ । र, नयाँ संभावनाको ठूला ठूला शिखरहरु तय गर्दै पथरीशनिश्चरे मुस्कुराउने प्रयास गरिरहेको छ । 

    केन्द्रीय राजनीतिक परिस्थिति (सरकार र विभिन्न पार्टीवीचको बिग्रदो सम्बन्ध) र कतिपय स्थानीय तहमा हुने एका, दुई घटनाका कारण तीनै तहमा केही भएन वा हुन सकेन भन्नेहरु पनि कम छैनन् । यद्यपि अघिल्लो ब्यबस्था भन्दा नेपालमा संघीय गणतन्त्र स्थापना भएपछिको तुलना गर्ने हो भने निक्कै ठूलो भिन्नता पाइन्छ । 

    फेरि कुरा गरांै पथरी शनिश्चरे नगरपालिकै । वि.सं. २०७१ साल वैशाख २५ मा तात्कालीन पथरी, शनिश्चरे र २०७३ फागुन २७ गते हसन्दह गरि तीन वटा गाविसलाई मिलाइ १० वडामा विभाजित गरेर पथरी शनिश्चरे नगरपालिका गठन भएको हो । 

    नगर क्षेत्रमा वि.सं १९७० बाट मानिसहरुको वसोवास शुरु भएको पाइन्छ । यतिबेला ८० हजार ६०५ जनाभन्दा बढीको बसोबास छ । नगरले २०७४ असार १४ गते भएको स्थानीय तहको निर्वाचनबाट दिलिपकुमार राई र यमुना विष्ट (बास्तोला) अभिभावकको रुपमा प्रमुख र उपप्रमुख पाएको हो । वडा अध्यक्षहरु (क्रमशः १ देखि १० सम्म) बाबुराम एङदेन लिम्बू, यामप्रसाद गुरागाईं, डम्बरबहादुर चेम्जोङ, गोविन्दबहादुर भण्डारी, जोगबहादुर धिमाल, जयबहादुर तामाङ, कपिलमणि ढकाल, बाबुराम दाहाल, भानुभक्त राई र सागर राई कार्यरत छन् । यो वीचमा कुमारप्रसाद कोइराला, पुरुषोत्तम घिमिरे, सूर्यप्रसाद गौतम, अम्बिकाप्रसाद धमलापछि २०७८ जेठ देखि लक्ष्मीप्रसाद खरेल प्रमुख प्रशासकीय अधिकृतको रुपमा नेतृत्व गरिरहेका छन् । 

    नेपालको समग्र विकासको लागि कृषि, पर्यटन र जलविद्युत नै मुख्य क्षेत्र हो । पथरी शनिश्चरेमा जलविद्युतको संभावना न्युन मात्र रहन्छ । कृषि र पर्यटनमा भने संभावना देखिन्छ । गएको तीन बर्षमा भौतिक निर्माणको साथै कृषि, पर्यटन लगायत के के प्रयास भइरहेका छन् । यही बिषय प्रस्तुत गरिएको छ । 

    नगरमा पर्यटन क्षेत्रको विकास

    ‘वन तथा सिमसारयुक्त पर्यटकीय नगरी’ भन्ने नगरपालिकाको नारा पर्यटन प्रवद्र्धनसँग जोडिएको छ । त्यसैले पर्यटन क्षेत्रमा काम नगर्ने कुरै भएन । नगरको २ नम्बर वडामा हरियाली सामुदायिक वन छ । हरियाली वन ब्यबस्थापनमा नेपालकै उत्कृष्ठ बनेपछि पर्यटनको सम्भावना थप उच्चाईमा पुग्यो । कोरोना भाइरस फैलिनु अघि वन ब्यबस्थापन हेर्नकै लागि देशभरबाट मानिस आउन थालेका थिए । 
    त्यहाँ अहिले बृहत पर्यटकीय क्षेत्र विकासको डीपीआर तयार भएर निर्माण कार्य सुरु भएको छ । 

    हरियालीले निर्माण गर्ने ‘सिमसार तथा पर्यापर्यटन प्रबद्र्धन’ नगरपालिकाले १० प्रतिशत शेयर लगाउने लिखित प्रतिवद्धता गरेको छ । नगरले शेयर लगानी गरेमा २० करोड बढीको योजनामा बन्ने पर्यटकीय क्षेत्रबाट आउने हरेक बर्ष आम्दानीको १० प्रतिशत नगरपालिकाको खातामा जम्मा हुन्छ । यो नगरको नियमित श्रोत बन्न सक्छ । 

    वातावरणीय असरको लागि वातावरणीय प्रभाव मूल्याङ्कन÷प्रारम्भिक वातावरणीय परीक्षण गरेर ‘सिमसार तथा पर्यापर्यटन प्रबद्र्धन’ कार्ययोजना डिभिजन वन कार्यालय मोरङबाट स्वीकृतिको साथै निर्माण अनुमति दिइसकेको छ । पर्यापर्यटन सम्बन्धीको बृहत गुरु योजना अनुसार १२.२८ हेक्टर क्षेत्रमा नेपालको नक्साको बोटिङसहितको पोखरी, पूर्बमा भारतको सिलुगुडी, पश्चिममा सप्तरी सिराहासम्मको वन जंगल र उत्तरको चुरे क्षेत्रको दृश्य हेर्न सकिने भ्यु टावर, ट्रि हाउस, पानीको फोहोरा, सांस्कृतिक संग्राहलय, धिमाल जातिको संस्कृति, नेपालको संस्थापक यलम्बरको मूर्ति, बाल उद्ययान, खुल्ला व्यायम शाला, पिक्नीक स्पट, बगैचासहितको आकर्षक फुटपाथ, बैठक हल तथा पाहुना घरहरुको निर्माण हुनेछ । 

    हरियालीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट पर्यटन प्रवद्र्धनका लागि दुई करोड ७० लाख र स्थानीय तहले एक करोड ४६ लाख गरी चार करोड १६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । संघीय मन्त्रालयबाट आएको बजेटले नगरपालिका र हरियालीको योजनामा सहयोग पुगेको छ । 

    वडा नम्बर १० मा रहेको सिरीजंगा धार्मिक वनमा पर्यटकीय स्थल विकासको लागि ६४ लाखको लागतमा काम भइरहेको छ । सोही वनमा गत आर्थिक बर्षमा १ नम्बर प्रदेश सरकारबाट ५० लाखमा सामुदायिक भवन निर्माण भइसकेको छ । 

    वडा नम्बर १ मा रहेको शान्ति भूल्के सिमसार अर्को पर्यटकीय गन्तब्य हो । यहाँ निर्माण भएको पोखरीमा केही बर्ष अघिदेखि बोटिङ चलिरहेको छ । बनभोजस्थल र वालबालिका उद्ययन चलिरहेको छ । यहाँ नगरपालिकाको योजनामा प्रदेश र संघीय सरकारबाट बजेट बिनियोजन भएर निर्माण भइरहेको छ । 

    मनकामना सामुदायिक वन भित्र ट्रि हाउस निर्माण भइसकेको छ भने दुई वटा पोखरीले पर्यटकलाई तान्ने क्रम जारी छ । २ नम्बरमा चौतारी र सुन्दर सामुदायिक वन क्षेत्रभित्र पनि पोखरी निर्माण भएका छन् । १० नम्बरमा पशुपति सामुदायिक वन क्षेत्रमा पूर्वपश्चिम सडकसँग जोडिएको बाघे सिमसारका २ वटा पोखरी निर्माणका क्रममा छन् । नगरमा हालसम्म १ दर्जनको संख्यामा सिमसारयुक्त पोखरी निर्माण भएका र थप १ दर्जनको संख्यामा निर्माण हुने अवस्था छ । एउटा वन क्षेत्रबाट अर्काे वन क्षेत्रसम्म पैदलमार्ग बनाउने नगरको योजनाले मूर्त रुप लिँदा नगरमा वन तथा सिमसारयुक्त पर्यटनमा नेपालकै नवितम कार्य हुने देखिन्छ । नगर क्षेत्रका वनमा नेपालमै दुर्लभ पुड्के बँदेल पाइन्छ । 

    नगरमा बन्ने आदिबासी जनजाति संग्रहालय पर्यटन क्षेत्रको अर्को महत्वको योजना हो । निर्वाचनको बेला एमाले उमेद्वार भानुभक्त ढकालले आदिवासी जनजाति संग्राहलय बनाउने प्रतिबद्धता गरेका थिए । प्रदेश सरकारले गौरवको योजनाको रुपमा संग्रहालयलाई अघि सारेपनि नाममा भने केहि विवाद छ । प्रदेश सरकारले बर्षेनी रकम छुट्याउने गरेपनि जग्गाको स्वामित्वको कारण निर्माण कार्य भने भएको छैन ।  

    पथरी बजारको यलम्बर चौकमा नेपालको संस्थापक राजा हाङ यलम्बरको प्रतिमा निर्माणको लागि संघीय पर्यटन मन्त्रालयबाट ३० लाख रुपैयाँ विनियोजन भएको छ । नगरपालिकाको लगानीमा मनकामना सामुदायिक वन भित्र सहकारी संस्थाको प्रवद्र्धक बखानसिंह गुरुङको प्रतिमा निर्माण भएको छ । रत्न चौकमा यस अघि नै सहिद रत्नकुमार वान्तावाको प्रतिमा रहेको छ । ७ नम्बर वडा किराती चौकमा इमानसिंह चेम्जोङ, ३ नम्बरको त्रिवेणी चौकमा पहिचानवादी नेता कमल छाराहाङ र सिरिजंगा धार्मिक वन भित्र सिरिजंगाको, साकेला थानमा यलम्बर गरी नगरभर सात वटा सालिक ठडिएको छ । 

    कोरोना भाइरसको कारण लकडाउनको बेला २ नम्बर वडाको सुनझोडा पुल छेउको रोडले ‘सेल्फीरोड’को परिचय पायो । मुख्य सडकसँग जोडिएको त्यो रोड लकडाउन भर हजार भन्दा बढी टिकटक र फेसबुक लाइभ भयो । 

    नगरको वडा नम्बर १ र १० नम्बर वडामा रहेको साकेला, तमु, तामाङ गुम्बा, धिमालको ग्रामथान र हिन्दू समुदायको मन्दीर र मस्जितहरुको बिकास गर्न सके पर्यटकको गन्तब्य बढ्न सक्छ । 

    कृषि क्षेत्रको प्रयास

    पथरी शनिश्चरे नगरपालिका मासु र अण्डामा आत्मनिर्भर बनेको छ । बंगुर, कुखुरा र खसी आवश्यक पर्ने यही उत्पादन हुने गरेको छ । बंगुर भने काठमाडांै लगायतको क्षेत्रमा निर्यात हुने गरेको छ । 

    कृषि क्षेत्रको कुरा गर्दा यहाँको ८५ प्रतिशत अर्थात ९ हजार ५ सय ९८ हेक्टर कृषि योग्य जमिन रहेको तथ्याङ्क छ । नगरपालिकाको जम्मा ७९.८१ वर्ग किलो मिटर क्षेत्रफल हो । 

    नगरपालिकाले खाद्य बालि उत्पादन, माछा, मौरी तथा पशुपालन, फलफुल, तरकारीदेखि फुल खेति लगायतमा जोड दिदै आएको छ । 

    खाद्य बाली उत्पादनमा वृद्धि गर्ने उदेश्यले सहुलियत दरमा मल, विऊ वितरण गर्दै आएको छ । अर्गानिक नगर बनाउने प्रयास स्वरुप वर्षेनी १० लाख रुपैयाँमा जैविक मल खरिद गरेर कृषकलाई सहुलियत दरमा वितरण गर्दै आएको छ । नगरमा बाली विकास, बाली संरक्षण, भकारो सुधार, घाँस उत्पादन, कृषि प्रसार तथा यान्त्रिकरण कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

    यही बर्ष वडा नम्बर १० को अरुण बहुउद्धेश्यीय सहकारी संस्था मार्फत उन्नत जातको १६५ बाख्राको साथमा चार वटा वोयर बोका वितरण, बाख्रा पालन सम्बन्धी अन्य तालिमहरुसहित २६ लाख ९० हजारको कार्यक्रम हुँदैछ । बजेट मध्ये नगरले १५ लाख र संस्थाले ११ लाख ९० हजार लगाउने सम्झौता भएको छ । त्यसैगरी बंगुरको ५३ वटा पाठा खरिद गरी वितरण भएको छ । १० वटा खोर निर्माण, औषधि, तालिम लगायत १९ लाख २५ हजारको कार्यक्रम हुँदैछ । जसमध्ये पथरी शनिश्चरे बंगुरपालक कृषक समूहले नगरपालिका (परियोजना)ले १० लाख र संस्थाको ९ लाख २५ हजारको लागतका कार्यक्रम हुने भएको छ ।

    नगरपालिकामा पशु उपचार कार्यक्रम पनि छ । अहिलेसम्म मेजर, गाइनोलोजिकल, माइनर सर्जिकल गरेर ९९ हजार ४०१ वटा बिभिन्न प्रजातिको पशुको उपचार तथ्याङ्क छ । जसमध्ये चार हजार ४३९ गाई, ४५ वटा बाख्रामा कृत्रीम गर्भाधान भएको छ । पाँच हजार ५६३ मा गोबर परीक्षण भएको छ । 

    गाई, भैंसी, कुकुर र विरालो गरी एक हजार ५३६ मा रेविज खोप, २१ हजार बढी बाख्रामा पीपीआर खोप लगाइएको तथा राँगा, बंगुर, बहर गोरु, बोका, सामुदायिक कुकुरको वन्ध्याकरण भएको छ । 

    शरणार्थी सम्बन्धी उच्चायोग (यूएनएचसीआर)बाट प्राप्त एक करोड ३८ लाख ९६ हजारको लागतमा ४, ९ र १० नम्बर वडामा कृषि तथा पशुपालन परियोजना शुरु भएको छ । जसको लागि साढे ८ विगाहा जग्गा भाडामा लिएर कुखुरा, बाख्रा र बंगुर पालन र च्याउ खेतीको काम शुरु भएको छ । 

    पथरी शनिश्चरे मौरी पालक कृषक समूहले मौरी पालनको तालिम, औजार उपकरण खरिद लगायत १८ लाख ४० हजारको कार्यक्रम गर्दै आएको छ । परियोजनाको १० लाख र संस्थाको ८ लाख ४० हजार रुपैयाँ व्यहोरेर कार्यक्रम भइरहेको छ । 

    वडा नम्बर १ मा प्रदेश सरकार र नगरको साझेदारीमा ६० लाखको लागतमा कोशेली घर निर्माण गर्ने योजना रहेको छ । १३ वटा सटर रहेने कृषि टहरामा नगरमा उत्पादन भएको कृषि फलफुल तथा तरकारी राखिने योजना रहेको छ । पथरीमा यस अघि राँगा, सुँगुर र खसी काट्ने स्थल ब्यबस्थित थिएन । १ नम्बर प्रदेश सरकारबाट ५० र नगरको १७ लाख गरी ६७ लाखमा बधस्थल निर्माण भएको छ । 

    कृषिलाई थप ब्यबस्थित गर्ने उदेश्यले ४ नम्बरमा रहेको भागिरथ माविको कक्षा ११ र १२ मा बाली विज्ञान विषय अध्यापन सुरु भएको छ । भवन निर्माणको लागि संघीय शिक्षा मन्त्रालयबाट ३६ लाख रुपैयाँको लागतमा निर्माण भइसकेको छ । 

    शैक्षिक स्थिति

    शिक्षित नागरिकले मात्र समाज वा देशलाई सम्पन्न र समृद्धशाली बनाउन सक्छ । शिक्षा विकासको लागि अपरिहार्य हुन आउछ । शिक्षा नै सबैभन्दा ठूलो धन पनि हो । त्यसैले हरेक स्थानीय तहको सरकारले नागरिकलाई शिक्षित बनाउनु पालिकाहरुको कर्तब्य हो । 

    पथरीशनिश्चरे नगरपालिकाको घरधूरी सर्वेक्षण–२०७५ अनुसार नगरपालिकामा ८१.६४ प्रतिशत जनता साक्षर छन । १० वडा मध्ये १ नम्बरको साक्षरता ९०.७५ प्रतिशत रहेको छ भने सबैभन्दा कमजोर ५ नम्बर वडा रहेको छ । त्यहाँ ७३.३६ प्रतिशत साक्षर रहेको देखिन्छ । यद्यपि सवै वडाको साक्षरता प्रतिशत ७० भन्दा माथि छ । जातजातिगत हिसाबले व्राम्हण र क्षत्री ८३.०९ र मुश्लिम समुदाय ६५.८१ प्रतिशत साक्षर देखिन्छ । 

    नगरमा एउटा संस्कृतसहित २८ वटा सामुदायिक र ३७ वटा संस्थागत (निजी) विद्यालयहरु रहेका छन् । नगरको १ नम्बर वडामा रहेको सुनाखारी माविमा किरात राई समुदायको चाम्लिङ, ४ को भागिरत मावि र  ७ नम्बरको चन्द्रकिरातेश्वर माबिमा लिम्बू र २ नम्बरको विश्वनाथ संस्कृत विद्यालयमा मात्र संस्कृत भाषाको पठन पाठन भइरहेको छ ।  

    स्थानीय सरकार गठन भएपछि नगरमा शैक्षिक क्रियाकलापको लागि संरचना बन्ने क्रम जारी छ । वडा नम्बर १ मा रहेको पञ्चायत माविमा ८ करोड बजेटमा अपाङ्गता  भएका विद्यार्थीहरुका लागि आवाससहितको भवन निर्माणको क्रममा छ । बजेट संघीय सरकारको तर्फबाट बिनियोजन भएको हो । सो विद्यालयको कक्षा ११ र १२ मा ललितकला विषयको पठनपाठन सुरु भएको छ । यो स्तरको अध्यापन प्रदेशमै पहिलो भएको दावी छ । नगरपालिकाले प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीहरुलाई उर्लाबारीको मदन भण्डारी प्राविधिक शिक्षालयमा वर्षेनी ५ लाख रुपैयाँ जम्मा गरेर शैक्षिक ऋणको पनि व्यबस्था गर्दै आएको छ । 

    नगरको ८ नम्बर वडामा पर्ने बुद्ध माविको भवन निर्माणको लागि चार करोड बिनियोजन भएर काम भइरहेको छ । यो बजेट पनि संघीय सरकारको हो । संघीय सांसद भानुभक्त ढकालको सांसद विकास कोषबाट ६५ लाखको लागतमा नगरको एक मात्र पथरी बहुमुखी क्याम्पस भवनमा ट्रसले माथिल्लो तला थप्ने कार्य भएको छ । 

    वडा नम्बर १ को सुनाखरी मावि, ३ को जनता, ४ को भागिरथ, ७ को दुर्गा र ९ को सिंहवाहिनी मावि नवीन प्रविधिक तालिमको लागि कोठा निर्माण हुँदैछ । यो बजेट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत प्राप्त भएको हो ।


    नगरको स्वास्थ्य अवस्था

    यहाँ ७० बर्ष माथिका बृधबृद्धा र पूर्ण अशक्त बिरामीहरुका लागि प्रदेशभरको अस्पतालहरुमा लान निशुल्क एम्बुलेन्सको नगरले ब्यबस्था गरेको छ । मृगौला, क्यान्सर, मुटु, बोनम्यारो, स्पाइनलकड इन्जुरी, अल्जाइमर, पार्किन्सन्स जस्ता रोगहरु लागेर उपचाररत बिरामीहरुलाई सहयोग स्वरुप उनीहरुको जीवनमा एकपटक १५ हजार खर्च दिदै आएको छ । 

    नगरबासीको सहज स्वास्थ्य उपचारको लागि नगरपालिकाले स्वास्थ्य क्षेत्रको सुधारमा लागिरहेको छ । सोही योजना अनुसार १८ करोड ६८ लाख दुई हजार रुपैयाँको बजेटमा १५ शैथ्याको पथरी शनिश्चरे नगर अस्पताल निर्माण भएको छ । बजेट संघीय सरकारको हो । शरणार्थी सम्बन्धी राष्ट्र संघीय उच्चायोग (युएनएचसीआर) को सहयोगमा ८० लाखको बजेटमा त्यहाँ अर्काे भवन पनि निर्माण सम्पन्न भयो ।

    नगरमा शनिश्चरेमा नयाँ स्वास्थचौकी भवन वनेको छ ।  हसन्दहमा पुरानै स्वास्थ्य चौकी भवन छ ।  नगरको ३, ६ र ७ नम्बरमा आधारभूत स्वास्थ्य केन्द्र भवन सम्पन्न भएको छ । यसको अलावा १, ४ र १० नम्बर वडामा पनि स्वास्थ्य केन्द्र बनिरहेको छ । दुई वटा स्वास्थ्य चौकी, सात वटा आधारभूत स्वास्थ्य केन्द्र, १६ वटा खोप क्लिनिक, १२ वटा गाउँघर क्लिनिक छ । यहाँ ३० जना स्वास्थ्य स्वयमसेविका रहेका छन् । पथरी बजारमा तीन वटा निजी अस्पतालहरु सञ्चालन हुँदै आएको छन् । स्वास्थ्य विमा कार्यक्रम चलिरहेको छ । 

    भौतिक संरचना र सडक निर्माण

    सडक, पुल, खानेपानी, विद्युत विस्तार जस्ता भौतिक संरचना निर्माणलाई नै विकास भएको भन्ने चलन छ । विकासको परिभाषा ब्यापक भएपनि विकासोन्मुख मुलुकहरुमा यातायातको साधन सहज हिसावले पुग्ने गरी सडक निर्माण, बिजुली वत्ति पुग्नुलाई नै विकास मान्ने चलन छ । 

    यतिलाई नै विकास मान्ने हो भने, नगरको हरेक वडा मात्र होइन, टोल, टोलमा सडक बाटो र बिजुली बत्ति पुगिसकेको छ । यद्यपि सडकको स्तर वृद्धिको काम भइरहेको छ । गणतन्त्र स्थापनापछि स्थानीय सरकार गठन भएको तीन बर्षमा नगरपालिकामा ३० किलोमिटर सडक कालोपत्रे भएको छ ।

    नगरको गौरवको योजना(बहुबर्षिय)को रुपमा दोहोलु शुक्रबारे सडक, बुद्धमार्ग र रजत जयन्ती मार्ग कालोपत्रे हुने क्रममा छ । रजतजयन्तीका लागि चालु आर्थिक वर्षमा एक करोड २५ लाख बिनियोजन भएकोमा टेण्डर लागेर काम भइरहेको छ भने दोहोलु शुक्रबारेको लागि एक करोड ७५ लाखमा ३ किलोमिटर ४ सय मिटर सडक कालोपत्रे बनेको छ । 

    बुद्ध मार्गमा पर्ने किर्तिपुरमा,  संघीय सरकारको अनुदान र नगर गरी तीन करोड ५९ लाख ६५ हजार २४२ रुपैयाँको ठेक्कामा टेण्डर लागेर दुई किलोमिटर ७ सय मिटर अक्सपाल्ड प्रविधिको कालोपत्रे भएको छ ।

    नगरपालिका १० नम्बर वडा स्थित भुटानी शरणार्थी शिविर पूर्वपश्चिम मुख्य सडकबाट सुनवर्षी हुँदै रंगेली सडकमा जोडिने मनमोहन गान्धी मार्ग निर्माण कार्य भइरहेको छ । संघीय सरकारमार्फत एक अर्ब ९४ करोड ९४ लाखमा ठेक्का लागेर ड्रेनको काम भइरहेको छ ।  ६० फिट चौडाइको सडक नगरकै ठूलो योजना हो । 

    एक पालिका एक योजना अन्तर्गत प्रदेश सरकारबाट आएको योजना ४, ८, ९ नम्बर वडा हुँदै स्तरोन्नती र ड्रेन निर्माणको काम भइरहेको छ । 

    नगरपालिकाको पूर्वमा बक्राहा र पश्चिममा डाँस र मोरङ्गी खोला रहेको छ । यी दुई खोलाहरुले बर्षेनी त्यहाँका नागरिकलाई दुःख दिने गरेको छ । कटान भएर खेतवाली बगाउने, कतिपय स्थानमा सडक लगायतको भौतिक संरचना समेत भत्काउने गरेको छ । यी दुई खोलामा तटबन्ध लगाउने हरेक जसो चुनावमा प्रतिबद्धता आएपनि हुने गरेको थिएन । स्थानीय तहको सरकार बनेपछि भने यो बिषय जोडसँग उठाइएको छ । नगरपालिकाको पहलमा संघीय सरकारले चालु आर्थिक बर्षमा एक करोड २५ लाख रकम विनियोजन भइ तटवन्धका लागि सर्भे भएर काम हुने अवस्थामा पुगेको छ ।  

    नगरपालिकाको ५ नम्बर वडा बक्राहा पूर्ब र पश्चिम गरी दुई भागमा विभाजित छ । बर्षा याममा पानीको सतह बढ्दा खोला पूर्बबाट वडा र नगरको सुविधा लिन समस्या पर्दै आएको थियो । खोला बढ्दा एउटै वडा पार गर्न छिमेकी नगरपालिका उर्लाबारी घुमेर पश्चिम वा पश्चिमबाट पूर्व पुग्न करिव १२ किलोमिटर जानु पर्ने बाध्यता थियो ।

     अब त्यो समस्या हल हुने भएको छ । बक्राहामा डोलिडार प्रोजेक्ट अन्तर्गत करिब ४ करोड लागतमा सुन्दरीचोक देखि सोही वडाको मौलीवारी(खोला पूर्व) जोड्न झोलुङ्ले पुल सर्भे भएर काम अघि बढिसकेको छ । नगरसँग कानेपोखरी जोड्न डाँस खोलामा पनि पुल बनिरहेको छ । 
    नगरपालिकाको २, ३, ७ र ९ नम्बर वडाहुँदै रेलमार्ग निर्माण हुने भएको छ । नगरभित्र संघ, प्रदेश, नगरदेखि वडा वडाको योजनामा कल्भर्ट तथा पुल, सडक, डे«ेनहरु निर्माण भएका छन् । 

    सामुदायिक भवन र सपिङ सेन्टर

    विकास भनेको जनताले सहज रुपमा प्रशासनिक सेवा लिन सक्ने कार्यालय भवन, सार्वजनिक कार्यक्रम गर्ने सुविधा सम्पन्न हलहरु पनि हो । संघीय राज्य ब्यबस्था कायम गर्ने शिलशिलामा कतिपय स्थानमा प्रदेश सभा गर्ने हल नभएकोले राजधानी नभएको प्रसंगहरु पनि चले । इटहरी मै त्यस्तो प्रसंग चलेको थियो । सबैतिरको केन्द्र भएपनि त्यहाँ सार्वजनिक कार्यक्रमको हल नभएको प्रसंग चलेको थियो । 

    पथरी शनिश्चरेमा पछिल्लो समयमा सार्वजनिक कार्यक्रम गर्ने हलहरु बन्ने क्रम बढ्दो छ । हरियाली सामुदायिक वनले सुविधायुक्त हल निर्माण गरिसकेको छ । शीन भिलेज पार्टी प्यालेस र गोरखा डिपार्टमेन्ट स्टोरमा एसीसहितको हल चालु अवस्थामा रहेका छन् । पथरी उद्योग वाणिज्य संघले सुविधा सम्पन्न भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । पथरीशनिश्चरेमा साना ठूला १६ वटा सामुदायिक भवनहरु रहेको छ । 

    पथरीशनिश्चरे नगरको ९ नम्बर वडा कार्यालय भवन सम्पन्न भएको छ । २, ३, ७ र ८ नम्बर वडा कार्यालय भवन निर्माण सम्पन्न हुँदैछन् । भवन निर्माणको लागि संघीय सरकारबाट बजेट तर्जुमा भएको हो । नगर विकास कोषसँगको साझेदारीमा १ नम्बर वडामा २० करोड बराबरको ब्यापारिक भवन (सपिङ सेन्टर) डीपीआर तयार भएको छ ।  

    सुकुम्बासी, गरिवि निवारण तथा रोजगार

    पथरी शनिश्चरे नगरपालिकाको अर्को छुट्टै समस्या हो सुकुम्बासी समस्या । यो समस्या समाधान गर्न संघीय सरकारले गठन गरेको भूमि आयोग मार्फत ९ हजार ७ सय परिवारको लगत संकलन भएको छ । सफ्टवेयर अपलोड पछि नापी गरेर धनिपुर्जा हस्तातरणको काम सरासर अघि बढ्ने नगर प्रमुख दिलिपकुमार राईको भनाइ छ । 

    महिला, जनजाति, दलित

    झण्डै आधा जनसंख्या ओगटेको महिला सीप विकासको लागि बर्षेनी कार्यक्रम भइरहेको छ । महिलाहरुको सीप विकास गर्न चिनारी ढाका मार्फत कपडा उत्पादन गर्ने कार्यक्रम भइरहेको छ । २ नम्बर वडामा ढाका तान तालिम पश्चात महिलाहरु व्यवसायिक बनेका छन् । महिलाहरुकै लागि दुना टपरी कार्यक्रम सञ्चालनमा रहेको छ । वडा नम्बर १, २ र ३ मा लागू गरिएको कार्यक्रमका लागि  २५ लाख रुपैयाँ थियो । ७० प्रतिशत बढि महिला पर्नेगरी ३० जनाको दरले ९० जनाले सीप सिक्नेछन । रोजगारीको लागि हरेक बर्ष ड्राइभिड तथा होटल तालिम समेत भइरहेको छ । लक्षित बर्गको कार्यक्रम अनुसार आदिबासी जनजाति र दलित समुदाय तथा पहिलो नागरिक घोषित धिमाल समुदायले समेत सीप विकासमा जोड दिदै आएको छ ।  

    खरको छानो बिस्थापित गर्ने कार्यक्रम अनुसार नगरपालिकामा ४७१ घरलाई टिनको छानो लगाउने कार्यक्रम चलिरहेको छ । संघीय सरकारले ल्याएको उक्त कार्यक्रममा २ करोड ३५ लाखको बजेट खर्च हुने प्राविधिक प्रतिबेदनमा उल्लेख छ । 

    अपाङ्गता रोकथाम गर्ने उदेश्यले नगरपालिकामा २०७९ पुस मसान्त सम्मकालागि कार्यक्रम चलिरहेको छ । तीन बर्ष चल्ने कार्यक्रमको लागत दुई करोड ९५ लाख ३३ हजार रहेको छ । 

    कार्यक्रमको लागि प्रदेश सरकारको ७२ लाख २६ हजार ५०८, करुणा फाउण्डेशनको ६५ लाख २८३ र पथरी शनिश्चरे नगरपालिकाले ७२ लाख २६ हजार ५०८ खर्च हुनेछ । सोही कार्यक्रम अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो । अपाङ्गता सहायक सामग्री खरिदको तयारी भइरहेको नगरपालिकाको सूचना संयोजक भूपेन्द्र तिम्सिनाले जानकारी दिए । 

    न्याय सम्पादनमा पथरीशनिश्चरे अगाडि
        नगरपालिकाको न्यायिक समितिले आफूलाई न्याय सेवामा प्रदेशमै अगाडि उभ्याएको छ । न्याय समिति गठन भएपछि नगरपालिकामा एक हजार सात सय वटा उजुरी मिलापत्र भएको उपप्रमुख तथा न्याय समिति संयोजक यमुना बिष्ट बास्तोलाको भनाइ छ । यो संख्या प्रदेशमै उच्च रहेको दावी छ । नगरको १० वटै वडामा मेलमिलाप समिति गठन भएको छ । संख्यात्मक मात्र नभएर गुणात्मक हिसावले पनि नगरले न्याय सम्पादनमा अब्बल रहेको छ । 

    मिटर ब्याज सम्बन्धी परेको मुद्धामा कारबाही स्वरुप कानुन बमोजिम चल्ने ब्याजमा किस्ताबन्दी रुपमा लेनदेन गराएर मुद्धा मिलाएको संयोजक बिष्टले बताइन् । 

    ऐन निर्माणमा पथरीशनिश्चरे

    गणतन्त्र स्थापनापछि स्थानीय तहमै ऐन, नियमावली र कार्यविधि निर्माण गरेर लागू गर्ने अधिकार दिएको छ । सोही अधिकार बमोजिम स्थानीय आवश्यकतालाई ख्याल गर्दै ऐन, नियम निर्माण गरेर कार्यान्वय हुने गरेको छ । 

    प्रदेश नम्बर १ मा पर्ने यस नगरपालिकामा मिति २०७८ जेष्ठ सम्ममा ८ वटा ऐन, ४ वटा नियमावली, २४ वटा कार्यविधि र २ वटा निर्देशिका निर्माण भएर कार्यान्वयनमा रहेको छ । 

    पथरीशनिश्चरे नगरपालिका र पथरी उद्योग वाणिज्य संघको पहलमा करदाता सेवा कार्यालय सञ्चालनमा रहेको छ । पथरीशनिश्चरे, बेलबारी, लेटाङ, उर्लाबारी नगरपालिका, कानेपोखारी र मिक्लाजुङ गाउँपालिकाका ब्यापारीहरुले यो कार्यालयबाट सेवा पाउदै आएको छ । 

    नगरमा खेलकुद र मिडिया बिकासमा जोड

    पथरी शनिश्चरे नगरमा २०७७ मंसिर–पुसमा ‘लिग कम नकआउट’ प्रतियोगिता गराएर फुटबलको इतिहासमा नयाँ आयाम थपियो । 

    फुटबल खेलाडि दीपक राई, दीपक पुलामी, उर्जाशिल युवाहरु संजिव गिरी, मनि सुब्बा, बिक्की राई लगायतका युवाहरुको पहलमा भएको लिगमा नगरपालिकाको सहयोग थियो । लिग प्रतियोगितामा नगरमा रहेका आठ वटा क्लवहरुले १४४ खेलाडिहरुलाई तालिम दिएर मैदानमा उतारेका थिए ।

    २०७० र २०७१ मा पथरीका समाजसेवी धनकुमार तामाङको नेतृत्वमा ‘पथरी गोल्ड कप’ पहिलो र दोस्रो सफल भएको थियो । 

    खेलकुद बिकासको लागि नगरपालिका १ जाँते मोड र १० नम्बर वडा (शरणार्थी शिविर)मा रंगशाला निर्माण गर्न सकिने मैदानहरु रहेको छ । १० कै जिरिखिम्ति, १ को सुनाखरी चौक लगायतमा सहायक मैदानहरु रहेको छ । यहाँको खेलकुद क्षेत्रको इतिहास हेर्दा ३५ बर्ष भन्दा लामो देखिन्छ । पथरीमा सन १९८७ मा तत्कालीन केदार एङ्देन लिम्बू लगायतको नेतृत्वमा पथरी फुटबल च्याम्पियन कप प्रतियोगिता गराएर आयोजकले जितेको ट्रफी सुरक्षित छ । 

    पथरीमा धनराज (अमिर) राई, लोकसागर साम्बाको पहलमा दुई बर्ष अघि सहिद रत्नकुमार वान्तावा राष्ट्रिय मुद्धिचाल प्रतियोगिता भएको थियो । २०५९ सालमा स्थापना भएको फ्रेण्डसिप चेस क्लबको आयोजनामा नगर, जिल्ला र राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता गराउदै आएको छ । नगरमा क्रिकेट लगायतको खेलकुद प्रतियोगिता हुँदै आएको छ । 
    नगरपालिकामा तीन वटा एफ.एम रेडिया र साप्ताहिक पत्रिका, चार भन्दा बढी अनलाइन मिडियाहरु संचालनमा छ । मिडिया प्रबद्र्धनको लागि विज्ञापनको साथै सञ्चारकर्मीहरुका लागि नगरपालिकाले बार्षिक रुपमा लेख वृत्ति प्रदान गर्दै आएको छ । यहाँको गीत÷संगीत, कला, साहित्य क्षेत्रको बिकासको काममा पनि नगर लागिरहेको छ । 

    निष्कर्ष

    संघीय गणतन्त्र पश्चात सिंहदरबार मात्र होइन, संघीय संसद पनि गाउँ (पालिकाहरु) मै आएको छ । सोही अधिकार स्वरुप नगरलाई आवश्यक पर्ने ऐन, कानुन निर्माण हुन्छ ।  स्थानीय तहको सरकार गठन भएको तीन बर्षमा यो समाचार तयारहुँदाको मितिसम्म तीन वटा बजेट प्रस्तुत भएको छ । यो तीन आर्थिक बर्षमा पथरीशनिश्चरे नगरपालिकामा दुई अर्ब आठ करोड २० लाख चार हजार ४०२ रुपैयाको बजेट प्रस्तुत भएको छ । यो बजेट प्रत्यक्ष होस वा परोक्ष नगरबासीकै हितमा प्रयोग हुँदै आएको छ । 

    नगरको ४ नम्बर वडाध्यक्ष गोबिन्दबहादुर भण्डारीले आर्थिक बर्ष २०७६।०७७ (एक बर्ष)मा मात्र वडा सिलिङ, नगरपालिका, प्रदेश र संघ सरकारबाट साढे तीन करोडको लागतमा विकास निर्माण भएको प्रगति विवरण सार्वजनिक गरेका थिए । यसैलाई आधार मान्ने हो भने तीन बर्षमा प्रत्येक वडामा १० करोड भन्दा बढीको विकास निर्माणमा खर्च भएको हुनुपर्छ । 

    गणतन्त्र स्थापना नभएको भए १०, १५ बर्षमा यो रफ्तारमा काम हुन्थ्यो वा हुन्न थियो । बहसकै बिषय बन्ला । जनताले ल्याएको यो ब्याबस्थामा जनप्रतिनिधिहरु राज्यको श्रोतबाट काम गर्न त्यहाँ पुगेका वा पु¥याइएका हुनाले यति हुन पायो । दीर्घकालीन प्रभाव राख्ने रचनात्मक र पारदर्शी काम भयो भएन नियाल्दै नगर गीतले भने झै, हातमा हात मिलाएर, चेतनाले व्यूँझाएर विकासमा जुट्न सके केही दशकमै नगरले निक्कै ठूलो फड्को मार्ने निश्चित छ । 

    हातमा हात मिलाएर विकासमा जुट्छौं
    चेतनाले व्यूँझाएर अझै माथि उठ्छौं । 
    साना घरे के ठूला घरे ?
    बराबर हो पथरीशनिश्चरे
    यो हाम्रो पथरीशनिश्चरे
    हाम्रो प्यारो पथरीशनिश्चरे 

     


     

सम्वन्धित समाचार

इलाम । चुनाव चिन्ह मुढा लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकहरुले आज (सुक्रबार) इला…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहर…

इलाम । बैशाख १५ गते हुने निर्वाचनमा इलाम—२ बाट सांसद जित्न पार्टीहरु लागिरहेको बेला नेपालको पूर्ब…

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…