रामपुर (पाल्पा), १ कात्तिक
कालीगण्डकीको किनारमा फराकिलो चउरसँगै जोडिएको रमणीय सिद्धबाबाधामले धेरैको मन तान्ने गर्छ ।
रामपुर नगरपालिका–८ भुजातमा अवस्थित सिद्धबाबाधाम क्षेत्र राम्रो पर्यटकीय गन्तव्यस्थल बनेको छ । यहाँ कालीगण्डकीको चिसो हावाको मज्जा लिँदै तस्बिर खिच्ने र टिकटक बनाउने बढ्दैछन् ।
महामारी कम भएसँगै हिजोआज मन्दिर दर्शन र अवलोकनका लागि यहाँ चहलपहल बढेको मन्दिरका पुजारी अनन्तराज न्यौपाने बताउनुहुन्छ । विशेषगरी शनिबार र बिदाका दिन यहाँ आन्तरिक पर्यटक पुग्ने गर्छन् ।
पर्यटकलाई लक्षित गरी विभिन्न भौतिक पूर्वाधार थप गर्दै पर्यटकीय संरचना बनाउने काम थालिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष त्रिलोचन अधिकारीले बताउनुभयो । “पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालेपछि अहिले यो क्षेत्र पर्यटकको धार्मिक गन्तव्यका रुपमा चिनिएको छ, एकान्त र रमणीय ठाउँमा अवस्थित भएकाले पनि यस स्थलको विशेष आकर्षण छ”, उहाँले भन्नुभयो ।
यस क्षेत्रमा यहाँका स्थानीयको सक्रियतामा मन्दिर प्रवेशद्वारा, मन्दिर घेराबार, ऋषिमुनिको मूर्ति, तीन वटा पौवा, सार्वजनिक शौचालय, टर्मिनल, चार वटा चौतारी, पुजारी आवासगृह, १०८ शिवलिङ्ग निर्माण गरिएको छ ।
यो स्थान अवलोकन भ्रमणका लागि मात्र नभएर विवाह, ब्रतबन्ध, वनभोजलगायत लागि पनि आकर्षक गन्तव्य बनेको छ । यस आर्थिक वर्षमा रामपुर नगरपालिका– ८ को कार्यालयबाट सिद्धबाबा मन्दिर जाने बाटोमा नाली निर्माणका लागि रकम विनियोजन गरिएको वडाध्यक्ष बोमबहादुर नामजाली बताउनुहुन्छ ।
पर्यटकीय प्रचुर सम्भावना बोकेको यहाँ प्याराग्लाइडिङ र जलयात्राका लागि पनि संरचना निर्माण गर्न सकिने यस क्षेत्रका मानिस बताउँछन् । कालीगण्डकीको नदी किनारैमा रहेको ओढारमा स्थानीयवासीले सिद्धबाबाको उत्पत्ति हुनुपूर्व पानी पर्दा ओत लाग्ने गर्दथे । सोही ओढारमा विसं २०५१ असार १४ गते भुजातका स्थानीयवासी दिनेश अधिकारीले राति सपनामा सिद्धबाबाको मूर्ति देखेपछि भोलिपल्ट ओढारमा गएर हेर्दा मूर्ति भेटिएको किंवदन्ती छ ।
त्यस समयपछि यस ओढारलाई संरक्षण गर्दै यहाँका स्थानीयवासीले अहिले पर्यटकीय क्षेत्रका रुपमा सिद्धबाबाधाम क्षेत्रलाई चिनाउन सफल भएका छन् । ओढारका भित्री तथा बाहिरी भूभागमा विभिन्न देवीदेवताका आकृति प्रशस्तै देख्न सकिन्छ । ओढार नजिकै नवज्योति आमासमूह भुजातद्वारा निर्मित मन्दिरमा दुर्गाको मूर्ति रहेको छ भने आसपासमा शिवजीको मूर्ति, बसाहा, १०८ शिवलिङ्ग निर्माण गरिएको छ ।
यहाँ शिवरात्रि पर्वका अवसरमा विशेष मेला लाग्ने गर्दछ । मन्दिरको उत्तरी भेगमा पवित्र कालीगण्डकी, पश्चिमतर्फ पीपलपाटा सामुदायिक वन, उत्तर पश्चिमतर्फ हरियाली खुला चउर, खेलमैदानले यो स्थान सुन्दर बनाएको छ ।
रामपुर नगरपालिकाले वडा नं ७ को बाहुनडाँडामा प्याराग्लाइडिङ उडान सुरु गरेर यही सिद्धबाबा परिसरमा अवतरण गर्ने योजनाका साथ व्यावसायिक प्याराग्लाइडिङ सञ्चालन गर्ने योजना बनाएको छ ।
यहाँ शौचालय, खानेपानी थप व्यवस्थापन गर्ने, जीर्ण बनेको मन्दिर पुनःनिर्माण, प्रवेशद्वारदेखि मन्दिरसम्म जाने पैदलमार्ग व्यवस्थापन जस्ता भौतिक पूर्वाधार तत्काल गर्नुपर्ने देखिन्छ । मन्दिरको आफ्नै आयस्रोत नहुँदा पनि पूर्वाधार विकासको काममा आर्थिक समस्या छ ।
रामपुर नगरपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको रु पाँच लाख बजेटबाट मन्दिर परिसरमा ट्रस्ट निर्माण गरिएको छ । स्थानीय पीपलपाटा सामुदायिक वन र नवज्योति आमासमूहले यहाँ लाग्ने मेला, विभिन्न पर्वमा सघाउँदै आएका छन् ।