•  काठमाडौँ, १ कात्तिक

    काठमाडौँ उपत्यकामा विद्युत्, टेलिकम, इन्टरनेट, खानेपानी, ढललगायतका युटिलिटी (लाभ वा उपयोगिता) का कारण सडक अवरुद्ध भइरहेको छ ।

     विभिन्न सेवा प्रदायकले खन्दा कतै सडक खनेर खाल्डो भएको छ त कतै सडक र सडक पेटी अवरुद्ध भएका छन् । सडक विभागले सडकको निर्माण गर्ने र अरु विभिन्न निकायले आवश्यक संरचना राख्ने भए पनि आपसी समन्वय नहुँदा समस्या आएको हो । सडक कुनै निकायले बनाउने र कुनैले भत्काउने हुँदा सडक प्रयोगकर्ताले दुःख पाइरहेका छन् । 

    यिनै समस्या समाधानका लागि वर्षाैदेखि ‘युटिलिटी करिडोर’ सम्बन्धी ऐनको आवश्यकता महसुस भए पनि ऐन निर्माण अघि बढेको छैन । काठमाडौँका सडकमा आवश्यक संरचना राख्नका लागि खन्दा खाल्डैखाल्डा भएको छ । युटिलिटीका लागि सडक खन्दा नै त्यही निकायले पहिलेको अवस्थामा ल्याउनुपर्ने सडक विभागका महानिर्देशक अर्जुनजङग थापाले बताउनुभयो ।


     उहाँले भन्नुभयो, “पहिलेको अवस्थामा ल्याउन ढिलो गर्दा सडक बिग्रने गर्छ ।”अहिले महाराजगञ्जदेखि बूढानीलकण्ठसम्मको सडकमा ठाउँठाउँमा खाल्डो रहेको छ । नेपाल विद्युत् प्राधिकरणले गत वर्ष तार जमिनमुनिबाट लैजानका लागि खाल्डो खनेकोमा उसले पुर्न बाँकी रहेको महानिर्देशक थापाले बताउनुभयो । 

    विभागले निर्माण सुरु हुनु पहिले लिखित समझदारी गरेर तारको काम सकिएपछि सडकलाई पहिलेको अवस्थामा ल्याउनुपर्ने समझदारी भएको थियो । प्राधिकरणले केही समय पहिलेसम्म पनि पानीले गर्दा सडकको खाल्डा टाल्न नसकिएको जनाएको थियो । उहाँले भन्नुभयो, “अहिले वर्षा कम भइसकेकाले काम हुनसक्छ ।”

    धोबीखोला करिडोरमा पनि प्राधिकरणकै कारण सडकमा ठाउँठाउँमा अवरोध रहेको छ । प्राधिकरणले यहाँको पैदलमार्ग नै ढाकिने गरी निर्माण सामग्री राखेको छ । पैदलमार्ग बाहेक झण्डै आधा मिटरसम्म सडकमा पनि ती सामग्री रहेको देख्न सकिन्छ ।  

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका कारणले पनि बर्सेनि सडकमा खाल्डाखुल्डी हुने गरेको छ । खानेपानीको चुहावट हुँदा तत्काल नटाल्दा समस्या आउने गरेको विभागले जनाएको छ । गत वर्ष मेलम्चीको पानी आएपछि चुहावट बढेको र सडकमा खाल्डा बढेको थियो । 

    सडक निर्माण गर्ने एउटा निकाय र युटिलिटी सञ्चालन गर्ने अर्काे निकाय हुँदा समस्या आउने गरेको महानिर्देशक थापाले बताउनुभयो । सडकको र ती अरु निकायको योजना नमिलेकाले सडक प्रयोगकर्ताले दुःख पाउने गरेका छन् । सडकमा पहिले विभागले कालोपत्र गर्ने पछि अरुले खन्ने काम वर्षाैदेखि भइरहेको उहाँले बताउनुभयो । यही समस्या हल गर्ने उद्देश्यले युटिलिटी करिडोरको अवधारणा आए पनि कानून अभावमा कार्यान्वयनमा जान सकेको छैन । सडक निर्माण गर्दा नै युटिलिटीका लागि एउटा डट (बिन्दु) बनाउँदा समस्या नहुन सक्छ । त्यही डटबाट नै  नेपाल टेलिकम, इन्टरनेट सेवा प्रदायकले तार लैजान सक्नेछन् । 

    उहाँले भन्नुभयो,“सडकको अहिले जस्तो खराब अवस्था नहोस् भनेर नै सो अवधारणा आएको हो ।” विभागले काठमार्डौँ उपत्यका बाहिरका स्थानमा डट राखेर त्यही युटिलिटीमा व्यवस्थापन गर्ने योजना बनाएको छ । विस्तारको क्रममा रहेको नौबिसे–मुग्लिन सडकमा टेलिकमसँगको समन्वयमा युटिलिटीका लागि डट राख्न लागिएको महानिर्देशक थापाले बताउनुभयो ।

     उहाँले भन्नुभयो, “हामीले विस्तारै अरुअरु सडकमा पनि त्यही गर्दै जाने योजना बनाएका छौँ ।”काठमाडौँ उपत्यका बाहिर जसरी उपत्यकामा भने युटिलिटीको व्यवस्थापन सजिलो छैन । विभागको अधिकार क्षेत्र  आफ्नो हुँदा सहमति गरेर डट राख्न सकिने भए पनि काठमाडौँ उपत्यकामा धेरै निकाय भएकाले समन्वयमा समस्या रहेको महानिर्देशक थापाले बताउनुभयो । उपत्यकामा २१ पालिका भएकाले धेरै सरोकारवाला भएका ठाउँमा समन्वय गर्न गाह्रो रहेको उहाँले बताउनुभयो । 

    सडक निर्माण गर्नु पहिले एउटा डट विच्छ्याएर त्यहीँबाट विद्युत्, टेलिकम, इन्टरनेट सेवा प्रदायकले आ–आफ्नो सेवा सञ्चालन गर्ने र त्यसको नियमित मर्मत खर्च उनीहरुबाट पनि उठाएर गर्ने नै यसको समाधान भएको उहाँले बताउनुभयो । युटिलिटी विधेयक स्वीकृत भएपछि त्यही मोडलमा जान सकिन्छ । उहाँले भन्नुभयो, “त्यो नभएसम्म अहिले सडकको अवस्था भद्रगोल छ ।” 

    उपत्यकामा कतै सङ्घीय त कतै स्थानीय सडक छन् । कतैकतै सङ्घकै उपत्यका विकास प्राधिकरणलगायतका निकायले बनाएका सडक पनि छन् । स्थानीयवासीले भने सडक भन्नासाथ विभागको नै जिम्मेवारी भन्ने बुझेर गुनासो गर्दै आएका छन् । अहिले पनि ललितपुरमा ठाउँठाउँमा ललितपुर महानगरपालिकाले काम गरिरहेको छ । 
    काठमाडौँ महानगरपालिकाले थापाथलीमा प्रसूति गृह अगाडि निर्माण गरिहरेको छ । त्यहाँ समयमा निर्माण नसकिँदा वा अरु निकायले कुनै कामका लागि बिगार्दा पनि सडक विभागले नै आलोचना सहनुपरेको छ । 

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …