• काठमाडौँ, १ कात्तिक 

     हाल बङ्गालको खाडीमा र मध्यभारतमा न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली हुनाका साथै वर्षा पनि गराएको छ ।उत्तरतिर सर्दै गरेको उक्त मौसमी प्रणालीको प्रभावले देशका अधिकांश भू–भागमा सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षा भइरहेको छ । महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार अहिले लुम्बिनी, गण्डकी  र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षाका साथै  प्रदेश नं १ र २ मा हल्का वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभाव जारी रहेको र अझै केही दिन बदली र वर्षा हुने उहाँले बताउनुभयो । साथै सुदूरपश्च्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेको छ । पाकिस्तान र भारत हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायु अहिले नेपालको पूर्वी भागतर्फ सरिरहेको छ । यो वायु सुस्तगतिमा अघि बढ्ने भएकाले नेपालमा अझै केही दिन असर रहने मौसमविद् बासीले बताउनुभयो ।
     
         काठमाडौँ उपत्यकामा आइतबारदेखि नै बदली हुनाका साथै कतिपय स्थानमा हल्का वर्षासमेत भइरहेको छ । गएराति काठमाडौँसहित देशका पूर्वी भेगमा हल्कादेखि मध्यम वर्षा भएको थियो । उपत्यकाको आकाशमा बिहानैदेखि कुहिरो लागेको छ । देशको पश्चिमी भेगमा भारी वर्षा भएको छ  । महाशाखको पछिल्लो विवरणमा डडेलधुरामा ११६, दिपायलमा ९५, धनगढीमा ८०, वीरेन्द्रनगरमा, ५९, घोराहीमा ४८ र नेपालगञ्जमा ३९ मिलिमिटर वर्षा भएको थियो ।
        मौसम पूर्वानुमान बुलेटिनमा प्रदेश नं १, प्रदेश नं २ लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेको उल्लेख छ । रातिको समयमा पनि प्रदेश नं १, प्रदेश नं २का साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 
          आज पनि देशभर सामान्यदेखि पूर्ण बद्ली रहनेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै प्रदेश १ र वाग्मती प्रदेशका केही स्थान तथा प्रदेश नं २ का थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
     
         देशका पश्चिमी, उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

        मङ्गलबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा प्रदेश नं १, वाग्मती प्रदेशका केही स्थान तथा प्रदेश नं २ का थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदूरपच्चिमका केही स्थान र प्रदेश नं १, लुम्बिनी ,कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

    रातिको समयमा पनि देशभर सामान्य बदली रहनाका साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा प्रदेश १, प्रदेश नं २ र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी, उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेकोसमेत उल्लेख गरिएको छ ।
    कात्तिक ३ गते बुधबारसम्म पनि सोही मौसमी प्रणाली कायम रहनेछ । महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम तापक्रम २७ दशमलव आठ र न्यूनतम तापक्रम १८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…