• काठमाडौँ, १ कात्तिक

    काठमाडौँ महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर परिसरमा रहेको गुठी जग्गामा आकर्षक बगैँचा निर्माण गरिने भएको छ । विगतमा मैतीदेवी मन्दिर प्रबन्ध समितिले नर्सरीलाई भाडामा दिएको करिब दुई रोपनी जग्गामा भूकम्प जस्ता प्राकृतिक प्रकोपका बेला सुरक्षित रुपमा बस्न सकिने र अरु बेलामा पनि मानिसले पुनर्ताजगीका लागि उपयोग गर्न सक्ने गरी बगैँचा बनाउन लागिएको हो । 

    बगैँचा बनाउन काठमाडौँ महानगरपालिकाले रु एक करोड ३५ लाख बजेट विनियोजन गरेको वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो । मन्दिर परिसरमा आकर्षक बगैँचा निर्माणसँगै रेलिङ, बार पनि परिवर्तन गरिने छ ।

     बगैँचाको काम सुरु गर्न गत आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरेकामा त्यसबाट काम हुन नसकेको उहाँले सुनाउनुभयो । विसं २०७४ अघि सहरी विकास तथा भवन निर्माण विभागले गठन गरेको प्रबन्ध समितिले मन्दिर क्षेत्र व्यवस्थापनको काम गर्दै आएको थियो । त्यसबेला जनअपेक्षा अनुरुप काम हुन नसकेको गुनासो बढ्ने गरेको थियो ।   
      
    स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएसँगै प्रबन्ध समिति महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो । मन्दिर क्षेत्रमा धोबीखोला मैतीदेवी छुट गुठीका नाममा पहिले करिब ३० रोपनी जग्गा भए पनि हाल दुई रोपनीमात्र बाँकी छ । बाँकी भएको जग्गालाई महानगरपालिकाले बगैँचा निर्माण गरेर संरक्षण गर्न लागेको महानगरपालिकाले जनाएको छ ।

     बगैँचाको डिजाइन बनाउने काम सम्पन्न गरी पूर्वाधार विभागले ठेक्का निकालेको छ । महानगरपालिका–९, २९ र ३० मा मन्दिरका नामको राजगुठीको जग्गा रहेको छ । वडा नं ९ को जग्गा खाली छ । वडा नं २९ र ३० को जग्गामा भने घर बनिसकेको गुठीका गुठियार नाइके सत्य मुनिकारले बताउनुभयो । 

    वडा नं ९ खाली जग्गामा पनि मोहीकाबीचमा मुद्दा चलिरहेको छ । मन्दिर क्षेत्रको जग्गा संरक्षण गर्ने उद्देश्यले महानगरपालिकाले बगैँचा निर्माण प्रक्रिया सुरु गरेको हो । अरु जग्गालाई पनि मन्दिर मातहत ल्याउँदै जाने समितिको प्रतिबद्धता छ । मन्दिर परिसरमा पुरातत्व विभागले तामाको छाना राखेर सांस्कृतिक पाटी निर्माण सम्पन्न गरेको छ । 

    पाटीसँगै पुजारी घर पनि निर्माण भइरहेको समितिले जनाएको छ । मन्दिर परिसरमा रहेको मयुरकुण्ड पनि संरक्षण गर्न लागिएको वडाध्यक्ष कार्कीले बताउनुभयो । मयुर कुण्डभित्र रहेको नाग र नागिनीको मूर्ति पनि भक्तजनले दर्शन एवं पूजा आराधना गर्नसक्ने गरी व्यवस्थापनको तयारी भएको छ । गोरखास्थित मनकामना माइको दर्शन गरेर फर्कने भक्तजनले मयुरकुण्डको जल मैतीदेवीलाई चढाएपछि मात्र फल मिल्ने किम्बदन्ती प्रचलनमा छ ।
     
    मैतीदेवी क्षेत्रमा सहरीकरण हुनुअघि राजकुलो यहाँबाट पुतलीबजार पुगेको थियो । राजकुलाको यो जग्गा मैतीदेवी प्रहरी बिटबाट नै मिचिएको छ । यस क्षेत्रका नौ दशवटा सटरको आधा भागमा सार्वजनिक जग्गा पर्ने वडा कार्यालयले  जनाएको छ

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…