•   काठमाडौँ, ५ कात्तिक

    पहिराका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ ।  राष्ट्रिय गौरवको सो आयोजनामा आयोजनास्थल माथिबाट आएको पहिराको क्षतिग्रस्त संरचनाको मर्मत अझै सुरुआत हुन सकेको छैन । यही कात्तिक महिनासम्म वर्षा भइरहेकाले मेलम्ची बजारबाट अम्बाथानसम्मको सडक र पुल थप क्षति भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । 

    आयोजनाले केही समय पहिले नै मर्मत सुरु गर्ने योजना बनाए पनि वर्षाका कारण ढिलाइ भइरहेको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “अझैसम्म पनि आयोजनास्थलमा यति नै क्षति पुग्यो भनी यकीन गर्न सकिएको छैन ।” 

    सडक नै खुल्न नसकेकाले अझै आयोजनास्थलमा उपकरण लैजान सकिएको छैन । पुलबजार–अम्बाथान सडक ठाउँठाउँमा भासिएकाले वैकल्पिक सडक खुलाउने योजना बनाइएको थियो । वैकल्पिक सडक खुलाउन अझै समय लाग्ने देखिएकाले खोलाको किनारबाट नै सडक खुलाइरहेको समितिले जनाएको छ । हेलम्बु गाउँपालिकाले सडक खुलाइरहेको किम्बुसम्म खोलाबाट नै खोलिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यस माथि सडक बनाउन गाउँपालिकाले समितिसँग थप बजेट माग गरिरहेको छ ।” 

    उपकरण पुग्नका लागि बाटो चाहिने भए पनि त्यो नहुँदा अझैसम्म लैजान सकिएको छैन । गाउँपालिकाले सडक खुलाइरहेकाले ऊसँगको छलफलले कहिलेसम्म खुल्छ भनेर थाहा हुने उहाँले बताउनुभयो । यही समयमा वैकल्पिक सडक खुलाउने काम सुरु भएको छ । सूचना अधिकारी पन्तले भन्नुभयो, “अहिले भइरहेको सडकभन्दा नयाँ ट्याक खोल्नुपर्दा बढी  समय लाग्नसक्छ ।” 

    समितिले असोजमा सडक खुलाउने योजना बनाएको भए पनि वर्षाको कारणले सकिएको छैन । पूरानो ट्र्याक खोला नजिकैबाट भएकाले अहिले त्यहीँबाट खोल्नुपर्ने छ । खोलामा पानीको बहाव कम भएपछि मात्रै सकिने भए पनि वर्षा नरोकिएकाले तत्काल काम गर्न नसकिएको हो । जुनजुन ठाउँमा क्षति पुगेको छ त्यहाँ बनाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चनौटेको रातो पुलभन्दा माथि ठाउँठाउँमा सडकमा क्षति पुगेको छ ।” 

    हेलम्बु गाउँपालिकाले सडक खुलाउन काम गरिरहेको छ । चनौटेमा हिमपाइप राखेर क्रसिङ बनाएको छ । ठाउँठाउँमा काम गरिरहे पनि वर्षा पूरै नरोकिएकाले पुनःक्षति पुगेको आयोजनाले जनाएको छ । 

    वर्षाले आयोजनाको सुरुङबाहेक अरु संरचनामा क्षति पुगेको अनुमान गरिएको छ । ‘हेडवर्क’ लगायतका संरचनामा क्षति पुगेको अनुमान गरिए पनि त्यसको यकीन हुन नसकेको उहाँले बताउनुभयो । यहाँ रहेका संरचना पुरिएकाले त्यहाँ पुगेका प्राविधिकले अझै क्षति यकीन गर्न नसकेका हुन् । उहाँले भन्नुभयो, “उपकरणले पुरिएका संरचना बाहिर ल्याएपछि मात्रै क्षतिको अनुमान गर्न सकिनेछ ।” 

    आयोजनास्थलमा कैयौँ फिट माथिसम्म पनि नदीजन्य पदार्थ थुप्रिएको छ । एकैपटक त्यसलाई सफा गर्न सकिने अवस्था नरहेको सूचना अधिकारी पन्तले बताउनुभयो । साँघुरो ठाउँ भएकाले एकैपटक धेरै उपकरण लैजान नसकिने उहाँले बताउनुभयो । 

    दीर्घकालीनरुपमा थुप्रिएका सबै पदार्थ सफा गर्नुपर्ने भएकाले त्यसका लागि लामो समय लाग्नसक्छ । अहिलेका लागि अस्थायीरुपमा सानो क्षेत्रबाट पानी निकाल्न सकिन्छ कि भन्ने अनुमान गरिएको छ । उपकरण लगेपछि मात्र कसरी त्यहाँ पानी निकालेर र सुरुङमा पठाउन सकिन्छ भनी थाहा हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले त्यहाँ धेरै नदीजन्य पदार्थ थुपारिएकाले त्यसको व्यवस्थापनको चुनौती छ ।” 

    खानेपानी मन्त्रालयले यो वर्षभित्र (आगामी चैतसम्ममा) उपत्यकामा पुनः पानी ल्याउन सकिने बताउँदै आएको छ । सडक र यहाँको नदीजन्य पदार्थ सफा गर्न कति समय लाग्छ भनी अनुमान गरेर त्यसैका आधारमा पानी पुनःल्याउने लक्ष्य तोकिएको हो । 

    निर्माण सुरु भएको दुई दशकपछि सम्पन्न सो आयोजनाको पानी गत फागुनमा परीक्षणका लागि सुरुङमा पठाइएको थियो । त्यसअघि गत वर्ष असारमा सुरुङको परीक्षण गरिएको भए पनि गेट निस्कँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो । पछिल्लो पटक काठमाडौँ उपत्यकाका धेरै स्थानमा मेलम्चीको पानी वितरण सुरु भएको थियो । काठमाडौँ उपत्यकाको खानेपानीको समस्या हट्न थालेको भए पनि अहिले पुनःसमस्या देखिन थालेको छ । हिउँद लागेसँगै उपत्यकामा खानेपानीको समस्या बढ्ने गरेको छ । 

    कार्यतालिकाका आधारमा गत असार १ देखि सुरुङको निरीक्षण थालिएको थियो । तीन महिनामा निरीक्षण सकेर असोजदेखि पुनः पानी सुन्दरीजल झारिने लक्ष्य लिइएको भए पनि अहिले भएको प्राकृतिक विपत्तिले अब काठमाडौँमा मेलम्चीको पानी कहिले झर्छ भन्न सकिने अवस्था भने छैन ।

    आयोजनाको मुख्य संरचनाका रुपमा रहेको सुरुङ र पानी प्रशोधन केन्द्र सम्पन्न भइसकेर ‘हेडवर्क’ को अन्तिम काम भइरहँदा बाढीले संरचनामा क्षति पु¥याएको थियो । अहिले सुरुङ र पानी प्रशोधन केन्द्रमा क्षति नपुगेको भए पनि ‘हेडवर्क’ मा क्षति पुगेको अनुमान गरिएको छ । निर्माण कम्पनीले कामदार बस्न बनाइएका सबै संरचना पनि पुरिएका छन् । 

    गत असारभन्दा पहिलेसम्म पहिलो आयोजना सकिएपछि दोस्रो चरणको आयोजनाको निर्माणअघि बढाउन तयारीको काम भइरहेको थियो । दोस्रो आयोजना निर्माणका लागि सडकलगायतका पूर्वाधार निर्माण अघि बढाइएको भए पनि अहिले त्यो ठप्प छ । सरकारले त्यस क्षेत्रमा आगामी वर्षमा पनि पहिराको जोखिम रहेकाले त्यसको दीर्घकालीन व्यवस्थापनका लागि अध्ययन गरिरहेको छ । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…