• रामपुर (पाल्पा), ६ कात्तिक

    इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको दरबन्दी रहेको रामपुरमा स्थानीय नागरिकले त्यसको स्तरोन्नतिको माग गरेका छन् ।  जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराई समक्ष नागरिकले यहाँको शान्ति सुव्यवस्था अमनचयन कायम गर्नका लागि प्रहरी कार्यालयको स्तरोन्नतिको माग गरेका हुन् ।

    शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत प्रहरी कार्यालयमा बन्ने भवनको अध्ययनको लागि छलफलमा आउनुभएका प्रहरी उपरीक्षक भट्टराईसँग रामपुरमा जनघनत्व बढ्दै गएको अवस्थामा शान्ति सुरक्षा मजबुत बनाउन स्तरोन्नतिको अनुरोध गरिएको छ । इलाका प्रहरी कार्यालय रामपुरको सेवा क्षेत्र सुरक्षाको हिसाबले चुनौती र बढ्दो जनघनत्व भएकाले डिएसपीको दरबन्दी र मुद्दा दर्तालगायतका काम रामपुरबाट हुने गरी व्यवस्थाका लागि माग गरेका छन् ।  

    प्रहरी उपरीक्षक भट्टराईले जिल्लामा पुग्ने धेरै मुद्दा रामपुर क्षेत्रको भएकाले यहाँका जनताको सेवाका लागि थप जनशक्तिसहितको पूर्वाधार आवश्यक रहेको बताउनुभयो । आफू पाल्पा आएदेखि मुद्दा र क्षेत्रको हिसाबले रामपुरमा संरचना थपको लागि पहल भइरहेको बताउनुहुँदै सुरक्षाको हिसाबले पनि रामपुरमा भवन र जनशक्ति आवश्यक रहेको बताउनुभएको छ । रामपुरमा जनघत्व बढ्दै गरेको अवस्थामा विभिन्न आपराधिक क्रियाकलाय, हिंसाका घटना बढ्दै गरेकाले पनि डिएसपीसहितको दरबन्दी तत्काल आवश्यक परेको नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य बताउनुहुन्छ । आवश्यक संरचना तयार पार्न स्थानीय सरकार तयार रहेको उपप्रमुख आचार्यको भनाइ छ ।

    इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले पुरानो जीर्ण मन्दिरमा बसेर सेवा दिनुपरेको बताउनुभयो । नयाँ भवन निर्माण भएमा नागरिकलाई सहजरुपमा सेवा दिन पाइनेछ । प्रहरीमा आएका विभिन्न मुद्दा तथा घटनाको अध्ययन अनुसन्धान गर्न पुरानो र जीर्ण भवनमा बसेर सेवा दिन समस्या छ ।  

    इलाका प्रहरी कार्यालय रामपुरको भवन निर्माणका लागि अध्ययन थालिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत प्रहरी कार्यालयमा बन्ने भवनको सम्भाव्यता अध्ययन कार्य भएको हो । एशियाली विकास बैंक (एडिबी) को समन्वयमा बन्ने भवनको स्थलगत अनुगमन र सरोकारवालासँग छलफल भएको छ । महिला, बालबालिका, फरक क्षमता भएका, ज्येष्ठ नागरिकका लागि लक्षित गरी बन्ने भवनको सन्दर्भमा स्थलगत अध्ययन तथा सरोकारवालासँग छलफल गरिएको छ ।

    एडिबीले नेपालका विभिन्न दश स्थानका प्रहरी कार्यालयमा बनाउने गरी अगाडि बढेको भवनका लागि अध्ययनमा आएको इञ्जिनियरसहितको टोलीले भवनका लागि कम्तिमा चाहिने क्षेत्रफल तथा हालको अवस्थाबारे जानकारी लिएको हो । दश स्थानमा अनुगमन अध्ययन गरी उपयुक्त ठाउँ छनोटपश्चात् तीन स्थानमा भवन बन्नेछन् ।

    कम्तीमा भवन निर्माणको आधार तथा जग्गा र चौकिल्लाबारे अध्ययन गरेको टोलीले पहिलो चरणको यो अध्ययनको रिपोर्ट एडिबीमा बुझाउने बताएको छ । इलाका प्रहरी कार्यालय रामपुरको आफ्नै नाममा २३ रोपनी जग्गा छ । प्रहरी कार्यालयको नाममा रहेको जग्गा आवश्यक पूर्वाधार थप गर्न उपयुक्त रहेको टोलीले जनाएको छ । 

    उन्नत जातका बाख्रा वितरण

    रम्भा गाउँपालिका–१  का कृषकलाई बाख्रा वितरण गरिएको छ । यहाँको जनजागरण स्वावलम्बन महिला समूहमा आबद्ध २७ जना सदस्यलाई बाख्रा वितरण गरिएको हो ।

    सदस्यको आयआर्जन बढाउने उद्देश्यले प्रतिव्यक्ति एक÷एक उन्नत जातका बाख्रा वितरण गरिएको समूहका अध्यक्ष पवित्रा ढकालले जानकारी दिनुभएको छ ।  रम्भा गाउँपालिका र हेफर प्रोजेक्टको साझेदारी एवं इन्द्रेणी समाज केन्द्र नेपालको समन्वयमा सञ्चालित रम्भा कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत बाख्रा वितरण गरिएको हो ।

    बाख्रा सहयोग पाएपछि समूहमा आबद्ध सदस्य उत्साहित बनेको रामप्रसाद भण्डारीले जानकारी दिनुभएको छ । ग्रामीण भेगका नागरिकको आयस्तर उकास्न हेफर प्रोजेक्टले उन्नत जातका बाख्रा सहयोग गरेको छ । 

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…