विराटनगर / अविरल वर्षासँगै गत कात्तिक १ गतेदेखि ३ गतसम्म आएको बाढीका कारण सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रमा दुई अर्ब ४८ करोड, ८९ लाख आठ हजारको क्षति पुगेको छ । वर्षाका कारण आएको बाढीले ४१ वटा उद्योगमा क्षति पुगेको हो ।
उद्योग सङ्गठन मोरङले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै मेसिन औजारमा ९८ करोड १७ लाख १८ हजार, कच्चा पदार्थमा ७१ करोड २५ लाख ७० हजार, तयारी बस्तुमा ७६ करोड चार लाख पाँच हजार क्षति भएको छ । त्यस्तै सरसफाइ तथा फोहोर व्यवस्थापनमा एक करोड १७ लाख ६५ हजार बराबरको क्षति भएको छ । ४१ उद्योगको दैनिक प्रसाशनिक खर्च पाँच करोड छ ।
बाढी प्रभावित उद्योगमध्ये २७ वटा एक सातापछि सञ्चालनमा आएका थिए । सात उद्योग अझै दुई हप्तापछि सञ्चालनमा आउने छन् । तीनवटा उद्योग सञ्चालनमा आउने थप चार हप्ता लाग्ने र चारवटा उद्योग सञ्चालनमा आउन चार हप्ताभन्दा बढी समय लाग्ने उद्योग सङ्गठन मोरङका महानिर्देशक चुडामणि भट्टराईले जानकारी दिए ।