•  रामपुर (पाल्पा), १९ कात्तिक

       तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् ।

    केही युवा समूह मिलेर परम्परा धान्न र सामाजिककार्यका निम्ति देउसीभैलो खेल्ने गरेका छन् । देउसीभैलोको मौलिक परम्परा भने गाउँघरमा हट्दै गएको छ । देउसी खेल्ने केही युवा समूह निस्के पनि मौलिक भाका गाउने भने अहिले देख्नै पाइँदैन । तिहारमा मेमोरीकार्ड, युट्युबबाट गीत बजाएर नाच्ने चलन छ । यसले मौलिकरूपमा तिहारका गीत गाएर नाच्ने चलन हिजोआज कतै पनि देख्न पाइँदैन ।

    भैलेनी आयौँ आँगन बडाली कुडाली राखन, आहैँ औँसीको बार गाईतिहार भैलीराम ।
    हरियो गोबरले लिपेको लक्ष्मी पूजा पुजेको, आहैँ औँसीको बार गाईतिहार भैलो ।।
    हामी त्यसै आएनौँ बलिराजाले बोलाएका, आहैँ औँसीको बार गाईतिहार भैलीराम ।
           
    यी गीत गाएर गाउँभरि देउसीभैलो खेल्ने समूहले तिहारमा उत्साह छाउँथ्यो । कसैले गीत झिक्ने, केहीले भट्याउने, कोही नाच्ने गर्दा देउसीभैलो हेर्नेको भीड नै हुने गरेको रामपुरका देवराज अर्याल बताउनुहुन्छ ।

    “अहिले देउसीभैलो खेल्ने परम्परा नै परिवर्तन हुँदै गएको छ, गीत गाएर देउसी खेल्दाको मज्जा नै धेरै आउँथ्यो, हिजोआज त ठूला–ठूला साउण्ड सिस्टम बोक्छन्, इन्टरनेटमा खोजेर गीत बजायो अनि नाच्यो, संस्कृति यसरी परिवर्तन हुँदैछ”, उहाँले भन्नुभयो ।

    उज्यालै–उज्यालैको पर्वका रूपमा लिइने दाजुभाइ र दिदीबहिनीबीचको मायाप्रेम प्रगाढ बनाउने तिहार पर्वले ढपक्कै गाउँघर बजारमा ढाकिसकेको छ । दाजुभाइ र दिदीबहिनीबीचको हाँसो, खुसी, मायाप्रेमलाई फराकिलो बनाउने तिहार पर्वमा बलिराजाको पालादेखि नै देउसीभैलो खेल्ने परम्परा चलिआएको कथन छ ।

    सूचना प्रविधिको विकास, पश्चिमी संस्कृतिको प्रभावले गर्दा परम्परागतरूपमा भट्याउँदै देउसी र भैलो खेल्ने चलन यतिबेला विभिन्न स्थानबाट हट्दै गएको हो । स्थानीयवासी शिवकुमारी वाग्ले पश्चिमी संस्कृतिले समाजमा प्रभाव पार्न थालेपछि मौलिक परम्परागत देउसीभैलो गाउने चलन हराउन थालेको बताउनुहुन्छ ।

    “औँसीका दिनबाट गाउँका साथीभाइ जम्मा भएर घरघरमा जाने कसैले देउसी भन्ने कसैले भट्याउँदै नाच्ने गरिन्थ्यो, अहिलेका पुस्तालाई सुनाउँदा आश्चर्य मान्ने अवस्था आइसक्यो”, उहाँले भन्नुभयो । गाउँगाउँमा सूचना प्रविधिको विकास हुँदै जाँदा मौलिक संस्कृति हराउन थालेको हो । परम्परादेखि नै चलिआएका संस्कार संस्कृतिलाई जोगाइराख्न सबै लाग्नुपर्ने रामपुरका कलाकार लक्ष्मी तिवारीको भनाइ छ ।

    फ्याट्टफुट्टरूपमा अहिलेको देउसीभैलोमा विभिन्न ठाउँमा हिन्दी र अङ्ग्रेजी गीतले स्थान ओगट्न थालेको छ । मौलिक संस्कृतिको जगेर्नाका लागि युवापुस्ताले नै ध्यान दिनुपर्ने देखिन्छ । केहीले देउसीभैलो संस्कृतिलाई रमाइलोका रूपमा लिन्छन् त केहीले परम्परा जोगाउनका लागि । जे भए पनि देउसी र भैलो खेल्ने निहुँमा हिन्दी र अङ्ग्रेजी गीतलाई स्थान दिन नहुने पनि धेरैको टिप्पणी छ । 

    रामपुर युवा क्लबले भने यस वर्ष सामाजिक सन्देश प्रवाह गर्दै देउसीभैलो कार्यक्रम सुरु गरेको छ । ‘सफा रामपुर, उज्यालो रामपुर’ बनाउने उद्देश्यले क्लबले देउसीभैलो सुरु गरेको हो । रामपुरको मुख्य बजार बेझाड बजार क्षेत्रलाई सफा र उज्यालो बनाउन र परम्परालाई धान्नका निम्ति देउसीभैलो कार्यक्रम गरेको क्लबका सचिव सुन्दर कँडेलले बताउनुभयो । “सामाजिक कामको लागि क्लबका सदस्य मिलेर देउसीभैलो आयोजना गरिएको छ, यस कार्यक्रमाट सङ्कलित रकम सामाजिक क्षेत्रमा खर्चिने र पुरानो चलन रीतिरिवाजलाई कायम राख्न युवाहरु मिलेर देउसीभैलोमा निस्केका छौँ”, उहाँले भन्नुभयो ।

    रातिमा देउसीभैलो खेल्न रोक

    जिल्लामा तिहार अर्थात् भाइटीकाको बेला रातका समयमा देउसीभैलो खेल्न नपाइने भएको छ । प्रशासनले साँझ ७ बजेपछि देउसीभैलो नखेल्न सूचना जारी गरेको छ । कोरोना सङ्क्रमणको अवस्था कायमै रहेकाले सकेसम्म देउसीभैलो नखेल्न र खेलेको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर थोरै सङ्ख्यामा साँझ ७ बजेसम्म मात्र खेल्न प्रशासनले आग्रह गरेको छ । सूचनामा देउसीभैलो खेल्न तिहारको सीमित दिनमा मात्र खेल्न पाइने र घरधनीको समेत पूर्वस्वीकृति लिनुपर्ने जनाइएको छ ।तिहारका बेलामा जुवातास खेल्ने÷खेलाउने र पटका, भुइँचम्पा तथा आतशबाजी गर्नेजस्ता क्रियाकलाप नगर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…