मोरङ । मोरङको पथरीशनिश्चरे–१० मा भएको पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता–२०७८ को उपाधी बेलबारी फुटबल क्लबले चुमेको छ ।
बिहिबार भएको फाइनल खेलमा दमक फुटबल एकेडेमीलाई सडन डेथमा बेलबारीले पराजित गर्दै उपाधि बेलबारीले उचालेको हो ।
निर्धारित समय गोल रहित बराबरी भएपछी टाइब्रेकरबाट निर्णय लिनु परेको थियो । प्रतिष्पर्धात्मक खेल टाइब्रेकरमा समेत पाँच बराबर गोल भएको थियो । टाइब्रेकरमा दमकका लागि रोशन धिमाल, आशिल लिम्बू, गौरब धिमाल, ओमप्रकाश तामाङ, रोशन तामाङले गोल गरेका थिए । बेलबारीका लागि आकाश बस्नेत, वेल्शन गिरी, बिकेक पौडेल, शंकर राई र काशिम राईले गोल गरेका गर्दै ५ बराबर गोल भएको थियो ।
सडन डेथमा बेलबारीका पासर खत्री र बिनोद राईले गोल गरेका थिए । दमकका किस्मत लिम्बुले गोल गरेपनि राजन धिमालले पोष्ट बाहिर प्रहार गरेपछि उपाधि बेलबारीको पोल्टामा गएको हो ।
खेल बिजेता बेलबारीले नगद १ लाख १ हजार, उप बिजेता दमकले ५१ हाजर रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र बितरण प्राप्त गर्यो ।
फाइनल खेलको मेन अफ द म्याच दमकका खेलाडि गौरब धिमाल बने । उनले नगद २५ सय प्राप्त गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी दमकका आशिष लिम्बू बने । प्रतियोगिताभर ३ गोल गर्ने बिजेता बेलबारीका बिबेक गौतम पुरस्कृत भए ।
उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोल रक्षक र कोच बेलबारीकै सुमन श्रेष्ठ, पारस खत्री, किशोर गिरी, शंकर सुबेदी, बेष्ट फरवार्ड दमकका किस्मत लिम्बु घोषित भए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद सात हजार पाँच सय र अन्य बिधागत उत्कृष्ट खेलाडिले जनही पाँच हजरको दरले नगद प्राप्त गरे । फाइनल खेल अघि भुटानी शरणार्थी शिविर बेलडागी झापा र शनिश्चरे शिविर मोरङवीच प्रदर्शनी खेल भएको थियो । खेलमा बेलडाँगी शिविर झापा ३–१ गोल अन्तरले बिजय भएको थियो ।
थ्री रिभर्स एफ.सी. अमेरिकाको आयोजनामा सुरु प्रतियोगितामा झापा, मोरङ र सुनसरीको ९ र भुटानी शरणार्थीको एक टिम गरी १० टिमले सहभागिता जनाएका थिए । खेल पथरीशनिश्चरे १० स्थित प्रस्ताबित पथरीशनिश्चरे रंगशालामा भएको थियो । खेलको सम्पूर्ण ब्याबस्थापन खेल संयोजकको रुपमा गीतकार तथा सामाजिक ब्यक्तित्व गणेश थक्लुङ लिम्बूले जिम्मा लिएका थिए । अमेरिकाबाट आएका अर्जुन विष्ट लगायतका लगानी कर्ताहरु पनि खेल अबधिभर सहयोगमा जुटेका थिए ।
सांसद राई भन्छन ओली सरकार ढल्यो अव काम गर्न सहज हुन्छ
फाइनल खेलमा १ नम्बर प्रदेशका सांसद सुयर्माराज राईको प्रमुख आतिथ्यमा भएको थियो । खेल सुरुहुनु अघि सांसद राईले आफूहरु प्रदेशको कमजोर प्रतिपक्ष रहँदा पनि आफ्नो क्षेत्रमा पर्याप्त बजेट ल्याएको दाबी गरे । खेल भइरहेको पथरीशनिश्चरे रंगशालाको लागि १० लाख बजेट बिनियोजन गरेर रंगशालाको काम अघि बढेको भन्दै आफ्नै पहलमा रंगशाला प्रदेशको रातो कितावमा पारेको बताए ।
ओली सरकार ढलेर भर्खरै राजेन्द्र राईको नेतृत्वमा गठन भएको सरकारमा कांग्रेस पनि गठबन्धनमा रहेको कारण अब बजेट लगाउन केही सहज हुने बताउदै क्षेत्रको बिभिन्न ठाउँमा बिकास गर्न सहज हुने सांसद राईले बताए ।
कार्यक्रममा १० नम्बर वडा अध्यक्ष सागर राई, ४ नम्बर वडा अध्यक्ष गोबिन्द भण्डारी, शिविर सचिव चम्पासिंह राई, कार्यपालिका सदस्य मैना आचार्य, वडा सदस्यहरु काशिहाङ राई, अनोज घिमिरे, सामाजिक ब्यक्तित्वको रुपमा दिनानाथ तिम्सिना, प्रदिपकुमार राई, भीम राई, प्रेम ढकाल, मान दियाली, रोशन हाङबाङ लगायत उपस्थित थिए ।
प्रतियोगिता हेर्न पथरीशनिश्चरेको गहनाको रुपमा रहेका हाल राष्ट्रिय खेलाडि दीपक राई कार्यक्रममा आएका थिए । राई हाल नेपालकै प्रतिष्ठित फ्टबल क्लब मनाङमा आबद्ध भएर खेलिरहेका छन् । त्यसैगरी पूर्ब चर्चित खेलाडि संजिव बुढाथोकी पनि प्रतियोगिता हेर्न आएका थिए । कार्तिक १० गते पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना बिष्टको हातबाट उद्घाटन भएको खेल भब्य रुपमा सफल भएको आयोजकको दाबी छ ।
भुटानी शरणार्थीको रुपमा लामो समय नेपाल बसेर तेस्रो मुलुक अमेरिका पुगेका नेपाली भाषी समुदायले गठन गरेको थ्री रिभर्स एफ.सी. अमेरिकाले नेपाल र अमेरिकामा बार्षिक रुपमा यसैगरी फुटबल प्रतियोगिता आयोजना गर्ने योजना रहेको अर्जुन बिष्टको भनाइ छ ।