पाल्पा, २७ कात्तिक
पाल्पाको तानसेन नगरपालिका–८ छापस्थित सेनकालीन फलाम प्रशोधनको असर अझै पनि देखिएको छ । ढुङ्गा प्रशोधन गरी फलाम निकाल्दा बेकार बस्तुले खेती गर्न समस्या भएको हो ।
छापकी फुलकुमारी सुनारको बारीमा कच्चा पदार्थ प्रशोधनबाट निस्केको फलामका बेकारका बस्तुहरु हलो तथा कोदालोमा लागेपछि समस्या हुँदै आएको छ । बारी कृषि उत्पादन वृद्धिका लागि खन्दा कोदालोमा फलामका बेकार बस्तु ठोकिने समस्या रही आएको सुनारको भनाइ थियो । बर्सेनि खनजोतमा निकै समस्या भएकोले मेलापात गर्न अरु मानिस आउन दुःख मान्ने अनुभव स्थानीयवासीको छ ।
छापको डाँडादेखि करिब २०० मिटर तल्लो भागको भिरालो जमिन खानी छ । खानीबाट निकालिएको ढुङ्गा बस्ती नजिक लगेर प्रशोधन गरिएकाले किटले अन्नवाली उत्पादनमा कमी हुन्छ ।
नेपाल एकीकरण बेला पाल्पा शक्तिशाली राज्यका रुपमा स्थापित थियो । युद्धका निम्ति चाहिने हातहतियारमा पाल्पा राज्य आत्मनिर्भर रहेको पाइन्छ । स्थानीय डिलबहादुर सुनारका अनुसार गर्मी र जाडो मौसममा फरक फरक स्थानमा फलाम प्रशोधन गरिएको पाइन्छ । फरक स्थानमा प्रशोधन गरिएकाले त्यसका असर डाँडावारि र डाँडापारिका बारीमा खेती गर्न अझै समस्या भएको सुनारले बताउनुभयो । तरबार, खुँडा, खुकुरीलगायतका अन्य हतियार उत्पादन गरी युद्धमा प्रयोग भएको इतिहासमा उल्लेख छ ।
पाल्पा तानसेन नगरपालिकाको छापमा रहेको खानीबाट ढुङ्गा निकालेर प्रशोधन गरिएको फलामको हतियार उत्पादन गरी युद्धमा प्रयोग भएको स्थानीयवासी राजेशकुमार अर्यालले बताउनुभयो । सेनकालीन समयमा प्रयोग भएको यो खानीलाई पुनः सञ्चालनमा ल्याउनुपर्ने अर्यालको भनाई छ ।
खानीसम्म पुग्न सडकको सहज पहुँच छैन । छापका स्थानीयवासी नुहाउन जाने गोरेटो बाटोदेखि करिब १० मिटर माथि खानी छ । जङ्गलको बीच भागमा रहेको खानीमा दुम्सीको बासस्थान रहेको छ । दुम्सीले माटो फालेकोले अहिले प्रवेशद्वार नै साँघुरो बनेको स्थानीयबासिन्दा तथा वडासदस्य कुलबहादुर थापाले बताउनुभयो । प्रवेशद्वार साँघुरो भए पनि भित्र निकै फराकिलो रहेको थापाले बताउनुभयो । यहाँबाट ढुङ्गा डाँडाबस्ती नजिकै लगेर प्रशोधन गरी फलाम निकालिएको बूढापाकाले बताएको र त्यसको असर अझै पनि बारीमा देखिएको थापाले बताउनुभयो ।
सेनकालीन राज्य पाल्पालाई चाहिने हातहतियार छापमा उत्पादन हुँदै आएको थियो । त्यहाँका विश्वकर्मा जातिले उत्पादन गरेका हतियार युद्धका निम्ति सैनिकलाई हस्तान्तरण गरेको इतिहास छ । सेनकालीन फलाम खानीको फेरि उत्खनन हुनुपर्ने माग छ ।
इतिहासविद् निर्मल श्रेष्ठले खानी आसपासका क्षेत्रमा फलामको काम गर्ने विश्वकर्मा जाति र गोलन्दासको बस्ती छ । विश्वकर्मा जातिले कृषि उत्पादनका निम्ति चाहिने औजारको निर्माणसम्बन्धी काम गर्दै आएका छन् । गोलन्दास बाग्लुङबाट छापमा बसाइँसराइ गरी आएको पाइन्छ । गोलन्दास दक्ष सैनिकसँग सम्बन्धित पद हो । गोलन्दास त्यस क्षेत्रको खानीको सुरक्षा गर्न आएकोे हुनसक्ने बताइन्छ ।