• काठमाडौं । नेपालको उपराष्ट्रपति नन्दबहादुर पुन(मगर)ले अधिकार कार्यान्वयन गर्न विश्वभर रहेका राई समुदायको एकता आवश्यक रहेको बताएका छन । 
    शनिबार (कार्तिक २७) काठमाडौको राष्ट्रिय सभागृहमा आयोजित किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले सो कुरा बताएका हुन ।
    २००७ सालको क्रान्तिमा रामप्रसाद राई र नागरदमुनी थुलुङले गरेको बिद्रोहको विरासत रहेको राई समुदायको नेपालको हरेक परिवर्तनमा योगदान रहेको भन्दै प्रसंशा गरे । 
    नेपाल बहुधार्मिक, बहुसाँस्कृतिक मुलुक भएको उल्लेख गर्दै संगठितरुपमा एकता भएर लाग्दा मात्र अधिकार कार्यन्वयन हुने उपराष्ट्रपति पुनको भनाइ थियो । 
    राई समुदायमा मुन्दुम दर्शन सम्पदाको रुपमा रहेको उल्लेख गर्दै भाषिक विभिधता रहेको समुदायमा सांस्कृतिक एकताले बाँधेर साझा उदेश्य प्राप्त गर्न बिकल्प नरहेको बताए ।
    पुर्खाको लामो मेहनतबाट भाषा संंंस्कृतिको बिकास गरेको उल्लेख गर्दै बर्तमानले भावि पुस्तालाई हस्तान्त्रण गर्नुपर्ने बताए । 
    विश्वभर रहेका राई समुदायले शिप र धन नेपालमा लगानी गर्न अनुरोध गर्दै संमृद्द नेपाल निर्माणको जिम्मेवार सदस्य बन्न आग्रह गरेका छन् । ब्यक्तिगत विचार भन्दै आफू उपराष्ट्रपति हुनुपूर्ब पहिचानको मुद्धा बोकेर आएको हुनाले कहिल्यै त्यो मुद्धाबाट पछि नहट्ने पुनले बताए । 

    मुख्यमन्त्री राजेन्द्र राईले कसम खाएर भने बहुपहिचान छाड्दिन
    प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नाम पहुपहिचानको आधारमा राख्न पहल गर्ने बताएका छन् । 
    प्रदेशको नाम किरात कोशी, किरात सगरमाथा वा नाममा किरात जोडेर प्रस्ताव गर्ने संकेत गरेका छन् । 
    आफू सम्बद्ध पूर्ब पार्टी एमालेको दुई वटा महाधिवेशन तथा निर्वाचनहरुमा बहुपहिचानको आधारमा प्रदेशको नाम राख्ने निर्णय र लिखित प्रतिबद्धता गर्दै आएकोले अहिले आएर धोका दिनु नहुने बताए । 
    आफ्नै पार्टी नेकपा (एकीकृत समाजवादी)का नेताहरु पनि पहिचानको आधारमा नाम राख्ने कुरामा आनाकानी गर्ने गरेपनि आफू कुनैपनि हालतमा बहुपहिचानबाट पछि नहट्ने मुख्यमन्त्री राईले बताए । 
    ‘मुख्यमन्त्री पद जाओस, बरु अशोककुमार राई जस्तो पार्टी छोड्नु पर्ने अवस्था आएपनि बहुपहिचान छाड्दिन’ मुख्यमन्त्री राजेन्द्र राईले भने ‘नाम राख्नको लागि पाँच दलीय गठबन्धन र प्रतिपक्ष एमालेको पनि साथ चाहिन्छ त्यसको लागि पहल गर्छु ।’
    अघिल्लो सरकारको पालामा प्रदेशको नाम कोशी राख्न तत्कालीन नेकपाका नेताहरुबाट निर्देशन आएपनि माओवादी केन्द्रका सांसद र आफूहरुले नमानेको कारण रोकिएको प्रसंग उल्लेख गरेका थिए । प्रदेशको नाम सर्वसहमतिको आधारमा बहुपहिचानको नाम राख्न पाँच दलीय गठबन्धन र प्रतिपक्ष एमालेसँग पहल गर्ने कसैले नमाने जनतासामु आउने राईको भनाइ थियो । 
    जात विभाजन भएदेखिनै बिभेद सुरु भएको उल्लेख गर्दै संघीय गणतन्त्र स्थापनापछि विभेदको अन्त्य हुनुपर्ने बताए । विश्वमा गैडा र रेड पान्डाको संरक्षणमा लाग्ने तर नेपालमा रहेका विभिन्न भाषिक, सांस्कृतिक पहिचान जोगाउन पहल नहुने गरेको राईको भनाइ थियो ।  

    यायोक्खाको महत्व अझ बढ्दैछः अशोककुमार राई
    जनता समाजवादी पार्टीका बरिष्ठ नेता अशोककुमार राईले किरात राई यायोक्खाले विश्वभरको राई समुदायलाई एकताबद्ध राख्न पहल गरिरहेको बताएका छन् ।
    किरात राई तेस्रो अन्तराष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै पूर्ब संघीय मन्त्री राईले सो कुरा बताएका हुन । 
    किरात राई समुदायको भाषा, लिपी, संस्कृति, इतिहास र सभ्यतालाई उजागर गर्न यायोक्खा लागिरहेको राईको भनाइ थियो । राई समुदाय जुनसुकै विचार र पार्टीमा रहेपनि यायोक्खामा आउँदा एकता झल्किने बताए ।
    राष्ट्रियता नागरिकता र भावनासँग जोडिएको दुई वटा आयाम हुने उल्लेख गर्दै  भाषा, संस्कृतिसँग जोडिएको राष्ट्रियता कुनै देशको सीमानाले छेक्न नसक्ने राईको भनाइ थियो । 
    समुदायलाई एकताबद्ध राख्ने पहल गरिरहेकोले संस्थाको महत्व झनै बढ्दै गएको उल्लेख गर्दै यायोक्खालाई एकताको माध्यमको रुपमा संरक्षण र सम्मान गर्नुपर्ने बताए । यायोक्खाको पहलमा नेपालमा मात्र नभएर विश्वभर रहेका राईहरु एकताबद्ध हुनुपर्ने बताए । 
    बरिष्ठ नेता राईले नेपालमा विभेद कायम रहेको उल्लेख गर्दै परिवर्तन बाँकी रहेको बताएका छन् । नेपालमा राजनीतिक परिवर्तन भएपनि उत्पीडित समुदायलाई न्याय दिन नसकेको उल्लेख गर्दै कानूनी र विधिवत रुपमा विभेद कायम रहेको बताए ।
    जातको आधारमा हुने विभेद अपराध हो । विभेदको अन्त्यमा लाग्न हरेक नेताको कर्तब्य हो । नेपालका श्रमजिवीहरु शान्ति र सहमतिको आधारमा परिबर्तन हुनेमा विस्वास रहेको नेता राईले बताए । 
    ‘सहमतिकै आधारमा परिवर्तन गर्न पहल र प्रयत्नहरु गर्छौ’ बरिष्ठ नेता राईले भने ‘अर्कोबाटो बाट जान नपरोस भन्ने हाम्रो चाहना छ ।’ 

    कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ केन्द्रीय उपाध्यक्ष गोबिन्द छन्त्याल, किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेम, आदिबासी जनजाति आयोगको सदस्य शरण राई, यायोक्खा पूर्ब अध्यक्ष यशोदा राई, बेलायत अध्यक्ष कल्पना राई, भारतबाट आएका डा.बिरेन्द्रसिंह राई लगायतले सम्मेलन सफलताको शुभकामना दिएका थिए । 
    किरात राई तेस्रो अन्तराष्ट्रिय मुल आयोजक समितिको संयोजक दिवस राईको सभापतित्वमा भएको कार्यक्रममा महासचिव जनक राईले सञ्चालन र यायोक्खा उपाध्यक्ष जिवन हाताछो राईले स्वागत गरेका थिए । 
     

    महागायक लगायत बरिष्ठ कलाकारले दिए बेजोड प्रस्तुति


    कार्यक्रममा नेपाली भाषाका महागायक राजेशपायल राई, बरिष्ठ गायक गायिकाहरु पार्वती राई, भीषण मुकारुङ राई, हास्य कलाकार फुलन्देकी आमा (उमेश राई), बाँसुरी बादक नगेन्द्र राई, किरात राई सांस्कृतिक कलाकार संघका राई नवीन, पदम राई लगायतका कलाकारहरुको गीत गाएर मनोरञ्जन दिएका थिए । 
    ४) बन्दसत्रमा आठ भन्दा बढी कार्यपत्र प्रस्तुत हुने
    विश्वभर रहेका राई समुदायको एकता, संस्कार, संस्कृतिमा एक रुपताको लागि विश्व सम्मेलनहरु गर्दै आएको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको बन्द सत्रमा आठ भन्दा बढी कार्यपत्रहरु प्रस्तुत हुने भएको छ । 
    आज (आइतबार)देखि दुई दिनसम्म चल्ने बन्द सत्रमा ‘किरात इतिहास र राई जाति’ बारे अनुसन्धानकर्ता भोगिराज चाम्लिङ राई, ‘किरात राई समुदायको भाषाको अवस्था’ बारे डा.नेत्रमणि दुमी राई, ‘किराती भाषामा आलेखन र लिपीको प्रयोग’ बारे डा.तारामणी कोयू राई, ‘किरात धर्म र माङखिम’ जयकुमार राई (कुलपति, किरात राई प्रज्ञा परिषद) ‘मुन्दुममा सुप्तुलुङको स्थान र प्रयोग’ शान्तिदेवि राई (मुन्दुम अध्ययता) र चतुरभक्त दुमी राई (सहप्रध्यापक), शान्तिदेवि राई, अमेरिकामा माङखिम बारे दिवस कोयु राईले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
    त्यसैगरी किरात प्रदेशको आन्दोलन र नामकरणको सवालमा अध्यक्ष दिवस राई, किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिको नियमावलीको मस्यौदा यायोक्खा उपाध्यक्ष जीवन हाताछो राई र नेपालको १२ औं राष्ट्रिय जनगणना बारे महासचिव जनक राईले कार्यपत्र प्रस्तुत हुनेछ । 
    किरात राई यायोक्खाको सम्पर्कमा १८ भन्दा बढी देशहरुमा सञ्जाल र सम्पर्क रहेको छ । यो सम्मेलनमा १२ देशबाट प्रतिनिधि सहभागि हुने नेपाल आएका छन् । 
     

सम्वन्धित समाचार

मोरङ । माओवादीले चलाएको जनयुद्धकालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .(मुक्तिं)ले पार्टीले भुईँ …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …