• गण्डकी, ३० कात्तिक

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नविनतम प्रविधिको प्रयोग गर्दै सेवाग्राहीलाई छरितो रुपमा सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा चौँथोँ र पाँचौ तहका कर्मचारीका लागि आयोजित सेवाकालीन तालिमको सोमबार उद्घाटन गर्दै उहाँले पुराना ढड्डा पल्टाएर बस्ने बेला गइसकेको भन्दै कार्यालय व्यवस्थापन र सेवा प्रवाह दुवै पक्षको ख्याल गरेर काम गर्न आग्रह गर्नुभयो । सरकारको नेतृत्व फेरबदल भए पनि कर्मचारीतन्त्र स्थायी सरकार भएकाले गुनासो नआउने गरी प्रभावकारी काम गर्न उहाँले आग्रह गर्नुभयो ।

    तालीमले कर्मचारीको वृत्ति विकासमा सघाउने भएकाले त्यहीअनुसार  उपयोग गर्नुपर्ने बताउँदै उहाँले प्रदेश सरकार बजेटको सीमितताबीच अगाडि बढिरहे पनि कर्मचारीको क्षमता अभिवृद्धिका लागि कुनै कन्जुस्याइँ नगरेको बताउनुभयो । मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कुमालले तालिममा जुनसुकैले पनि ज्ञान, सीप र व्यहारमा परिवर्तन गर्ने शैली सिक्ने भएकाले त्यसको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

    मुख्यन्यायाधिवक्ता रोहितराज बाँस्तोलाले सेवाग्राही पहिला सहायकस्तरका कर्मचारीसँग सम्पर्कमा आउने भएकाले नरम र सहज व्यवहार प्रस्तुत गर्न आग्रह गर्नुभयो । सङ्घीय शासन प्रणालीमा तीन तहका सरकारबीच समन्वयकर्ताको भूमिका कर्मचारीले निभाउनुपर्ने भन्दै उहाँले कर्मचारीमाथि सरकारले गरेको लगानीको सही नतिजा आउनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

    प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले सहायकस्तरका कर्मचारीका लागि थालेको ३० कार्यदिने तालीममा कार्यालय सञ्चालन तथा व्यवस्थापनका बारेमा शैद्धान्तिक व्याहारिक पक्षका विषयमा प्रशिक्षण दिइने जानकारी दिनुभयो । कर्मचारीको ज्येष्ठताका आधारमा मापदण्ड बनाएर कर्मचारी छनोट गरिएको र पहिलो चरणमा ६० जना छानिएको बताउँदै उहाँले १२० जनालाई यो तालीम प्रदान गरिने बताउनुभयो । तालिममा ११ जिल्लामा सङ्घ, प्रदेश र स्थानीय तहका कार्यालयका कर्मचारी सहभागी छन् । 

    बीस महिना अघि स्थापित प्रतिष्ठानले पाँचवर्षे रणनीति बनाएर त्यहीअनुसार अगाडि बढेको र दुई वर्ष भित्रमा सुविधा सम्पन्न भवन निर्माण गरी प्रशिक्षण र अनुसन्धानमा प्रतिष्ठानलाई अब्बल बनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…