• सप्तरी, ९ मङ्सिर 

     यहाँको कञ्चनरूप नगरपालिकामा सहरी खानेपानी तथा सरसफाइ आयोजना कार्यालय पानीपोखरी काठमाडौँका सहयोगमा ‘सहरी खानेपानी तथा सरसफाइ आयोजना’ सञ्चालन हुने भएको छ । 

    नगरप्रमुख वसन्तकुमार मिश्रले कञ्चनरूप–१२ स्थित धरमपुरमा अतिरिक्त बोरिङको शिलान्यास गर्दै खानेपानी आयोजनाको काम तीव्ररूपमा सुरु भएको घोषणा गर्नुभयो । लामो समयदेखि खानेपानीको अभाव खटकिएको नगरपालिकाको केही वडामा खानेपानीको सर्वसुलभ व्यवस्था मिलाउन  आयोजनाले सहयोग पुग्ने जानकारी दिनुभयो । आयोजना निर्माण सम्पन्न भएपछि सबैको घरघरमा खानेपानी पुग्ने आयोजनाले जनाएको छ ।

    कञ्चनरूप खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष भुवनबहादुर केसीले अतिरिक्त बोरिङ गर्ने, पाइप जडान गर्नेलगायतका प्रारम्भिक काम सञ्चालनमा आएको जानकारी दिनुभयो । सन् २०१८ मै भएको पहिलो सर्वेक्षणअनुसार आयोजनाबाट वडा नं ८ र १२ का सबै तथा वडा नं ४, ७, ९ र ११ का आंशिक गरी चार हजार ४६४ घरधुरीले खानेपानीको सेवा पाउने छन् ।

    आयोजनाका अनुसार नगरपालिकाको वडा नं १२ को धरमपुर र चर्खिया बस्तीपुर तथा वडा नं ८ को कञ्चनपुर हटियामा निर्माणाधीन स्थलहरू गरी छवटा पुरानैमा तीनवटा बोरिङ थप गरिनेछ । साथै १४० किलोमिटर पाइपलाइन जडान हुने आयोजनाले जनाएको छ । नौवटा बोरिङ र धरमपुर, रूपनगर र कञ्चनपुरमा निर्माणाधीन पानीट्याङ्कीबाट आपूर्ति गरिने खानेपानीको उत्पादन क्षमता कञ्चनपुर र रूपनगरमा प्रतिसेकेण्ड १५ लिटर र धरमपुरमा १० लिटर रहने प्राविधिकको भनाइ छ ।

    सन् २०१८ को ढाँचा अनुसार नगरपालिकाका २४ हजार ४६४ जनसङ्ख्या लाभान्वित हुनेछन् । सन् २०४० सम्ममा करिब ४० हजार जनसङ्ख्या पुग्ने अनुमान गरिएको छ । बीस वर्षपछि १६ हजार ९०१ घरधुरी थप हुने आयोजनाको प्रारम्भिक अनुमान छ ।

    परामर्शदाता पिइएविन जेभी र निर्माण व्यवसायी शर्मा–दिवा–सगुन जेभी रहेको उक्त आयोजनाको २०७८ असार २९ गते ठेक्का सम्झौता भएको हो । जम्मा रु ६८ करोड ८४ लाख ९४ हजार ५०८ को लागत अनुमान रहेको यो आयोजना रु ४४ करोड २९ लाख ९ हजार १९९ करसमेत गरी ठेक्का सम्झौता भएको छ ।

    शर्मा दिवा सगुन जेभीले आयोजनाको काम गर्नेछ र ठेक्का सम्झौतापत्रमा उल्लेख भएअनुसार दुई वर्षभित्रमा पहिलो चरणको निर्माणकार्य सम्पन्न गरिसक्ने छ । यस आयोजनालाई विश्व बैंक (एडिबी) बाट ऋण प्राप्त भएको आयोजनाको व्यवस्थापन कार्यालयले जानकारी दिइएको छ ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…