• रोल्पा, १५ मङ्सिर  

    रोल्पाको त्रिवेणी  गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा फड्को मारेको  छ । सामान्य स्वास्थ्य उपचारका लागि समेत जिल्लाबाहिर जानुपर्ने बाध्यता व्यहोर्दै आएका स्थानीयवासीले गाउँपालिकाबाटै विशिष्टीकृत स्वास्थ्य सेवा लिन थालेका छन् । 

        गाउँपालिकाले स्थानीयवासीको उपचार  सेवाका लागि चिकित्सकसहित  अत्याधुनिक एक्स–रे सेवा दिएको छ । गाउँपालिकाले एकजना एमबिबिएस चिकित्सक नियुक्त गरी विशेषज्ञ सेवा दिन थालेको छ । डिआर  सिस्टमको एक्स–रे सेवा  उपलब्ध गराउनाका साथै गाउँपालिकाका दुईवटा स्वास्थ्य चौकी नुवागाउँ र  नेर्पामा प्रयोगशाला सेवासमेत सञ्चालनमा  ल्याएको छ । 

        “गाउँपालिकाले स्वास्थ्य  क्षेत्रमा गरेको लगानीले स्थानीयवासी निकै खुसी भएका छन्”, स्थानीयवासी रेखा नेपालीले भन्नुभयो । सामान्य एक्स–रे र प्रयोगशाला सेवाका लागि पनि दाङलगायत जिल्लाबाहिर जानुपर्ने समस्या टरेको नेपालीले बताउनुभयो । आफ्नै घरआँगनबाट यो सुविधा पाउँदा समय र पैसाकोसमेत बचत भएको नेपालीले बताउनुभयो । गाउँपालिकाले उपलब्ध गराएको यो सुविधासँगै स्थानीयवासीले घरकै आटोपीठो खाएर उपचार गर्न पाएको नेपालीको भनाइ छ  ।

        स्वास्थ्य सुधारका लागि महिला स्वास्थ्य स्वयम्सेविकाहरुको सेवा सुविधा वृद्धि तथा क्षमता विकासमा समेत गाउँपालिकाले लगानी गरेको छ । महिला स्वास्थ्य स्वयम्सेविकाहरुको सेवा अझै गुणस्तरीय र भरपर्दो बनाउन उनीहरुको  सेवासुविधा पनि थप गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले नेपाल सरकारले उपलब्ध गराउँदै आएको भत्तामा वार्षिक रु १२ हजार थप  गरेको छ । 

        साथै गाउँपालिकले घरमा हुने प्रसूतिलाई शून्यमा झार्ने लक्ष्यसहित काम गरेको  छ । घरमा हुने प्रसूतिलाई निरुत्साहत गर्न र संस्थागत  प्रसुतिलाई प्रोत्साहन गर्न स्वास्थ्य संस्थामा  प्रसूति गराउन आउने आमाहरुलाई यातायातस्वरुप नेपाल सरकारले उपलब्ध  गराएको  भत्तामा रु एक हजार थप  गरेको  गाउँपालिको भनाइ छ । 

        महिला स्वास्थ्य स्वयम्सेविकालाई उपलब्ध गराएको प्रोत्साहन र संस्थागत सुत्केरीमा  गरिएको प्रोत्साहनले गाउँपालिकाको स्वास्थ्य सूचकांकमा सकारात्मक परिवर्तन आएको गाउँपालिकाको स्वास्थ्य शाखाको भनाइ छ । गाउँपालिकामा आर्थिक वर्ष २०७६÷७७ मा संस्थागत सुत्केरी सङ्ख्या ४५.४  प्रतिशत मात्रै रहेकामा  आर्थिक  वर्ष २०७७÷७८ मा यो सङ्ख्या बढेर ५६ प्रतिशत पुगेको थियो । साथै गर्भ जाँच  गर्नेहरुको सङ्ख्या आर्थिक वर्ष २०७६÷७७ मा ४६.७ प्रतिशत रहेकामा आर्थिक वर्ष ०७७÷७८ मा यो सङ्ख्या बढेर ६४ प्रतिशत  पुगेको थियो । 

        “महिला स्वास्थ्य स्वयम्सेविकालाई उपलब्ध गराएको प्रोत्साहन भत्ता र स्वास्थ्य संस्थामा प्रसूति गर्न आउनेलाई दिइने थप यातायात सुविधाले गाउँपालिकाको स्वास्थ्य सूचकांकमा सकारात्मक परिवर्तन आएको छ”, गाउँपालिकाका स्वास्थ्य संयोजक पूर्ण बुढाले भन्नुभयो ।
     

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …