•  चितवन, १८ मङ्सिर

    मेडिकल सिटीको रुपमा परिचत भरतपुरमा सञ्चालनमा रहेको एक अस्पतालले स्तरोन्नति गरी सुविधा सम्पन्न भवन निर्माण गरेको छ । कूल ५५ शय्याको नेशनल सिटी हस्पिटलले आधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन बनाएर १०० शय्या सञ्चालन गर्न लागेको हो ।

        अस्पतालका व्यवस्थापक विक्रम अधिकारीका अनुसार भवन तथा सहरी विकास मन्त्रालयबाट अनुमति लिएर स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार साततले भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । दुई सय जना शेयर धनी रहेको यस अस्पतालको संस्थागत शेयर धनीका रुपमा श्री मेडिकल एण्ड टेक्निकल कलेज रहेको छ । अधिकारीका अनुसार १०० शय्या सञ्चालनमा आउँदै गर्दा यसको लगानी रु एक अर्ब ५० करोड पुग्ने छ । उहाँले भन्नुभयो, “जिल्लामा उत्कृष्ट, सुविधा सम्पन्न अस्पताल हाम्रो हुने छ ।”

        अस्पतालका सञ्चालक एवं श्री मेडिकल एण्ड टेक्निकल कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालका अनुसार भवनमा २०० शय्यासम्म सञ्चालन गर्न सक्ने गरी निर्माण गरिएको छ । उहाँका अनुसार अत्याधुनिक र आधुनिक प्रविधिका उपकरण भित्र्याइँदै छ । कतिपय उपकरण आइसकेका छन् भने कतिपय आउने क्रममा रहेको छ । मेडिकल कलेजपछिको ठूलो लगानीको अस्पतालको रुपमा यसलाई विकास गर्न लागिएको छ ।

        अस्पतालका अर्का सञ्चालक कल्याण जोशीका अनुसार  १३ वर्षअघि रु पाँच करोडको लागतमा नारायणगढमा स्थापना गरिएको यस अस्पताल हाल भरतपुरको चौबिसकोठीमा रहेको छ । करिब १२ कट्ठा जग्गा खरिद गरेर अस्पतालको स्तरोन्नति गरिएको हो । अस्पतालमा विशिष्टिकृतसहित सबै सेवा उपलव्ध गराइने उहाँको भनाइ छ । अस्पतालले जग्गा आफैँले खरिद गरी स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसारको भवन निर्माण र आधुनिक उपकरण जडान गर्न लागेकाले लगानी ठूलो भएको जोशीले जानकारी दिनुभयो । कतिपय उपकरण मेडिकल कलेजमा समेत नभएका आधुनिक उपकरण राखेर सेवा दिने उहाँको भनाइ छ ।

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …