• विश्वमा पछिल्लो समयमा फैलिँदै गएको कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिम बढ्न नदिनका लागि गुल्मीका स्थानीयस्तरमा सहयोगदाताहरूले पुनः स्वास्थ्य सामग्री उपलब्ध गराउन सुरु गरेका छन् । यसै अभियानअन्तर्गत नेपाल सरकारका पूर्व मुख्यसचिव एवं चीनका पूर्वराजदूत लीलामणि पौड्यालले गुल्मीमा २० थान अक्सिजन कन्सन्ट्रेटर सोमबार हस्तान्तरण गर्नुभएको छ ।

    हस्तान्तरण गरिएका सामग्रीमा गुल्मी अस्पताल तम्घासमा आठ, रिडी स्वास्थ्य केन्द्रमा दुई, धुर्कोटमा दुई, जोहाङमा दुई, श्रृङ्गामा दुई, बम्घामा एक, बलेटक्सारमा एक, मुसिकोट र चन्द्रकोटमा एक÷एक गरी २० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । वितरण गरिएका सामग्री चिनियाँ सहयोगी हातहरूमार्फत चीनका पूर्वराजदूत पौड्यालको पहलमा जिल्लामा भित्र्याइएको हो ।
     
    अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्दै पूर्वराजदूत पौड्यालले कोही पनि नागरिक अस्पताल पुगेर अक्सिजन अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आफ्नो पहलमा चिनियाँ नागरिकको सहयोगमा उक्त सामग्री उपलब्ध गराइएको बताउनुभयो । उहाँले उपलब्ध सामग्रीलाई स्वास्थ्य संस्थाले भरपुर उपययोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

    सो अवसरमा गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले चिनियाँ हातहरूले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता प्रकारका सहयोगले स्वास्थ्य संस्थामा थप सहयोग पुग्नुका साथै बिरामी र स्वास्थ्यकर्मीको मनोबलसमेत बढ्दै जाने बताउनुभयो । कार्यक्रममा स्थानीय पालिकाका अध्यक्ष एवं अन्य जनप्रतिनिधिले जिल्लाको स्वास्थ्य समस्यालाई बुझेर पौड्यालमार्फत चिनियाँ हातहरूले गरेको सहयोगप्रति उच्च प्रशंसा गर्नुभएको थियो । 

    कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रमको संयोजन युवा समाजसेवी यदु ज्ञवाली र भुवनेश्वर अर्यालले गर्नुभएको थियो भने त्यसको सहजीकरण स्थानीय स्वास्थ्य संस्थाहरूबाट गोपालप्रसाद पाण्डे, रामलाल विश्वकर्मा, हरि ज्ञवाली, छत्र अधिकारी, लोकनाथ पाण्डे र रबि कँडेललगायतले गर्नुभएको थियो । चिनियाँ सहयोगी हातहरूमार्फत पूर्वराजदूत पौड्यालले यसअघि जिप्रका गुल्मीमार्फत जिल्लामा एक लाख थान मास्क प्रदान गर्नुभएको थियो ।
     

सम्वन्धित समाचार

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…

 ताप्लेजुङ, २८ माघ : ताप्लेजुङका स्थानीय तहका जनप्रतिनिधिहरुले यहाँस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा ज…

गलकोट (बागलुङ), १४ माघ : ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’को ३१ फिट अग्लो मौलोलाई देश दर्शन गराइ…

म्याग्दी, २२ पुस : म्याग्दी जिल्लाको विद्युत् विकासको ‘गेटवे’ मानिएको राहुघाट जलविद्युत् आयोजना …