मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पञ्चायत माविका छात्रा, छात्रहरुलाई यौन हिंसा न्युनिकरणका लागि आत्मरक्षा तालिम आज (आइतबार) समापन भएको छ ।
फाइट ब्याक र शरणार्थी सम्बन्धी उच्च आयोग (युएनएचसीआर)को संयुक्त आयोजनामा पञ्चायत माविको कक्षा ५ देखि १० कक्षासम्मको ७१९ जना विद्यार्थीलाई आत्मरक्षा सम्बन्धि तालिम दिएको फाइट ब्याकका प्रशिक्षक पुजा गुरुङले जानकारी दिए । तालिममा छात्रा ४५४ र २६५ जना छात्र सहभागि भएका थिए । तालिम १८ दिनसम्म चलेको थियो ।
यौंन हिंसा के हो ? सुरक्षित रहन के गर्ने ? रोकथामको उपाय र मद्दत कहाँबाट लिने लगायतको बारे विद्यार्थी, अभिभावक र शिक्षकलाई समेत तालिम दिइएको प्रशिक्षक गुरुङले जानकारी दिए । छात्राहरुलाई चार लटमा तीन दिनको दरले र छात्रलाई एक दिनको दरले तालिम दिइएको थियो ।
युएनएचसीआरको सहयोगमा भएको तालिममा रबिना लामा, रोश्नी थिङ, शन्तोष सिग्देल, अश्विन चौधरी, टिना मानन्धर र ममता जे प्रकाश सिंहले दिएका थिए । फाइट ब्याकले नेपालको ३० वटा जिल्लामा यस्तो तालिम दिइसकेको प्रशिक्षक पुजा गुरुङले बताए ।