• चितवन, २८ पुस 

    कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्लामा सञ्चालित मेला महोत्सव बन्द गर्न आदेश दिएका चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङ आज आफैं चितवन महोत्सव घुम्न पुगेका छन् ।

    २६ पुसको सर्वदलीय सर्वपक्षीय बैठकले जिल्लामा सञ्चालन भएका र सञ्चालन तयारीमा रहेको सबै मेला महोत्सव बन्द गर्ने निर्णय गरेको थियो । चितवन महोत्सव सञ्चालन भइसकेकाले दुई दिन व्यवस्थापनको काम गर्न दिएर अरु सबै महोत्सव रोकिएको थियो ।

    बैठकको निर्णयअनुसार सीडीओ अस्मान तामाङले रत्ननगर महोत्सव, खिचरा महोत्सव र देवघाटमा लाग्ने माघे संक्रान्तिको मेला नगर्न विज्ञप्तिमार्फत आदेश दिएका थिए । महोत्सव बन्द गर्न आदेश दिएका उनै सिडिओ तामाङ भने चितवन महोत्सव हेर्न पुगेका छन् । चितवन महोत्सव ४ माघसम्म सञ्चालन हुने पूर्व निर्धारित कार्यक्रम थियो ।

    सीडीयाे तामाङ भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह, चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीसहित महोत्सवमा पुगेका हुन् । 

    कोरोनाको तेस्रो लहरको सुरू भएपछि सरकारले जोखिम नियन्त्रण गर्न सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेलामा रोक समेत लगाएको छ । १५ माघसम्म जिल्लाका विद्यालयहरू समेत बन्द गर्ने निर्णय कार्यान्वयन भइसकेको छ ।

    मेला महोत्सव बन्द गर्न आदेश दिएर आफै महोत्सव घुम्न पुगेपछि सीडीओ तामाङको आलोचना भएको छ । विद्यालय बन्द गर्न हतार गर्ने प्रशासन महोत्सव सञ्चालनमा लचक देखिएकाे स्थानीयकाे आराेप छ । यति मात्रै नभएर सीडीओ, एसपी र जनप्रतिनिधि नै संक्रमण फैलाउन सक्रिय देखिएकाे उनीहरूकाे आराेप छ । 

    बुधबार मात्रै पनि चितवनमा ८१ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । मंगलबार ४७ जना संक्रमित थपिएका थिए । बुधबार जिल्लामा सक्रिय संक्रमितको संख्या दुई सय ४० पुगेको छ । १० दिनअघि जिल्लामा ७६ जना सक्रिय संक्रमित थिए । 

सम्वन्धित समाचार

 काठमाडौँ, २९ भदौ: अन्ततः लौहपुरुष गणेशमान सिंहको प्रतिमा निर्माण कार्य सम्पन्न भएको छ । विगत २३ वर्ष…

 ढोरपाटन (बागलुङ), २८ भदौ : आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजका दिन आफ्नो बुबालाई भे…

 काठमाडौँ, १८ भदौ : ‘सहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार अत्याधुनिक स्मार्ट सडक ब…

रामपुर (पाल्पा), १३ भदौ : पाल्पाको रिब्दिकोट गाउँपालिका–२  जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाक…