• जनकपुरधाम, १२ माघ 

    मधेश प्रदेशमा जनमत पार्टीको अवरोध बीच राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न भयो । 

    विहान ९ बजेदेखि राष्ट्रिय सभाको मदतान हुने तोकिएको थियो । त्यस अघि सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताहरुले जनकपुरधाममा प्रवेश हुने मुख्य मुख्य नाकाहरुमा बिरोध प्रदर्शन गरिरहेका थिए ।

    जनमतका कार्यकर्ताहरु जनकपुरधामको पिराडी चोक, कमद चोक, मुरली चोक, रामानन्द चोक, जिरोमाईल लगायतका स्थानहरुमा विरोध गरिरहेका मतदानमा सहभागि हुन आउने प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखहरुलाई मतदान स्थलसम्म पुग्न निकै सकस भएको थियो । प्रहरीले उनीहरुलाई सकटिङ्ग गरेर मतदान स्थलसम्म पुर्‍याउने काम गरिरहेका थिए ।

    त्यही क्रममा जनता समाजवादी पार्टीका सांसद तथा प्रदेश मामिला संसदीय समितिका सभापति अशोक यादवले चढेको प्रदेश २–०३–००१ झ ००१८ नम्बरको गाडीमा पिराडी चोकमा तोडफोड गरेका थिए । त्यसैगरि, सर्लाही हरिवन नगरपालिका मेयर गणेश प्रसाई र उपमेयर रेणु पौडेल सवार प्रदेश २–०३–००१ झ ००२०को नम्बरको गाडीमा जनमतका कार्यकर्ताले स्थानीय राम चोकमा एक्कासी तोडफोड गरेका थिए । उक्त घटनामा मेयर प्रसाईको टाउकोमा चोटपनि लागेको छ । जनमत कार्यकर्ताले लाठी प्रहार गर्दा सांसद यादवको दाँया हात भाँचिएको छ ।

    त्यसैगरि, धनुषा गाणेशमान चारनाथ नगरपालिका उपमेयर मिना यादव चढेको प्रदेश २–०३–००१ झ ००८०को नम्बरको गाडीमा सिसा फुटाईएको छ । 

    त्यसैगरि बर्दिबास जाँदै गरेका जलेश्वर अस्पतालका निमित्त प्रमुख डा.सतिस साह माथी पीडारी चोकमा जनमतका कार्यकर्ताहरुले सरकारी गाडीको दुरुपयोग गरेको भन्दै आक्रमण गरेका थिए । आक्रमणमा परि मेसु  साहको सवारी प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडी पुर्ण रुपमा क्षतिग्रस्त भएको छ  भने मेसु  साहको मुखमा  चोट लागेर ८ वटा टका लागेको धनुषा प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए ।

    यसैबीच, जनमत पार्टीका नेता कार्यकर्ताहरुले मतदान स्थल जनकपुरधाम स्थित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान नजिक विरोध प्रदर्शन गर्दा प्रहरीसंग झडप समेत भएको थियो । सो क्रममा प्रहरीले पाँच राउण्ड आश्रुग्यास र लाठी चार्ज गरेको थियो । मतदान स्थलबाट जनमत पार्टीका कार्यकर्ताहरु लखेटिएपछि पिराडी चौकमा पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरी करीब चार घण्टासम्म प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच दोहरो झडप समेत भएको थियो ।

    प्रहरीका अनुसार प्रदर्शनकारीहरुले सातवटा मतदाताको सरकारी नम्बर प्लेडको गाडीमा तोडफोड गरेका छन् भने प्रदर्शनकारीको ढुंगामुढा लागेर ४ जना प्रहरी, तीन जना जनप्रतिनिधि र एक चिकित्सक सहित ८ जना घाइते भएका छन् । ६ जना प्रदर्शनकारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रजौरे जानकारी दिए । पक्राउ परेकाहरु माथि मुद्दा चलाउने तयारी भइरहेको उपरीक्षक रजौरेले बताए । 

    यसैबीच, राष्ट्रिय सभा निर्वाचनको क्रममा बुधबार जनकपुरधाममा सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको अराजक क्रियाकलाप घटनाको छानबिन गर्न मधेश प्रदेश सरकारले निर्देशन दिएको छ ।

    प्रदेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले विज्ञप्ति जारी गर्दै घटनाको छानबिन र पीडितलाई क्षतिपुर्ति एवम दोषीलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

    यसैबीच मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । महिला समूहमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र अन्य समूहमा जनता समाजवादी पार्टी(जसपा) नेपालका खालिद सिद्धिकी विजयी भएका छन् ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…