• चितवन, २० माघ 

    चितवनमा मंसिरयता २७ हजार बढीले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनकाअनुसार १ मंसिर २०७८ देखि मंगलबारसम्म २७ हजार २०१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । 

    उनीहरु १६ वर्ष उमेर माथिका मतदाता हुन् । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि मतदाता नामावली दर्ताको काम रोकिन्छ । त्यसपछि निर्वाचन कार्यालयले १८ वर्ष नाघेका मतदाताको नामावली अद्यावधिक गर्ने काम सुरु गर्ने छ ।

    केपी ओलीको सरकारले संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको थियो ।

    ५ पुस २०७७ सम्म जिल्लामा तीन लाख ६८ हजार ३८२ योग्य मतदाता थिए । त्यसपछि राजनीतिक उतारचढावका कारण २०७८ असारसम्म मतदाता नामावली संकलनको काम सुरु हुन सकेन । 

    असारपछि मतदाता नामावली संकलन सुरु भएको हो । असार र मंसिरको बीचमा मतदाता नामावली संकलनको काम खासै भएन । निर्वाचन कार्यालयले १७ मंसिर देखि १८ पुससम्म मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरेको हो ।

    विशेष कार्यक्रमअन्तर्गत निर्वाचन कार्यालयले भरतपुरबाहेक छ वटा पालिकाको केन्द्रमा पुगेर मतदाता नामावली संकलनको काम गरेको जिल्ला निर्वाचन कार्यालय चितवनका जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले बताए । विशेष कार्यक्रमबाट एक महिनामा १२ हजार ५२० जनाको मतदाता नामावली संकलन गरिएको हो ।

    ‘भरतपुरबासीले निर्वाचन कार्यालय र प्रशासन कार्यालयमै आएर मतदाता नामावलीमा नाम दर्ता गरे । बाँकी छ वटा पालिकाको केन्द्रमा हाम्रो टोली पुगेर त्यहाँ १५ दिन बसेर नामावली संकलनको काम गरेको हो’, उनले भने ।

    त्यसअघि मंसिर १ गतेदेखि १७ गतेसम्म जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयमा गरी ६६१ जनाको मात्रै मतदाता नामावली संकलन गरिएको थियो ।

    योग्य मतदाता चार लाख पुग्ने अनुमान

    १७ मंसिर देखि १८ माघसम्मको समयमा जिल्ला निर्वाचन कार्यालय, प्रशासन कार्यालय र इलाका प्रशासन माडीमार्फत १४ हजार २० जनाको मतदाता नामावली संकलन गरिएको उनले बताए ।

    यससंगै जिल्लामा मतदाताको संख्या चार लाख पाँच हजार ७६२ पुगेको छ । त्यसलाई अद्यावधिक गर्दा १८ वर्ष नाघेका योग्य मतदाता करिब चार लाख हुने कार्की बताउँछन् ।

    ‘विशेष कार्यक्रम पछि जति पनि मतदाता थपिएका छन्, ती अद्यावधिक नभएका मतदाता संख्या हो । दोहोरो परेका र मृत्यु भइसकेका मतदाताको नाम हटाएर अद्यावधिक गरेपछि योग्य मतदाताको संख्या आउँछ । हाम्रो अनुमानमा चार लाख जति योग्य मतदाता होलान्’, उनले भने ।

    ११ सय आए, ३५० मतदाता गए

    मतदाता नामावली संकलन विशेष कार्यक्रमका क्रममा चितवनमा बसाइसरी आउने मतदाताको संख्या पनि उल्लेख्य रहेको छ । निर्वाचन कार्यालयका अनुसार विभिन्न जिल्लाबाट ११ सय मतदाता बसाइसरी चितवन आएका छन् ।

    चितवनबाट अन्यत्र बसाईसरी जाने मतदाताको संख्या ३५० जनाको हाराहारीमा रहेको उनले बताए ।

    जिल्लाभित्रै एक पालिकाबाट अर्काे पालिकामा र पालिका भित्रै पनि एक वडाबाट अर्काे वडामा बसाइसर्ने मतदाताको विवरण पनि निर्वाचन कार्यालयले राखेको छ । जिल्ला भित्रै एक ठाउँबाट अर्काे ठाउँमा बसाईसर्ने मतदाताको संख्या करिब नौ सय रहेको उनी बताउँछन् ।

    त्यसैगरी अन्यत्र जिल्लाका नागरिकले पनि चितवनबाट मतदाता नामावली दर्ता गराएका छन् । विभिन्न जिल्लाका एक हजार ४४३ जनाले चितवनबाट फोटोसहितको मतदाता नामावली दर्ता गराएका उनले बताए । 

    ‘निर्वाचन आयोगले यस वर्ष अन्य जिल्लाका मतदाताले पनि यहाँबाट मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था गरेअनुसार हामीले १४ सय ४३ जनाको दर्ता ग¥यौँ । यहाँ दर्ता गरेपनि उहाँहरुको मतदाता परिचय पत्र भने सम्बन्धित जिल्लामा पुग्छ’, उनले भने ।

    यस्तो व्यवस्था अनुसार हुम्लाका २० भन्दा बढी मतदाताले चितवनबाट मतदाता नामावली दर्ता गराएका उनले जानकारी दिए ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…