२०७४ फाल्गुन १७
काठमाडौं : फाल्गुण शुक्ल पूर्णिमा अर्थात् फागुपूर्णिमा।
वसन्त उत्सवका रूपमा एकआपसमा रंग दलेर मनाइँदैछ। बिहीवार बिहान ८:१९ सम्म चतुर्दशी तिथि र त्यसपछि पूर्णिमा लाग्ने पात्रोमा उल्लेख छ।
वसन्त उत्सवकै एक रूपमा होली वा फागुपर्व मनाउने परम्परा रहेको संस्कृतिविद् प्रियंवदा काफ्ले बताउँछिन्।
होलीमा रातो, पहेँलो, हरियो र नीलोलगायत रंग प्रयोग हुन्छ।
होली खेल्न प्रयोग हुने रंगहरू विभिन्न किसिमका रासायनिक पदार्थबाट बन्ने भएकाले प्रयोगमा सावधानी अपनाउनुपर्ने चिकित्सकहरू बताउँछन्।
पहिले होली खेल्न फूल, पात र विभिन्न जडिबुटीबाट रंग तयार गरिने चलन रहेको काफ्लेको भनाइ छ।
रक्तचन्दनबाट रातो, बेसारबाट पहेँलो र दुवोबाट हरियोलगायत रंग बनाइन्थ्यो’, उनी भन्छिन्, ‘यस्ता प्राकृतिक रंगले मानव स्वास्थ्यमा केही असर पुर् याउँदैनथ्यो।
पुराणवाचक पं. बालमुकुन्द देवकोटाका अनुसार हिन्दु सनातन समाजमा हरेक वर्ष फाल्गुण शुक्ल अष्टमीमा होली आरम्भ हुन्छ।
रुख काटेर बनाइएको लिंगोमा विभिन्न रंगका ध्वजा सजाइन्छ। यसरी सजाइएको लिंगो सार्वजनिक ठाउँमा ठड्याइन्छ।
अष्टमीदेखि पूर्णिमासम्म आठ दिनसम्म मनाइने पर्व हुनाले फागुलाई ‘होलाष्टक’ पनि भनिन्छ।
ठाउँअनुसार होली फागु, होरी र होलिकोत्सव आदि नामले यो पर्व मनाइन्छ।
काठमाडौंमा शुभसाइतमा जंगलबाट काटेर ल्याइएको रुख तासेर ध्वजा पताकाले सिंगारी वसन्तपुरमा ‘चीरोत्थान गरिन्छ।
पूर्णिमाको मध्यरातमा होलिकास्वरूपको चीर दहन गरेपछि त्यसैबाट उत्पन्न रंग पानीमा घोली होली खेल्ने चलन रहेको पं देवकोटा बताउँछन्।
नेपालमा पहाडी भेगमा भन्दा तराईमा फागुको रौनक बढी हुन्छ।
रंग दल्ने र पानी छ्याप्ने यो पर्वको मुख्य आकर्षण हो। तराई मधेशमा फागुसम्बन्धी लोकगीतको रौनक हुन्छ। यस्तै होलीमा बनाइने विभिन्न स्थानीय परिकारले पनि यो पर्वको महत्त्व बढाएको हुन्छ।
पुराणमा हिरण्यकशिपुकी बहिनी होलिका दहन भएको खुशीयालीमा होली खेल्ने चलेको बताइन्छ। यस्तै भगवान् कृष्णले गोपिनीसँग होली खेलेको सन्दर्भ आउने पं. देवकोटा बताउँछन्।