पोखरा, १५ फागुन
खोलामा राखिएका काठेपुल ‘रिप्लेस’ गर्न २० फागुनदेखि मनाङ जाने बाटो बन्द हुँदैछ । गत असार र साउनमा आएको बाढीले बगाएपछि तिमाङ छहरामा ६ महिनाअघि काठको फड्के राखिएको थियो । निरन्तरको वर्षा र हिमपातले उक्त पुल मक्किएको छ । अहिले त्यहाँ कल्भर्ट राख्न लागिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।
म्यार्दी खोलामा दुई वर्षअघि पक्की पुल बनेपछि काठको पुलबाट गाडी तार्नुपर्ने बाध्यता हटेको छ । घोप्टेभिरमा पनि अघिल्लो वर्षसम्म काठकै पुल तरेर गाडीहरू आउजाउ गर्थे, अहिले त्यहाँ बेलिब्रिज राखिएको छ ।
यसबाहेक मनाङका अधिकांश खोला र नदीमाथी काठकै पुल छन्, जुन वर्षेनी नयाँ फेरिरहनुपर्छ । दुई साताअघि मनाङको नासों गाउँपालिकाको थोंचेदेखि तिल्चे जाने बाटोमा दुधखोलामाथि स्थानीयले काठेपुल हालेका छन् । ठेकेदारले पक्की पुल बनाउन ६ वर्षअघि ठेक्का लिएर पनि काम नगरेपछि त्यहाँ गाडी पार गर्न काठको पुल हालिएको हो । दुई सय १९ जना खेताला लगाएर काठको पुल जोडिएको त्यहाँका वडाध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।
२०७३ सालको असारमा ठेक्का लागेको यो पुल एक वर्षभित्रै सक्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म निर्माण अघि बढेको छैन । भ्याटबाहेक तीन करोड ५५ लाखमा दिइएको ठेक्काको काम अलपत्र पारेपनि ठेकेदारले पटकपटक गरेर करिब एक करोड ३२ लाख रुपैयाँ निकासा पाइसकेको छ । पुल बनाउन मृत सञ्जीवनी, खड्का र क्याराभान कम्पनीले ज्वाइन्ट भेन्चरमा कामको जिम्मा लिएका हुन् । यही खोला तरेर छिमेकी जिल्ला गोरखा र उत्तरी छिमेकी देश चीन जोडिन्छ ।
‘ठेकेदारले पुल बनाउने पैसा लग्यो । दिनदिनै अनुनय गर्छौं तर कसैले मतलव गर्दैनन्,’ गुरुङले भने, ‘सरकारभन्दा ठेकेदार बलियो भएको देशमा कसलाई के सुनाउनु ?’ त्यहाँको मात्रै हाेइन, क्याराभानले नै जिम्मा लिएको हुम्डे पुल पनि अलपत्र छ । जिल्लाका ६ वटा पुल अहिले पनि अलपत्र अवस्थामा छन् । सबैको ठेक्का क्याराभानले नै लिएको हो । पिसाङ र मुङजीमा निर्माणाधीन पुलको कुनै टुंगो छैन । तिमाङमा सकिनै लागेको पुल असारको बाढीले बगाएको छ ।
काठेपुल तत्कालको विकल्प भए पनि बर्खा लागेपछि जोखिम बढ्ने उनको भनाइ छ । ‘अहिले त्यत्रो खर्च लगाएर हालेको पुल बर्खा नलाग्दै भाँचिन्छ । पानीमा काठ खासै टिक्दैन,’ उनले भने, ‘पक्की पुल नबनाएसम्म स्थायी समाधान देख्दिनँ । राज्यले ध्यान दिओस् ।’ ठेकेदारको चरम लापरबाहीका कारण त्यहाँका नागरिकले सास्ती भोग्नुपरेको छ ।
काठेपुलकै भरमा ठूला गाडी समेत तर्दा जोखिम बढेको स्थानीयहरु बताउँछन् । नासों गाउँपालिका अध्यक्ष चन्द्र घले नयाँ टेन्डर निकालेर भए पनि पुल बनाउनुपर्ने बताउँछन् । ‘सात वर्षअघि पुलको ठेक्का दिएको हो । अहिलेसम्म हालत यस्तो छ,’ उनले भने, ‘गर्छ भने यही ठेकेदारलाई लाउनुपर्यो । नत्र ठेक्का तोडेर नयाँ टेन्डर निकाल्नुपर्यो ।’
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले गाडीको चाप बढेपछि पक्की पुल अनिवार्य भएको बताए । ‘मनाङमा मान्छे मात्रै होइन गाडी पनि काठकै पुलबाट तर्छन् । पछिल्ला वर्षहरूमा पर्यटकको चाप बढ्दै छ । ठूला गाडीहरू पनि आउन थाले,’ उनी भन्छन्, ‘काठेपुलले अब धान्दैन । तर जबर्जस्ती गर्नुपर्ने बाध्यता छ ।’ सडक आयोजनाले चामे जाने बाटोमा २१ वटा पक्की पुल बनाउनुपर्ने प्रस्ताव सरकारलाई गरेको छ । तर निर्माण प्रक्रिया अघि बढेको छैन ।