मोरङ । प्रिमियर अंग्रेजी शब्दको नेपालीमा मुख्य वा प्रमुख भन्ने हुन्छ । फुटबलको प्रिमियर ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को भोली (शनिबार) उपाधिको लागि द रियल ब्रदर्श र न्युस्टारवीच फाइनल प्रतिष्पर्धा हुँदैछ ।
उपाधि कस्ले जित्ला त्यो हेर्न भोली (शनिबार)सम्म कुर्नै पर्दछ । यद्यपि जित आफैले जित्ने दुबै टिमको दाबी छ । द रियल ब्रदर्श अघिल्लो बर्षको पनि उपबिजेता टिम हो । न्युस्टार भने गत बर्ष नकआउट (सेमी फाइनल)सम्म मात्र खेलेको क्लव हो ।
द रियल ब्रदर्शले तिर्थराज बस्नेत, समिर याक्खा, सेनेहाङ लिम्बू, अंकित धिमाल जस्ता सशक्त खेलाडी मैदानमा उतार्दै आएको छ । सेमी फाइनल खेल शिखर एफसीसँग को प्रतिष्पर्धामा समिर याक्खा, सेनेहाङ लिम्बू लगायतका खेलाडी घाइते भएका छन् । केही खेलाडी चोटको कारण फाइनल खेल्न नसक्ने अवश्तामा रहेको द रियल ब्रदर्शको मेनेजर संजोक चाम्लिङ राईको भनाइ छ । यद्यपि खेलाडीहरु मेहनत पूर्बक खेल्नुको साथै कोच सागर कार्कीको नयाँ, नयाँ रणनीतिको कारण उपाधि उठाउनेमा ढुक्क रहेको राईको दाबी छ ।
यता न्युस्टारको नेतृत्व गर्दै आएका बिरोज मगरले आफ्ना खेलाडीहरु स्किलफुल र फिटनेशमा फाइन रहेकोले उपाधि उठाउने दाबी गर्छन । न्युस्टारसँग लिगमा हालसम्मको सर्वाधिक ५ गोल गर्ने जुनियर लिम्बूको साथमा दिपेन माझी, सुरेन्द्र लिम्बू, अमर याक्खा, महेन्द्र मगर जस्ता खेलाडी मैदानमा उत्रिदै छन् । न्युस्टारको कोच युबल राई रहेका छन् ।
फाइनलिष्ट दुई टिमको यस्तो छ अघिलो प्रदर्शन
उपाधि जित्न दुबै टिम सशक्त रुपमा मैदानमा उत्रिदैछन् । दुबै क्लव यो लिगको समूह बीबाट फाइनलमा प्रदेश गरेको टिम हो । समूह चरणमा द रियल ब्रदर्श र न्युस्टार बिजेता, उपबिजेता भएर सेमी फाइनलमा प्रवेश गरेको हो ।
सेमी फाइनलमा न्युस्टार डिफेन्डिङ च्याम्पियन टेन नवोदयलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । द रियल ब्रदर्श शिखर एफसीसँगको संघर्ष पूर्ण १–० गोल अन्तरले जित निकाल्दै फाइनलको यात्रा तय गरेको टिम हो । सेमी फाइनल खेलमा शिखरले ‘खेलाडीको खुट्ट हान्ने’ रणनीति अपनाएको कारण स्टार खेलाडी फाइनल खेल्न नसक्ने अवस्थामा पुगेको मिलन चोम्बाङ लिम्बूले बताए । खेल जित्नुभन्दा पनि अनुशासित भएर प्रदर्शन गर्नुपर्ने लिम्बूको सबैलाई आग्रह छ ।
द रियल ब्रदर्शले समूह चरणमा न्युस्टारलाई ३–०, सिरिजंगालाई ४–१ र देविजञ्ज एफसीसँग गोल रहित बारबरी खेल्दै फाइनल पुगेको हो ।
एउटै समूहमा रहेका न्युस्टारले भने पहिलो खेल द रियल ब्रदर्शसँग ३–० ले पराजित ब्यहोरेपनि, देविगंजलाई ५–० र सिरिजंगालाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यसरी हेर्दा समूह चरणमा न्युस्टार ३–० गोल अन्तरले पराजित गरिसकेकोले द रियल ब्रदर्शसँग जितको मनोविज्ञान रहेको हुनसक्छ ।
लिगको मुख्य उदेश्य खेलाडी उत्पादन
‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ लिग आयोजक ‘पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ मुख्य नारा खेलाडी उत्पादनसँग सम्बन्धित छ । विवादहरु आउन खोज्दा होस वा माइकबाट आयोजक समितिको अध्यक्ष संजिव गिरी, उपाध्यक्ष बिक्की राई, सचिव मनि लिम्बू लगायतका आयोजक टोली पटक पटक यीनै उदेश्यलाई सम्झाउदै आएका छन् ।
अखिल नेपाल फुटबल संघ(एन्फा) मोरङले बिभिन्न कार्यक्रममा बोल्दा पथरीशनिश्चरे नगरका खेलाडीहरु नेपालको ए, बी डिभिजन र मोरङको ए डिभिजनको फुटबल प्रतियोगिताहुँदा पथरीशनिश्चरे नगरका खेलाडी हरेक टिममा रहने गरेको बताउदै आएका छन् । नगर प्रमुख दिलिपकुमार राईले खेलाडी उत्पादनको लागि नगरमा फुटबल, क्रिकेट र बुद्धिचाल प्रतिय ोगितामा खुलेर लगानी गर्दै आएको बताउदै आएका छन् ।
यसैवीच लिगले फुटबल खेलमा भविश्य बनाउन चाहने खेलाडीहरुको लागि सुवर्ण अवसर बन्दै आएको छ । खेल जित्नकै लागि खेल्ने हो । यद्यपि मैदानमा हुने सानातिना विवादलाई छाड्दै उत्कृष्ट खेल प्रदर्शन गरेर अघि बढ्न जरुरी छ । यी खेलहरुलाई कुनै पार्टी, पंक्ती वा समूहसँग जोडेर कसैले नहेरी आयोजक युवाहरुको खेलाडी उत्पादन गर्ने उदेश्यलाई सबैले साथ दिए भविश्यमा अझ ठूलो फड्को मार्न सक्छ ।