लमजुङ, ७ चैत
मनाङ जोडने एक मात्र बेसीशहर-चामे सडक पुन: १० दिन बन्द हुने भएको छ । बेसीशहर-चामे सडक अन्तर्गत मनाङ सडकखण्डको तिमाङ छहरामा निर्माण सम्पन्न भएको कल्भर्टको ढलान पूर्ण रूपमा सेट नभएकाले आइतबारदेखि चैत १५ सम्म १० दिन पुनः सडक बन्द गरिएको हो । पैदल यात्रुबाहेक सवारीसाधनका लागि सडक बन्द गरिएको मनाङ प्रशासनले जनाएको छ ।
नासों गाउँपालिका-९ तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण गरिएको छ। उक्त पुल गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो ।
मनाङ जिल्ला प्रवेश गर्ने सडकमार्ग बेशीसहर चामे खण्डको तिमाङ छहरामा दुईवटा ठाउँमा कल्भर्ट पुलको स्ल्याब ढलान कार्य सम्पन्न भएको र प्राविधिक हिसाबले सेट हुन १५ दिन लाग्ने भएकाले उक्त अवधिका लागि सडक बन्द गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए ।
यसअघि सडक निर्माणका लागि गत फागुन २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द गरिएको थियो। बेशीसहर-चामे सडकको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।