• चितवन, २४ चैत

    भरतपुर महानगरपालिकाको प्रमुख पदको उम्मेदवारका लागि नेपाली कांग्रेस चितवनले दबाब बढाउँदै लगेको छ । महानगर प्रमुखको उम्मेदवार कुन दलको हुने भनेर सत्ता गठबन्धनमा बहस चलिरहँदा चितवन कांग्रेसका नेताहरूले केन्द्रीयस्तरमा आफ्ना नेताहरूमाथि दबाब बढाउन थालेका छन् ।

    चितवन कांग्रेस सभापतिसहितका नेताहरूले बिहीबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरको प्रमुख कांग्रेसले नछाड्ने बताएका छन् । स्थानीय स्तरको आवश्यकता र औचित्यका आधारमा पनि भरतपुर कांग्रेसले पाउनुपर्ने भन्दै उनीहरूले कुनै पनि हालतमा छाड्न नसकिने बताएका छन् ।

    वरिष्ठ नेता पौडेल सत्ता गठबन्धनको स्थानीय तहको निर्वाचनका लागि तयारी तथा अनुगमन समितिको संयोजकसमेत हुन् । वरिष्ठ नेतालाई भेटेर केन्द्रीय समितिको निर्णयअनुसार नै भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने र यो नै अन्तिम बटमलाइन भएको कुरा सुनाएको चितवन कांग्रेसका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले बताए । 

    ‘उहाँले यसलाई गम्भीर रूपमा लिएको छु भन्नुभयो । चितवनको सन्दर्भमा धेरै जानकार पनि राख्छु र यसलाई अन्य दलसँग पनि परामर्श गर्छु । पार्टी सभापतिसँग पनि परामर्श गर्छु भन्नुभएको छ’, श्रेष्ठले भने । केन्द्रीय नेताहरूलाई भेट्न चितवन कांग्रेसका सभापति राजेश्वर खनाल, पूर्वसभापति टेकप्रसाद गुरुङ, नेता दिनेश कोइरालालगायतका नेता काठमाडौँ पुगेका छन् ।

    पौडेलसँगको भेटपछि चितवन कांग्रेसका नेताहरूले पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई भेट्दै छन् । देउवालाई पनि भेटेर चितवन कांग्रेसले गरेको निर्णयबारे जानकारी गराइने श्रेष्ठले बताए । 

    ‘भरतपुर महानगरमा मेयर पद कुनै पनि हालतमा छाड्न सकिँदैन । गठबन्धनको हामी विरोधी होइन’, उनले भने, ‘केन्द्रीय समितिकै निर्णय छ नि आवश्यकता र औचित्यका आधारमा निर्णय गर्ने भनेर । चितवनको आवश्यकता भनेकै भरतपुरको मेयर हो । गठबन्धन गर्दै गर्दा मेयर हामीलाई छोड्न पर्‍यो भन्ने अन्तिम बटमलाइन हो ।’

    जिल्लाका सातवटै पालिकामा सत्ता गठबन्धनका दलहरूबीच तालमेलका लागि संयन्त्र बनाएर छलफल भइरहेको छ । महानगर प्रमुख कांग्रेसले पाउनेगरी तालमेल गर्ने पक्षमा चितवन कांग्रेस छ । माओवादी केन्द्र पनि महानगर प्रमुख आफूले पाउने गरी तालमेल गर्ने बताइरहेको छ । महानगर प्रमुखको पदलाई माओवादी केन्द्र र कांग्रेसले प्रतिष्ठाको विषय बनाइरहेका छन् ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…