•  चितवन, २४ चैत

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले संसदीय व्यवस्था संकटग्रस्त भएको बताएका छन् । जनआन्दोलन दिवसको अवसरमा आज (बिहीबार) भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै विप्लवले संसदीय व्यवस्था असफल भइसकेको दाबी गरे ।

    ‘आज पनि जनताको जीवनमा खास परिवर्तन भएको छैन । जनताले अनुभूति गर्नेगरी परिवर्तन भएको छैन’, उनले भने, ‘संसदीय व्यवस्था मुठिभरका पुँजीपति वर्गको व्यवस्था हो । देशलाई टाट पल्टाउने व्यवस्था हो । जनताको पक्षमा काम गर्न नसकेकाले यो व्यवस्था असफल भएर संकटग्रस्त भएको छ ।’

    जनता जागरुक हुँदै गएपछि संसदीय व्यवस्था ढल्न फेरि पनि जरुर २४ चैत आउने उनले बताए । राजसंस्थाविरुद्ध नेपालमा २४ चैत २०६२ मा जनआन्दोलन सुरु भएको थियो । १९ दिन चलेको जनआन्दोलनले राजसंस्थाको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था ल्याएको थियो । 

    संसदीय व्यवस्था दलाल पुँजीपति वर्गको व्यवस्था भएको भन्दै उनले जनताले शासन गर्न पाउने व्यवस्था ल्याउन वैज्ञानिक समाजवादको व्यवस्था लागू गर्नुपर्ने बताए । नेकपाले कहिल्यै पनि संसदीय व्यवस्थालाई स्वीकार नगर्ने भन्दै उनले यो व्यवस्था दलाल र पुँजीपति वर्गको मात्रै व्यवस्था भएको बताए ।

    ‘यदि चुनाव नै गर्नुपर्छ भने ठिक छ । संसदीय व्यवस्थाको चुनाव होइन । संसदको चुनाव होइन । जनमत संग्रह गरौँ । व्यवस्थाको चुनाव गरौँ । नेपालमा संसदीय व्यवस्था ठिक कि वैज्ञानिक समाजवाद ठिक । हामी त्यसका लागि तयार छौँ’, उनले भने । 

    २०३६ सालमा पञ्चायत र बहुदलबीच जनमतसंग्रह गरेजस्तै अहिले संसदीय व्यवस्था र बैज्ञानिक समाजवादको बीचमा जनमतसंग्रह गर्नुपर्ने उनले बताए । ‘हामी चुनौती दिन चाहन्छौँ । व्यवस्थाको चुनाव गरेर देखाउ । हामी त्यो चुनावमा लड्न तयार छौँ । भाग लिन तयार छौँ’, उनले भने ।

    ‘संसदीय व्यवस्थाको चुनाव लुटेराको चुनाव हो । ठेकेदारको चुनाव हो’, उनले भने, ‘दलाल पुँजीपति वर्गहरु संसदीय व्यवस्थामा कालो धन थुपार्छन् र त्यही कालो धनको बलमा फेरि चुनाव जित्छन् ।’ कांग्रेस, एमाले र माओवादी केन्द्रको अक्षमताका कारण देशमा चरम महंगी बढेको र आर्थिक संकट निम्तिन लागेको उनले बताए । त्यस्तै, एमसिसी परियोजना ल्याएर दलहरुले देश नै बेच्न लागेको उनले आरोप लगाए ।

    दुई वर्षको प्रतिबन्धमा नेकपाले १२ जना नेता गुमाउनुपरेको उनले बताए । ३० वैशाखमा हुन लागेको स्थानीय तहको चुनावमा एमसीसी सम्झौता पास गर्ने, देशलाई बेचेर खाने पार्टीका उमेदवारविरुद्ध उमेदवारी दिन उनले आग्रह गरे ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…