• खोटाङ,  ०६  वैशाख 

    आसन्न स्थानीय तहको निर्वाचनमा खोटाङका सत्तारुढ चार दलले गठबन्धन गर्ने निर्णय गरेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा कांग्रेस सहितको र चार स्थानीय तहमा कांग्रेस बिनाको गठबन्धन गर्ने निर्णय भएको हो । 

    गत १६ चैत यता निरन्तर बसेको सत्तारुढ दल कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीको बैठकले आइतबार राती पालिका प्रमुख र उपप्रमुखको भागबन्डा टुंग्याएको हो । ४ स्थानीय तहमा भने कांग्रेस एकल चुनाव लड्ने सहमति भएको पूर्वसांसद एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कुलप्रसाद फुयाँलले बताए । 

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी केन्द्र, बराहपोखरी गाउँपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा नेकपा एकीकृत समाजवादी, रावाबेँसी गाउँपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवार उठाउने सहमति भएको छ । यस्तै, ऐसेलुखर्क गाउँपालिका प्रमुख माओवादी केन्द्र र उपप्रमुख कांग्रेस, खोटेहाङ गाउँपालिका प्रमुख माओवादी केन्द्र, उपप्रमुख कांग्रेस, जन्तेढुंगा गाउँपालिका प्रमुख माओवादी केन्द्र र उपप्रमुख कांग्रेसको भागमा परेको छ । 

    तर हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र साकेला गाउँपालिकामा भने कांग्रेसले एकल उम्मेदवारी दिने सहमति भएको छ । कांग्रेस सिंगल लड्ने भए पनि त्यी चार स्थानीय तहमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबीचमा चुनावी तालमेल हुने भएको छ । 

    केपीलासगढी गाउँपालिकामा प्रमुख नेकपा एकीकृत समाजवादी र उपप्रमुख जनता समाजवादीको भागमा तथा साकेला गाउँपालिकामा प्रमुख माओवादी केन्द्र र उपप्रमुख जनता समाजवादीको भागमा परेको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवार उठाउने सहमति भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश १ का खानेपानी, सिँचाई तथा ऊर्जामन्त्री रामकुमार राई पासाङले बताए । यद्यपि यस बारेमा थप छलफल भइरहेको जनाइएको छ । 

    हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले माओवादी केन्द्रलाई सहयोग गर्ने सहमति भएको छ । चार स्थानीय तहमा कांग्रेस सिंगल लड्ने भए पनि मित्रवत् र स्वस्थ प्रतिस्पर्धा हुने पूर्वसांसद एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य फुयाँलले बताए । 

    जिल्ला समन्वय समिति प्रमुख जनता समाजवादीलाई दिने सहमति भएको छ । जिल्ला समन्वय समिति उपप्रमुखको भागबन्डा छलफलकै चरणमा छ । गठबन्धन दलले पालिका प्रमुख, उपप्रमुखदेखि जिल्ला समन्वय समिति प्रमुखको भागबन्डा टुंग्याए पनि ७९ वडाको भागबन्डा टुंग्याउन बाँकी छ । 

    भागबण्डामा प्रमुख र उपप्रमुख परेका दलभित्र पुनः उम्मेदवारको छनौट सुरु भएको छ । आकांक्षी धेरै भएकाले उम्मेदवार चयन थप सकसपूर्ण देखिएको छ । जिल्लामा एमाले पनि उम्मेदवार चयनमा जुटेको छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…