• वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि इलामको चार पालिकामा नेकपा एमालेबाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका छन् । देउमाई नगरपालिका, सूर्योदय नगरपालिका, रोङ गाउँपालिका र माङसेबुङ गाउँपालिकामा पालिका प्रमुख र उपप्रमुख सर्वसम्मत सिफारिस भएका हुन् । उनीहरू जिल्लाबाट प्रदेश कमिटीमा सिफारिस भएका हुन् ।  

    जिल्लाकै सबैभन्दा ठूलो नगरपालिका सूर्योदयको प्रमुखमा हाल प्रदेशसभा सदस्य समेत रहेका काजीमान कागते र उपप्रमुखमा वर्तमान उपप्रमुख दुर्गादेवी भट्टराई सिफारिस भएका हुन् । 

    कागते अघिल्लो निर्वाचनमा समेत पालिका प्रमुखको आकाक्षी थिए । तर, त्यस बेला उनले टिकट पाएनन् । त्यसपछि उनी प्रदेशसभाको उम्मेदवार भएर निर्वाचित भएका हुन् । एमाले उम्मेदवार बनेका रणबहादुर राई नगरप्रमुखमा निर्वाचित भए । पार्टी विभाजनपछि राई नेकपा एकीकृत समाजवादीमा क्रियाशील छन् । 

    २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा राईले १२९१९ मत पाएका थिए भने कांग्रेसका प्रेमलाल राईले १०३२९ मत पाएका थिए । यस अघिको निर्वाचनमा माओवादी केन्द्रका राजेन राईले १५४१ र संघीय समाजवादी फोरमका लीला बहादुर सुनुवारले १४७७ मत ल्याएका थिए । 

    सत्तारुढ दलहरूबीच गठबन्धन गरेर चुनाव गर्ने निर्णयपछि दलहरू आन्तरिक छलफलमा छन् । त्यसैले सूर्योदयमा कांग्रेसको उम्मेदवार टुङ्गो लागेको छैन । सत्तारुढ दलहरूका बीचमा गठबन्धन गर्ने प्रयास जारी रहेपछि सूर्योदयमा कांग्रेसका १४ वटै वडाका वडा सभापतिहरूले कसैसँग गठबन्धन नगर्ने घोषणा गरेका छन् । 

    एमालेले उपप्रमुखमा हालकी उपप्रमुख दुर्गादेवी भट्टराइलाई नै सिफारिस गरेको छ । सूर्योदय नगर कमिटीकी अध्यक्ष समेत रहेकी भट्टराई २०७४ को निर्वाचनमा १२८९० मत ल्याएर उपप्रमुखमा निर्वाचित भएकी थिइन् । पहिलो स्थानीय तहको निर्वाचनमा कांग्रेसकी खगेश्वरी पौडेलले ९९२७ मत पाएकी थिइन् । त्यस्तै तत्कालीन संघीय समाजवादीबाट ख्यामकुमारी राईले १७९४ र माओवादी केन्द्रकी टिका राईले १६५० मत पाएका थिए । 

    यस्तै इलामको देउमाई नगरपालिकाको प्रमुखमा एमालेबाट सूर्य पोख्रेल सर्वसम्मत सिफारिस भएका छन् । नगरपालिकाको वर्तमान प्रमुख पोख्रेललाई एमालेले दोहोर्‍याउने भएको छ । गत स्थानीय तहको निर्वाचनमा पोख्रेलले प्रमुखमा ७३४७ मत पाएर विजयी भएका थिए भने, कांग्रेसका होम दुलालले ६३९० मत पाएका थिए । त्यस्तै नेकपा माओवादी केन्द्रका रामकुमार राईले ९७६ मत प्राप्त गरेका थिए ।  

    एमालेले देउमाई नगरपालिकाको उपप्रमुखमा पनि पविमाया राईलाई नै दोहोर्‍याउन सिफारिस गरेको छ । पविमाया राईले गत निर्वाचनमा ७३८७ मत पाएर उपप्रमुखमा निर्वाचित भएकी थिइन् । कांग्रेसकी उम्मेदवार सूर्यमाया राईले ६३९० र माओवादी केन्द्रकी शान्ता बस्नेतले ११९३ मत पाएकी थिइन् । 

    एमालेले रोङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा समेत सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । रोङको अध्यक्षमा मेहरमान तामाङ सिफारिस भएका छन् । 

    उपाध्यक्षमा विष्णुमाया खवास सिफारिस भएकी छिन् । यस अघिको निर्वाचनमा रोङको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । अध्यक्षमा समशेर राईले ३९८५ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भए भने नेकपा एमालेबाट उम्मेदवार बनेका बृहस्पति खतिवडाले ३६७२ मत पाएका थिए । खतिवडा भने अहिले नेकपा एसमा क्रियाशील छिन् । अघिल्लो चुनावमा माओवादी केन्द्रका नवराज कट्टेलले ५९१ मत प्राप्त गरेका थिए । 

    रोङ गाउँपालिकाको उपाध्यक्षमा विष्णुमाया खवास सिफारिस भएकी छिन् । उनी अघिल्लो निर्वाचनमा उपाध्यक्षमा पराजित भएकी थिइन् । खवासले ३६६७ मत ल्याउँदा चन्द्रकला राईले ४१०२ मत पाएर उपाध्यक्षमा निर्वाचित भइन् । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रकी अञ्जना लेप्चाले ६३० मत प्राप्त गरेकी थिइन् । 

    यस्तै माङसेबुङ गाउँपालिकाको अध्यक्षमा एमालेबाट हेमन्त राई सर्वसम्मत सिफारिस भएका छन् । राई अघिल्लो निर्वाचनमा काँग्रेसका डिकेन्द्र इधिङ्गोसंग पराजित भएका थिए । यस अघिको निर्वाचनमा माङसेबुङ गाउँपालिकामा काँग्रेस र तत्कालीन संघीय समाजवादी फोरमकाबीच गठबन्धन भएको थियो । काँग्रेसले प्रमुखमा र संघीय समाजवादी फोरमले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।

    एमालेबाट उम्मेदवार बनेका हेमन्त राईले ३१८१ मत ल्याउँदा काँग्रेसका डिकेन्द्र इधिङ्गोले ३७५९ मत प्राप्त गरेर अध्यक्ष निर्वाचित भएका हुन् । माओवादी केन्द्रका दीपेन्द्र बस्नेतले ३११ मत पाएका थिए । 

    एमालेले माङसेबुङको उपाध्यक्षमा सुनिता योङहाङलाई नै दोहोर्‍याउन सिफारिस गरेको छ । योङहाङले अघिल्लो निर्वाचनमा काँग्रेस–संघीय समाजवादी फोरम गठबन्धनका विनोद नेम्वाङलाई पराजित गर्दै उपाध्यक्ष निर्वाचित भएकी थिइन् । सुनिता योङहाङले ३०८९ मत ल्याउँदा गठबन्धनका विनोद नेम्वाङले २७७१ मत पाएका थिए । यस्तै माओवादी केन्द्रकी निर्मता राईले ३९० मत पाएकी थिइन् । 

    दश स्थानीय तह मध्ये अन्य ६ पालिकामा उम्मेदवार चयनको प्रक्रिया जारी छ । त्यस्तै ८१ वडा मध्ये अब १५/१६ वटा वडाको अध्यक्ष टुङ्गो लगाउन बाँकी रहेको एमाले इलामका सचिव उमेश गुरुङले जानकारी दिए ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…