• बुटवल, १४ वैशाख ।

    बुटवलमा रातिको समयमा सटर फोरेर करिब चार सय तोला सुन चोरी भएको छ । यो सोमबार रातिको घटना सुनचाँदी व्यवसायीहरूले बुधबार मात्र पत्रकार सम्मेलन गरेर जानकारी गराएपछि  बाहिर आएको हो ।

    बुटवलको बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट ३६० तोला बराबरको सुनका गरहगना तथा २३ तोला काँचो सुन चोरी भएको हो । सुनसँगै नगद पाँच लाख रुपैयाँसमेत चोरी भएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

    सुनचाँदी पसल भएको घर भाडामा लिएर केही व्यक्तिहरूले पसल राख्नको लागि भन्दै डेकोरेसनको काम थालेका थिए । प्रहरीले घटनामा उनीहरूको संलग्नता भएको आशंकामा अनुसन्धान सुरु गरेको छ । उक्त घर योगेन्द्र अग्रहरीको हो । भारतीय नागरिकहरूले पसल राख्नका लागि भन्दै घर भाडामा लिएर डेकोरेसनलगायतको काम सुरु गरेका बेला सुन पसल चोरी भएको हो ।

    रुपन्देहीमा विगतमा पनि सुनचाँदी पसल फोरेर चोरी हुने गरेको भए पनि यो घटना अहिलेसम्मकै ठूलो भएको सुनचाँदी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामकृष्ण विश्वकर्माले बताए । उनका अनुसार रुपन्देहीको रानीबगियामा पनि केही समयअघि सुन पसल लुटपाटको प्रयास भएको थियो । त्यसक्रममा सुन लुट्न आएकाहरूले व्यवसायीलाई आक्रमण गरी घाइते बनाएको विश्वकर्माले बताए । रुपन्देहीकै बुद्धनगरमा पनि केही दिनअघि एक महिलाको सुन लुटिएको थियो ।

    सुनचाँदी व्यवसायी संघ बुटवलका अध्यक्ष गोकुल विश्वकर्माले पटकपटक सुनचाँदी व्यवसायी लुटिने क्रम बढेको र कुनै पनि घटनामा पीडितले न्याय नपाएको बताए । 'अभियुक्तहरूलाई पक्राउ गरेर कारबाही नगर्दासम्म व्यवसायीले न्याय पाउँदैनन्,' उनले भने ।

    व्यवसायीहरूले पटकपटक सुनपसलमा चोरी हुँदा पनि प्रहरी प्रशासन मुकदर्शक बनेको र सुरक्षा दिन नसकेको गुनासो गरेका छन् । प्रहरीले भने सुन पसलमा चोरी गर्नेहरूको खोजिभइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले घटनामा संलग्नहरुको खोजी भइरहेको जानकारी दिए ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…